प्रहरीले तालिममा डमी हतियारको प्रयोग गर्ने

डिसी नेपाल
२ जेठ २०७८ १९:३४

काठमाडौं। प्रहरीले तालिममको क्रममा काठको डमी हतियार प्रयोग गर्ने भएको छ। बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको हो। प्रहरीको प्रशिक्षण गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरजिनल हतियार प्रयोग गर्दै आइरहेकोमा अहिले काठको डमी हतियार प्रयोग गर्दा हतियार टुटफूट कम हुने भएकाले सक्कली हतियार प्रयोग नगर्ने भएको हो। प्रशिक्षणको क्रममा प्रयोग गर्दा सक्कली हतियार बिग्रने, फुटेर काम नलाग्ने भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयले डमी हतियार तयार गरी तालिम केन्द्रलाई पठाएको हो।

प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार पाँचसय थान काठको डमी हतियार तयार पारिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मीरा चौधरीले जानकारी दिइन्। काठको डमी हतियार निर्माण गरी बागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक ईकाईमा वितरण गरी प्रयोग गर्ने उनको दावी छ।

कार्यालयको आन्तरिक स्रोत साधन तथा कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण सम्पन्न गरिएको छ। सक्कली हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने ईकाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदान गरिएको छ।

सो हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले हस्तान्तरण गरेका हुन्। फायरीङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने एसएसपी चौधरीले बताइन्। डमी हतियार बनाउने पाइलट प्रोजेक्ट नै रहेको पनि उनको दावी छ। भारत लगायतका मुलुकमा पनि तालिमको क्रममा डमी हतियारको प्रयोग गर्ने गरेका छन्। तर नेपालमा भने निकै कम परिणाममा डमी हतियार प्रयोग गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *