प्रधानमन्त्रीको स्पस्टोक्ति ‘संसद् जिउँदै भएकाले प्रक्रियाअनुसार नै बजेट आउँछ’

डिसी नेपाल
२ जेठ २०७८ १६:२२

काठमाडौं। देशमा राजनीति प्रतिकुल अवस्थाबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद् जिउँदै रहेकोले संसदीय प्रक्रियाबाटै बजेट ल्याइने बताएका हुन्।

सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले भने संसदीय प्रक्रियाबाट नै बजेट आउने स्पस्ट पारेका हुन्।

हरेक वर्षको १५ जेठमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक दायित्व छ। त्यसभन्दा अगाडि नै सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेटको सिद्धान्त र प्राथमिकता तथा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुपर्ने हुन्छ। र त्यो संसद्बाट बहुमतले पारित भएपछि बजेटको प्रक्रिया थालिन्छ।

तर, अहिलेसम्म संसद्को बजेट अधिवेशन भनेर चिनिने वर्षे अधिवेशन कहिले डाकिने हो भन्ने निश्चित छैन। कानुन अनुसार, संसद्मा बजेट प्रस्तुतिको १५ दिनअगाडि नै पूर्व बजेट छलफल शुरू हुनुपर्छ।

गत वर्ष २६ वैशाखदेखि शुरू भएको संसद्को बजेट अधिवेशनमा २८ वैशाखमा चालू आर्थिक वर्ष २०७७÷७८ का लागि बजेटको सिद्धान्त र प्राथमिकता तथा २ जेठमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए।

तर, यो वर्ष २७ वैशाखमा प्रधानमन्त्री को हुने भन्ने खिचातानी चल्यो। वैशाख २७ गते विश्वासको मत लिन विशेष अधिवेशन आह्वान हुँदा ओलीले विश्वासको मत पाउन सकेनन्। त्यसपछि उनी वैशाख ३० गते ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर, उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *