जेठ १ गते : विद्यार्थीहरुले आगो ओकलेको दिन

डिसी नेपाल
१ जेठ २०७८ १६:०८

जेठ १ गते अर्थात विद्यार्थी दिबस । विद्यार्थीहरुले आफ्नो अधिकारका लागि आगो ओकलेको दिन । पञ्च्याती सुन्ड मुसुन्डहरु झस्किने र तर्सिने गरी विद्यार्थी आन्दोलनको श्रीगणेश भएको दिन । शासकहरुलाई लगलग कपाउने गरी विद्यार्थीहरुले आफ्नो ताकत प्रदर्शनको घोषण गरेको दिन।

महेन्द्रको फौजी शासनको सुर्केनी फुस्काउने उद्घोष गरेको दिन । समग्रमा भन्नुपर्दा जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले पञ्च्याती शासन ब्यबस्थाको छातीमा बिजयको झन्डा गाड्न जग हालेको दिन हो । शासकहरुलाई घुँडा टेकाएर आफ्नो अधिकारलाई स्थापित गराउन सफल भएको यस्तो ऎतिहासिक, गौरवशाली र अबिस्मरणीय क्षण भएकोले यस दिनलाई नेपाली विद्यार्थी आन्दोलनले अग्रजहरुको त्याग, समर्पण र संघर्षको स्मरण तथा सम्मानमा विद्यार्थी दिवसका रूपमा मनाउदै आइरहेको छ ।

मुलुकमा २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रद्वारा शाही कु मार्फत जननिर्वाचित सरकारलाई अपदस्त गरी निरंकुश पञ्च्याती ब्यबस्था थोपारिएको थियो। दलहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । जनता का प्रजातान्त्रिक हक अधिकारहरुमाथि निर्मम बन्देज थियो । तत्कालीन राजा महेन्द्रको फौजी शाही कु को विरुद्ध उभिएका कम्युनिस्ट र काङ्ग्रेसका कयौं नेताहरूलाई खोजीखोजी यातनापूर्ण जेल सजाय दिइरहेको थियो । नागरिक अधिकारको पक्षमा कानेखुसी गर्नेहरु समेत पञ्च्याती शासकहरुको व्यापक निगरानी ,नियन्त्रण र कठोर दमनको सिकार भैरहेका थिए ।

पञ्च्याती सरकारले बि स २०१८ मा राष्ट्रिय निर्देशन ऎन जारी गरी युवा ,विद्यार्थी ,बाल, किसान, महिला र मजदुर संघसंगठन बाहेक अन्य सम्पूर्ण संघसंगठनहरुमाथि प्रतिबन्ध लगाइएको थियो । मुलुकको राजनीतिक तथा अन्य परिस्थिति अत्यन्तै जटिल र भयावह थियो । यस्तो उकुसमुकुस र कहालीलाग्दो परिस्थितिमा ज्ञान, चेतना, आट, साहस , बिद्रोह र सिर्जनाको पर्याय विद्यार्थीहरुका सामु दुईवटा विकल्प थियो । या त निरंकुशता वा दासताको जुवा मुनि जबर्जस्त नारिन तयार हुने या त निरंकुशताको जुवा भाचेर राष्ट्रलाई पिंजडा मुक्त पार्ने । प्रजातन्त्र र नागरिक अधिकारप्रति प्रतिबद्ध नेपाली विद्यार्थीहरु बरु हजार पीडा ,यातना र दुःख सहन तयार हुने , आवश्यक पर्दा बरु मृत्युलाई नै स्वीकार गर्न खुसी हुने तर निरंकुश शासन ब्यवस्थाको हलि हुन कुनै हालतमा पनि तयार नहुने र यस्तो तानाशाही ब्यबस्थालाई कसैगरी पनि चकनाचुर पारी छाड्ने सङ्कल्प बोके ।

यही सिलसिलामा ढिलो नगरी विद्यार्थीहरुले आफ्ना शैक्षिक तथा सामूदायिक विषयहरुलाई आन्दोलनको मुद्दाका रूपमा अगाडि बढाए । रुप पक्षमा विद्यार्थी आन्दोलनको उद्देश्य शैक्षिक र सामूदायिक जस्तो देखिए पनि सारमा पञ्च्याती निरंकुश शासन सत्ताको महललाई गर्ल्यामगुर्लुम ढाल्नु नै थियो। यही गतिमा अगाडि बढिरहेको विद्यार्थी आन्दोलनले विद्यार्थीहरुलाई क्रमशः जागरुक र संगठित गर्दै जनस्तरमा समेत सकारात्मक सन्देश प्रबाह गर्न सफल भैरहेको थियो। आन्दोलनलाई अगाडि बढाउने क्रममा बि स २०२० साल बैशाख २३ गतेदेखि सम्पूर्ण कलेज तथा हाइस्कुलहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत माग राख्दै शैक्षिक संस्था हडताल शुरु गरे । आन्दोलन चलिरहेकै अबस्थामा बि स २०२० साल भदौ २० गते त्रिभुवन विश्वविद्यालयमा स्वबियुको निर्वाचन सम्पन्न भयो। यो नै स्वतन्त्र विद्यार्थी युनियनको इतिहासमा पहिलो निर्वाचन थियो ।

निर्वाचनमा जनार्दन प्रसाद आचार्यको नेतृत्वमा प्रगतिशील प्यानलले बिजय हासिल गर्‍यो । उक्त स्वबियुको आयोजनामा २०२० साल चैत ४ गते उपत्यकाका विभिन्न कलेजका १८ जना प्रतिनिधि सम्मिलित उपत्यका स्तरीय अन्तर कलेज सम्मेलन आयोजक समिति निर्माण गरियो । त्यसै आयोजक समितिको आयोजनामा बि स २०२१ बैशाख २५ देखि २९ गते सम्म उपत्यका स्तरीय अन्तर कलेज सम्मेलनको आयोजना भयो । सम्मेलनमा उपत्यकाका कलेजहरुबाट प्रतिनिधि र पर्यवेक्षक तथा उपत्यका बाहिरका कलेज र हाइस्कुलहरुबाट चाहिँ केहि पर्यवेक्षकहरुको ब्यबस्था गरिएको थियो ।पाँच दिनसम्म चलेको सम्मेलन सम्पूर्ण कलेजहरुको अलावा हाइस्कुलहरुमा पनि स्वबियुको स्थापना हुनपर्ने, गोरखा भर्ती केन्द्र तत्काल बन्द हुनुपर्ने, यातायात र अस्पतालहरुमा विद्यार्थीहरुलाइ छुट सुबिधा हुनुपर्ने, गाउँ बिकासमा सहयोग पुर्याउन विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरिसकेपछि गाउँ सेवा गर्न ‘गाउँ जाउँ’ अभियान संचालन गर्ने जस्ता महत्त्वपूर्ण समसामयिक प्रस्तावहरु पारित गर्दै सम्पन्न भयो।

सम्मेलन सकिए लगत्तै साँझदेखि नै छापामार शैलीमा प्रहरीहरुले सम्मेलनमा सहभागी भएका प्रतिनिधि ,पर्यवेक्षक तथा सहभागीहरुलाई घर कोठा कोठामा छापा मारी व्यापक धरपकड र गिरफ्तार गर्न शुरु गर्‍यो । सम्मेलनका दस्तावेज लगायत सामाग्रीहरु समेत जफत गर्‍यो । विद्यार्थीहरुमाथि निकै ठूलो भय ,त्रास र आतंकको अबस्था सिर्जना गरियो । विद्यार्थीहरुमाथि पञ्च्याती शासकहरुले अत्यन्तै अमानवीय ब्यवहारसहित निर्मम दमन गर्‍यो । यसप्रकारको बर्बर दमन र अत्याचारका विरुद्ध आगोको फिलिङ्गो झै आक्रोशित भएका विद्यार्थीहरुले बि स २०२१ जेठ १ गरे त्रिचन्द्र क्याम्पसमा उपलब्ध अगुवाहरुको आपतकालीन बैठक बसी सोही दिनदेखि नै गिरफ्तार विद्यार्थीहरुलाई बिनासर्त रिहाई गर्नुपर्ने ,सम्पूर्ण शैक्षिक संस्थाहरुमा स्वबियुको स्थापना गरिनुपर्ने लगाएत मागहरु राखी सडक आन्दोलनको घोषण गरियो । जेठ १ गते पहिलो दिन काठमाडौमा १२०० भन्दा बढी विद्यार्थीहरु सरकार विरुद्धको हातमा मैनबत्ती बोकेर प्रदर्शनमा उपस्थित भएका थिए । आन्दोलन व्यापक सहभागितामा ८ दिन सम्म चल्यो।

जनस्तरबाट समेत आन्दोलनप्रति समर्थन जुट्दै जान थालेपछि विद्यार्थी आन्दोलनबाट तर्सिएका पञ्च्याती शासकहरु विद्यार्थी आन्दोलनका सामु घुँडा टेकेर लम्पसार पर्न बाध्य भए। माग पूरा गराउन सहमत भए । गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीहरु ससम्मान रिहाइ भए । त्यति मात्रै होइन कलेज र हाइस्कुलहरुमा समेत स्वबियु खोल्न पाउने अधिकार प्राप्त भयो। सोही उपलब्धि पश्चात् कलेजहरुको अलावा बिद्यालयहरुमा पनि स्वबियुको निर्वाचन हुने प्रक्रिया अगाडि बढ्यो जुन २०४२ सालसम्म कायम रह्यो । त्यसपछि भने स्वबियुको निर्वाचन कलेजहरुमा मात्रै हुने परम्पराको थालनी भयो । यसरी जेठ १ मा विद्यार्थी आन्दोलनको घोषण भएको र उक्त आन्दोलनले विद्यार्थीहरु सामु पञ्च्याती सरकारलाई आत्मसमर्पण गर्न बाध्य तुल्याइ अभुतपूर्व उपलब्धि समेत हासिल गरेको हुनाले अनेरास्ववियु लगायत बिशेश गरी वामपंथी विद्यार्थी संगठनहरुले यस दिन (जेठ १)लाई विद्यार्थी दिवसको रुपमा विविध कार्यक्रमहरुका साथमा विशेष पर्वकै रूपमा मनाउदै आइरहेका छन् ।जुन आज पर्यन्त जारी छ र भोलि पनि रहिरहने छ।

विद्यार्थी दिवसकै अबसर पारेर २०२२ साल जेठ १ गते सुजन खरेलको नेतृत्वमा अनेरास्ववियु को स्थापना भयो । यद्यपि केहि लेखकले भने अनेरास्ववियुको स्थापनाको मितिका बारेमा केहि फरक धारणा अर्थात २०२२ साल बैशाख ५ गते रहेको भनी उल्लेख गरेको देखिन्छ । तर अनेरास्ववियुसँग सम्बन्धित सम्पुर्ण दस्तावेज तथा लिखतहरुमा भने २०२२ साल जेठ १ नै अनेरास्ववियुको बास्तबिक स्थापना मिति भएको उल्लेख छ ।

पछिला वर्षहरुमा नियमित प्रशिक्षणको कमी, संगठनका पुस्तकहरुको स्वअध्ययनको अभाव र विद्यार्थी दिवसको सन्दर्भमा सस्थागत ढङ्गले देशब्यापी कार्यक्रम हुन नसकिरहेको कारण आन्दोलनमा नवसंगठित विद्यार्थीहरुको निकै ठूलो पङ्क्ती विद्यार्थी दिवस र यसको महत्त्वका बारेमा करिब करिब बेखबर नै रहेको देखिन्छ । यसैको कारण पञ्च्याती शासकहरुलाइ विद्यार्थी आन्दोलन सामु झुकाउन सफल भई र उपलब्धिहरु समेत हासिल गर्न सफल रहेको २०२१ साल जेठ १ गते को दिनलाई विद्यार्थी दिवसको रूपमा भन्दा पनि २०२२ साल जेठ १ गते अनेरास्ववियु स्थापना भएको दिनको रूपमा बुझिरहेको देखिन्छ ।सामाजिक संजालहरुमा समेत अनेरास्ववियुको यतिऔं स्थापना दिवस भनेर शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ ।

हुनत अनेरास्ववियुको स्थापना जेठ १ गते नै भएको भएता पनि अनेरास्ववियुको इतिहासमा जेठ १ गते लाई २०२१ जेठ १ को आन्दोलनको सफलताको सम्झना स्वरुप ‘विद्यार्थी दिवस’को रुपमा मनाउँदै आइरहेको इतिहास छ । यहि विद्यार्थी दिवसकै अवसरमा नै २०२२ साल जेठ १ गते अनेरास्ववियुको स्थापना भएको थियो । त्यसैले विद्यार्थी दिवस को रूपमा जेठ १ गतेलाइ सम्झिरहँदा अनेरास्ववियुको स्थापना दिन को सम्झना समेत स्वभाबिक रुपमै भैरहेको हुन्छ । विद्यार्थी आन्दोलनको यस महत्त्वपूर्ण र गौरवशाली अबसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लेखक बर्तौला अनेरास्ववियुका उपाध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *