अस्पतालहरुमा अक्सिजनको समस्या उस्तै, समाधान सिलिण्डर कि उत्पादन क्षमता ?

उपेन्द्र शाही
५ जेठ २०७८ ७:४२

काठमाडौं। कोरोना संक्रमण नियन्त्रण गर्न पूर्व तयारीमा चुकेको सरकार अक्सिजन संकटको समाधान गर्न संघर्षरत छ।  स्वास्थ्य सामग्री भनेजति नभएको भन्दै सरकारले हाल अनुदान प्रक्रिया र खरिद प्रक्रियाबाट विभिन्न निकायहरुबाट आवश्यक सामग्रीहरु आयात गरी रहेको छ। त्यस्तै देशमै पनि अन्य क्षेत्रमा रहेका सामग्रीलाई कोरोना नियन्त्रणमा प्रयोग गरिँदै छ।

सरकारले पछिल्ला दिनहरुमा खालि सिलिण्डर तथा लिक्वीड अक्सिजनको व्यवस्थापनमा जोड दिएको देखिन्छ। अक्सिजनको चरम अभाव देखिएपछि समस्या समाधान गर्न सरकार र निजी क्षेत्र लागिपरेका छन्। यसरी सरकार र निजी क्षेत्र समस्या समाधान गर्न लागि रहँदा समस्या समाधान्मोख हुनु पर्ने हो। तर, त्यस्तो भएको छैन।

काठमाडौं उपत्यकाका विभिन्न अस्पताल सम्बद्ध चिकित्सक व्यवस्थापकहरूले अक्सिजन समस्या पहिलेकै जस्तो रहेको बताएका छन्। उनीहरुले समस्याको एकीन पहिचान नगरी व्यवस्थापन गर्न खोजिँदा समस्या ज्यूँको त्यूँ रहेको बताएका छन्। सरकारले उत्पादनमा ध्यान नदिएको बताउँदै उनीहरुले व्यवस्थापन गर्न नसक्दा समस्या झन बढेको बताएका छन्।

सरकार ग्यासका सिलिण्डर थुपार्न तिर लागेको भए पनि समस्या त्यो नभएको बताउँछन्, ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेल। उनले अक्सिजन ग्यासका सिलिण्डरको समस्या नभइ अक्सिजन उत्पादन समस्याको रुपमा रहेको बताए।

नेपालमा उत्पादन हुने सबै प्लाण्टहरुले आफ्नो क्षमताको सत प्रतिशत नै उत्पादन गरीरहेका भए पनि त्यो उत्पादनले नपुग्ने उनले बताए। अहिले अक्सिजनका सिलिण्डर भन्दा पनि अक्सिजन उत्पादन कम हुनु प्रमुख समस्या रहेको उनको भनाइ छ।

‘उत्पादन छैन, कँहीबाट आउँदैन। त्यो खाली भाँडोले के गर्ने? कसरी आपूर्ति सहज हुन्छ? आपूर्ति सहज बनाउनलाई उत्पादनमा ध्यान दिनु पर्यो। जब उत्पादन नै छैन भने अक्सिजन ग्याँस कसरी पुग्छ,’ उनले भने।

सरकारले लिक्वीड अक्सिजन ल्याएको कुरा समाचारमा सुनेको बताउँदै उनले अस्पतालले नपाएको बताए। उनले उत्पादन र वितरण गरीरहेका ठाउँमा गएर सरकारलाई अनुगमन र फिल्ड भिजिट गर्न समेत आग्रह गरे।

‘सरकारी निकायले उत्पादन कम्पनीमा गएर फिल्ड भिजिट गर्दा थाहा हुन्छ के समस्या छ भनेर। कति मात्रामा पाइरहेका छन र कसरी पाइरहेका छन् भनेर। निर्णय गरेर मात्रै केही हुँदैन लागू हुनु ठूलो कुरो हो’, उनले भने।

काठमाडौंको नर्भिक अस्पतालमा पनि अक्सिजनको समस्या उस्तै छ। अक्सिजन उत्पादन गर्ने २ वटा प्लाण्ट भएको नर्भिकमा प्रत्येक दिन ४२ वटा सिलिण्डर अक्सिजन उत्पादन हुन्छ। स्वास्थ्य मन्त्रालयले नर्भिकलाई २ सय वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि मुस्किलले ५० वटा सिलिण्डर मात्र उपलब्ध भइरहेको अस्पतालका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले बताए।

‘हामीलाई एकदमै अफ्ठेरो भइरहेको छ’, उनले भने,  ‘फिल्डमा गएर माग र आपूर्तिको व्यवस्थापन कसरी गर्ने त्यसको वस्तुपरक जानकारी सरकारले लिनुपर्छ। यदि सहजता भएको भए त हामीलाई थाहा हुनु पर्ने हो। खोइ सरकारले काम गरेको भनेको छ। विभिन्न जहाज मार्फत अक्सिजन सिलिण्डर आएको कुरा समाचारमा सुनिन्छ। तर, खोइ हामीलाई प्राप्त भएको छैन।’

सरकारले गरेको प्रगति र प्रयासको प्रभाव वीर अस्पतालमा पनि छैन। वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाका अनुसार सरकारले दिएको अक्सिजनमा पहिलेकै कोटा प्रणली पनि पूरा हुन सकेको छैन।

उनले भनिन्,  ‘हामीले अस्पताललाई ३ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउन अनुरोध गरेका छौँ। तर, उक्त प्रतिबद्धताको आधा सिलिण्डर पनि सरकारले पठाएको छैन। संकट पहिले जस्तै छ। हामीले मागको आधा प्रत्येक दिन १ सय ५० सिलिण्डर र कहिले त त्यो भन्दा पनि कम अक्सिजन सिलिण्डर पाउँदै आएका छौँ।’

अक्सिजन नभएकै कारण वीर अस्पतालको नयाँ सर्जिकल विल्डिङ पनि सञ्चालनमा आउन सकेको छैन। विरामीले बेड र उपचार पाएका छैनन तर, अस्पताल तयार हुँदा पनि सञ्चालनमा आउन सकेको छैन।

यस्तै ग्राण्डी अस्पतालमा पनि बिरामीको उपचार गर्ने सबै कुरा छ तर, अक्सिजन अभावकै कारण थप विरामी लिने अवस्था छैन। अस्पतालका डेपुटी डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार हाल अस्पतालमा अक्सिजनको अभाव पहिले जस्तै छ।

दुइ सय सिलिण्डर मागे एक सय भन्दा कम अक्सिजन सिलिण्डर पाई रहेको उनले बताए। डा. विजुक्छेले हाल अस्पतालमा ८१ जना कोभिडका बिरामीले उपचार गराइरहेका जानकारी दिए।

कुल ३० जनाको आइसीयूमा उपचार गरिरहेको बताउँदै उनले भने ‘सबै जनालाई अक्सिजन दिएर उपचार दिनु पर्ने अवस्था छ। सामान्य अवस्थाको भन्दा करिव ४ गुण बढी अक्सिजन आवश्यक्ता पर्छ। एकजना विरामीलाई प्रत्येक मिनेट १२ लिटर अक्सिजन आवश्यक्ता पर्छ।त्यसअनुसार २४ घण्टामा १७ हजार लिटर अक्सिजन चाहिन्छ। अर्थात एक दिनमा एउटा विरामीलाई तीन वटा सिलिण्डर अक्सिजन चाहिन्छ। हाल अस्पतालमा सबै गरेर १ सय ६० जना विरामी छन्। सरकारले दिएको कामचलाउ सय सिलिण्डरले काम चलाउनु परिरहेको छ।’

सरकारले अक्सिजन समस्याको दिर्घकालीन व्यवस्थापनको लागि ठाउँ विशेष प्लाण्टहरु बनाएर सम्बन्धीत क्षेत्रलाई छुट्याउन सक्ने उनले बताए।

हाहाकार छैन, अबको केही दिन भित्र समस्या समधान हुन्छ – स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने अहिले धेरै हदसम्म अक्सिजन समस्याको समाधान भइसकेको दावी गर्छन्। नयाँ सिलिण्डर धमाधम थपीरहेकोले अक्सिजन समस्या पनि समाधान हुँदै गएको उनले बताए।

प्रवक्ता गौतमले सरकार र निजी क्षेत्रले गरेर ग्याँस कम्पनीमा करिब ४५ सय नयाँ सिलिण्डर थपिएको र विभिन्न उद्योगका करिव ६ हजार बढी सिलिण्डर पनि थपिएको बताए। त्यसलै देखिने गरी नै समस्याको समाधान भइरहेको उनको भनाइ छ।

उनले यति मात्र नभई हाल सरकारले ठाउँ ठाउँमा लिक्वीड अक्सिजन ल्याएर आपूर्ति सहज बताइरहेको बताए। अक्सिजन अभाव हुन थाले पछि भारतबाट मात्रै ५० टन लिक्वीड अक्सिजन ल्याएर विभिन्न अस्पतालका ट्याकंहरु भरेको बताउँदै उनले अबको ५ दिन भित्र नै अक्सिजन अभाव हट्ने बताए।

उद्योगीहरु भन्छन् उत्पादन नै समस्या

छिमेकी मुलुक भारतमा अक्सिजन संकटले भयावहरुप लिँदै गर्दा नेपाल सरकार र अक्सिजन उद्योगहरुले सम्भावित संकटको बारेमा ख्याल नै गरेनन्। सोही अक्सिजन संकट घुमिफिरी अहिले नेपालमा आइलागेको छ। नेपालमा हाल प्रत्येक दिन १७ हजार ठूला अक्सिजन सिलिण्डर उत्पादन गर्दै आएको छ। र, यही नै नेपालको अक्सिजन उत्पादन गर्ने कूल क्षमता हो।

नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारदा अक्सिजनक उद्योगहरुले शत प्रतिशत नै उत्पादन गरे पनि माग धेरै हुँदा आपूर्ति समस्या देखिएको बताउँछन्। उनले काठमाडौंमा मात्रै ८ देखि १० हजार सिलिण्डर अक्सिजन खपत हुँदै आइरहेको बताए।

हाल अक्सिजन उत्पादन गर्ने सम्पूर्ण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा रहेको बताउँदै उनले भने,  ‘भाइरस संक्रमणले पिक लिन बाँकी नै रहेकोले अझै धेरै संकट हुन सक्छ। सरकारले कसरी धेरै अक्सिजन उत्पादन गर्न सकिन्छ भन्ने तिर ध्यान दिन जरुरी छ। समस्या सिलिण्डर होइन अक्सिजन उत्पादन क्षमता बढाउनु हो।’

पहिले अक्सिजन उद्योग मुस्किलले क्षमताको २० प्रतिशत चल्ने गरेको उल्लेख गर्दै महामारी पछि पनि यी उद्योगमा व्यापार नहुने भएकोले निजी क्षेत्र उत्पादनमा नलागेको बताए। अक्सिजन उत्पादन बढाउन सरकारले विशेष सहुलियत दिनु पर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *