जसपाको विवाद उत्कर्षमाः उपेन्द्र समूहले भन्यो, अब यसरी पार्टी चल्दैन

डिसी नेपाल
१ जेठ २०७८ १८:०१

काठमाडौं। एक वर्षअघि तत्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच भएको एकीकरणबाट जन्मिएको जनता समाजवादी पार्टी (जसपा) विभाजनतर्फ उन्मुख भएको छ। पार्टीको आन्तरिक विवाद चर्केपछि पार्टी विभाजनतर्फ धकेलिएको हो।

जसपाको पूर्व राजपा घटक र पूर्व संघीय समाजवादी घटकले छुट्टाछुटै बैठक बस्ने र छुट्टाछुट्टै निर्णय गर्न थालेपछि जसपा विभाजनको डिलमा पुगेको जसपाकै नेताहरुले बताउन थालेका छन्। शुक्रबार अध्यक्ष महन्थ ठाकुर समूहले वरिष्ठ नेता राजेन्द्र महतोलाई एकलौटी निर्णय गर्दै संसदीय दलको नेता घोषणा गरेको छ भने शनिबार उपेन्द्र यादव समूहले पार्टीको कार्यकारिणी समितिको बैठक गरेर महतो संसदीय दलको नेता नभएको निर्णय गरेको छ।

शनिबारको बैठकमा यादव सहूमले गत विहीबार पार्टीका सांसदहरुलाई ठाकुर समूहले भक्तपुरस्थित एक रिजर्टमा राखेको विषयमासमेत आपत्ति प्रकट गरेको छ। कार्यकारिणी समिति सदस्य मो. इस्तियाक राइले डिसी नेपालसँग भने, ‘आज कार्यकारिणी समितिको बहुमत सदस्यको बैठक बस्यो। बैठकमा ओली सरकारबारे गरिएको व्यवहार, सांसदहरुलाई रिजर्टमा राखेकामा आपत्ति जनाइएको छ।’

उनले पार्टीको संसदीय दलको विधान नै नबनेको भन्दै जथाभावी महतोलाई संसदीय दलको नेता घोषणा गरेर नहुने बताए। उनले भने, ‘पार्टीको अन्तरिक विधानअनुसार पहिला संसदीय दलको विधान बन्नु पर्यो। त्यसपछि संसदीय दलको नेता चयन हुनेकुरा होला।’

उनले अब शीर्ष नेताहरुबीच पार्टीको विवादका विषयमा छलफल गरेर कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने शनिबारको बैठकको निष्कर्ष रहेको बताए। उनले अब एक पार्टीमा दुई नीति नहुनेसमेत बताए। उनले भने, ‘कार्यकारिणी समितिको बैठकले जुन विचारलाई पारित गर्छ त्यो कार्यान्वयन गर्नुपर्छ, अल्मतमा रहेको विचारलाई पनि सम्मान गर्नुपर्छ।’ बैठकले अब अहिले जस्तो दुई नीति लिएर पार्टी नचल्ने निष्कर्षसमेत निकालेको छ।

ठाकुर समूहले ३२ जना सांसद मध्ये आफूहरुसँग बहुमत रहेको दावी गरे पनि यादव समूहले भने आफूसँग बहुमत रहेको दावी गरेको छ। यादव समूहले ५१ सदस्यीय कार्यकारिणी समितिमा पनि आफूहरुको बहुमत रहेको दावी गरेको छ। शनिबारको बैठकमा २८ जना उपस्थित रहेको सो समूहको दावी छ।

शनिबार कार्यकारिणी समितिको बैठक जारी रहेका बेला अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक नबोलाइएको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *