बादललाई भोट दिन माधव नेपालद्वारा अस्विकार

डिसी नेपाल
४ जेठ २०७८ २०:०२

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई भोट दिन अस्विकार गरेका छन् ।

माधव नेपालको सचिवालयले मंगलबार साँझ वक्तव्य जारी गर्दै बादललाई सघाउने वचन नदिएको प्रष्ट पारेको छ । नेपाललाई भेट्न मंगलबार बिहान कोटेश्वरस्थित उनकै निवास पुगेका गृहमन्त्री थापाले उपनिर्वाचनमा नेपालले पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको बताएका थिए । भेटका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

तर नेता नेपालले भने मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् । उनले अन्य दल समेतलाई सहमत गराएर आफूले डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन(वाग्मती प्रदेश) हुँदै छ । गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार हुन्। गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनी पदमुक्त भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *