अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकार सक्रिय, विदेशस्थित १३ राजदूतसँग परराष्ट्रमन्त्रीको छलफल

डिसी नेपाल
१ जेठ २०७८ २२:०४

काठमाडौं। कोरोना महामारीको भूमरिमा फसेको नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल थालेको छ। सोही सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार विदेशस्थित नेपाली राजदूतहरुसँग छलफल गरेका छन्।

परराष्ट्रमन्त्रालयका अनुसार विभिन्न १३ देशस्थित नेपालका राजदूतहरुसँग मन्त्रीले भर्चुअल छलफल गरेका हुन्। सो अवसरमा मन्त्री ज्ञवालील्े राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका छन्।

महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ। उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश दिए। त्यसअघि मन्त्री ज्ञवालीले महामारीसँग जुध्न सरकारले गरेका प्रयासबारे जानकारी गराउनुभएको तथा राजदूतले सहयोग परिचालनमा भएका प्रयास र उपलब्धिबारे उहाँलाई अवगत गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *