जेठ २ मा अध्यक्ष ओली सहमत हुनुहुन्छ, तर मनमा शंका भने छः पाण्डे (अन्तर्वार्ता)

डिसी नेपाल
१ जेठ २०७८ २०:५०

काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ गतेमा फर्किन सहमत भएको बताएका छन्। उनले अध्यक्ष ओली सहमत भएको विषय कार्यान्वयन हुनेसमेत विश्वास व्यक्त गरेका छन्।

डिसी नेपालको ब्रिज टकमा अर्जुन दाहालसँग कुरा गर्दै नेता पाण्डेले अहिले अविश्वास गरेर अगाडि बढ्ने अवस्था नभएको बताएका छन्। उनले भनेका छन्, ‘विभाजन होइन, एकता नै गर्छौ भन्नु भएको छ। जेठ २ मै जान्छौं भन्नु भएको छ। अब विश्वासका साथ नयाँ गनतव्यतर्फ जान्छौं। स्पीड कम गर्दै जानुपर्छ। एकैपटक ब्रेक लगाउँदा एक्सिडेन्टमा पर्न सक्छ। विश्वासको बाटोबाट अगाडि बढ्ने पक्षमा छौं।तर अलि शंका पनि मनमा राख्छौं।’

उनले शुक्रबार भएको वार्तामा भएको कुरा आधिकारिक भएको बताए। उनले त्यहाँभन्दा बाहिर बोलेको कुरा आधिकारिक नहुने भन्दै ब अध्यक्षले बोलेकै कुरा आधिकारिक भएको बताए।

अर्को प्रसंगमा उनले एमालेको एकताले प्रचण्ड चिन्तित रहेको आफूलाई नलागेको बताए। उनले भने, ‘फेरि पनि सबै कम्युनिष्ट एकता हुनुपर्छ। यसमा निरन्तर प्रयासमा गर्छौं। हाम्रो कारणले खुशी वा बेखुशी हुने कुरा छैन। सबैले आ आफ्नो घर मिलाउनु पर्छ।’

एमालेमा रहेको विवादमा नेताहरुले एकअर्काप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएको विषयमा उनले विवाद व्यक्तिगत टकरावमा पनि पुगेको बताए। उनले भने, ‘तर पनि संस्थागत कुरा मुख्य हो। विधि पद्धतिको कुरा मुल कुरा हो। पार्टीलाई विधिबाट अगाडि बढाएपछि विवाद कम हुँदै जान्छ। समयमै महाधिवेशन, अधिवशेन गरेको भए यस्तो विवाद हुँदैनथ्यो। यसलेृ गर्दा पनि समस्या भएको हो। नियमितरुपमा पाँच वर्षमा अधिवेशन गर्ने पद्धति भयो भने समस्या हुँदैन। सबै पार्टीमा पद्धतिको लडाइँ हुन्छ। विधि पद्धति मुख्यकुरा हो।’

कोरोना महामारीबारे प्रश्नको उत्तर दिँदै उनले भ्याक्सिनेशन नै मुख्य कुरा भएको बताए। उनले सरकारले केही गरेन भन्ने नभएको भन्दै लापरबाही भएको बताए। उनले अन्य देशमा पनि लापरबाही भएको उल्लेख गर्दै सरकारले केही गरेन भन्ने त आफूलाई नलागेको बताए। तर अहिलेको प्रयास पर्याप्त नभएको उनले बताए।

उनले बजेट कोरोना केन्द्रित हुनुपर्ने बताए। उनले भने, ‘८० प्रतिशत बजेट स्थिर हुन्छ। त्यहाँ अर्थमन्त्रीले केही गर्न सक्दैन। चालु योजनामा पैसा छुटाउनै पर्छ। २० प्रतिशतमा मात्र अर्थमन्त्रीले खेल्न पाउँछ। त्यसैले यसलाई स्वास्थयमा केन्द्रित भएर बजेट बनाऔं। पपुलर कुरामा नलागौं। जनताको ज्यान बचाऔं। चालु योजना सम्पन्न हुनेगरी पैसा विनियोजन गरौं। त्यसबाट बच्यो भनेमात्र पपुलर कार्यक्रम ल्याऔं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *