नगरपालिकाद्वारा २० शैयाको कोभिड विशेष अस्पताल सञ्चालनमा
धनुषा । गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो।
वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिए। उनले आवश्यक परे जनशक्ति थप गर्ने बताए।
नगरप्रमुख यादवले भने, “अघिल्लो वर्ष छ वटा क्वारेन्टिन सञ्चालन गरेर कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेका थियौँ, यस पटक अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन्, बिरामीलाई निःशुल्क औषधि र खानपिनको समेत व्यवस्था गरेका छौँ।”
कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेकाले थप आइसोलेशन र क्वारेन्टिनको व्यवस्थासमेत गर्न लागिएको उनले बताए। नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ। दुई दिनमा ७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको स्वास्थ्य इन्चार्ज श्याम रायले जानकारी दिए।
नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा हाल एकजना सङ्क्रमित छन् । पाँचजना सङ्क्रमित होम आइसोलेशनमा रहेको इन्चार्ज रायले बताए। रायले होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई औषधोपचारका लागि दिनहुँ चिकित्सक पठाउने गरिएको जानकारी दिए। त्यसैगरी सङ्क्रमितलाई ओसारपसारका लागि एउटा एम्बुलेन्स तयारी अवस्था राखिएको र थप चार एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको रायले बताए।रासस
Facebook Comment