प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल जारी

डिसी नेपाल
२ जेठ २०७८ १४:३६

काठमाडौं। पार्टीभित्रको विवाद समाधान गर्न सहमत भएका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच एक्लाएक्लै छलफल भइरहेको छ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छलफलमा पार्टीभित्रको विवाद समाधानमा केन्द्रित रहेको बताइएको छ।

दुई नेताबीच ०७५ जेठ २ गते अवस्थामा पार्टीलाई फर्काएर विवाद समाधान गर्ने सहमति भइसकेको छ। दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्ने सहमति बमोजिम आज कार्यदल गठन हुने सम्भावना छ।

के हो ०७५ जेठ २ को अवस्था

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन नभएको थियो। नेकपा बनेसँगै दुवै दलका संरचना भंग भएर नयाँ संरचनामा नेकपा गठन भएको थियो। तर त्यसको झण्डै तीन वर्षपछि सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि एमालेभित्र विवाद बढेर गयो।

एमाले पूर्ववत अवस्थामा फर्काएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीलाई भंग गरी महाधिवेशन आयोजक कमिटी बनाए। फागुन २८ विषेश केन्द्रीय कमिटीको बैठक बोलाएर केन्द्रीय कमिटीलाई भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गर्दै नवौं महाविधेशनबाट निर्वाचित पदाधिकारीमध्ये अध्यक्ष र महासचिव मात्रै कायम हुने गरी अरु सबै पद खारेज गरियो।

फागुन २८ मा ओली समूहले केन्द्रदेखि जिल्लासम्म माधव नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाएर आफू निकट नेताहरुलाई जिम्मेवारी दिएको छ। ०७५ जेठ २ को पूर्वको एमाले भित्र पदाधिकारी र स्थायी कमिटीमा माधव नेपाल समूह बहुमतमा थियो।

पाँच जना उपाध्यक्षमध्ये तीन जना माधव नेपाल पक्षका थिए। त्यस्तै सचिवमा पनि माधव नेपाल पक्षधर धेरै थिए। अहिले ०७५ जेठ २ को अवस्थामा पार्टी फर्किँदा पार्टीका कमिटीमा माधव नेपाल समूह बहुमतमा पुग्छ। त्यही भएर माधव नेपाल समूहले ०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने पर्ने विषयलाई एजेण्डा बनाएको छ।

उक्त विषयमा अध्यक्ष ओली सकारात्मक रहेको र यो विषयमा थप छलफल गर्न कार्यदल बनाउन दुवै समूह सहमत भएको छ। माधव नेपाल समूहले यो विषय चाँडै टुंग्याउनुपर्ने बताएको छ। यही जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ।

उक्त निर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री राबहादुर थापा बादल उम्मेद्वार छन्। उनले जित्नका लागि माधव नेपाल समूहको सहयोग आवश्यक पर्छ। त्यसैले नेपाल समूहले त्यो भन्दा अगाडि नै विवाद समाधानका लागि निष्कर्षमा पुग्न चाहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *