विराटनगर महानगरले बनायो सुविधासम्पन्न ५१ बेडको आइसोलेशन वार्ड
काठमाडौं। विराटनगर महानगरपालिकाले बढ्दो कोरोना संक्रमितको उपचारका लागि ५१ बेडको अत्याधुनिक आइसोलेशन वार्ड बनाएको छ। अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरका मेयर भीम पराजुलीको सक्रियतामा अस्पताल बराबरको आइसोलेशन वार्ड बनाइएको हो।
विराटनगर १ स्थित भट्टा चोकमा रहेको आरआरएनको सभाहलमा बनाएको उक्त आइसोलेशन वार्ड सोमबार सुचारु गरिएको छ।
कोरोना संक्रमणले गर्दा अहिले विराटनगरमा रहेका अस्पतालहरुको स्थिति भयावह छ। अस्पतालमा आईसीयू बेड, अक्सिजन नपाइराखेको अवस्था छ। जसलाई मध्यनजर गर्दै मानिसहरुको जीवन रक्षा गर्ने उद्देश्यले उक्त आइसोलेशन सञ्चालनमा ल्याइएको मेयर पराजुलीले बताए।
कोरोना संक्रमितले अस्पतालमा बेड नपाएको अवस्थामा आइसोलेशन सेवा प्रभावकारी हुनेमा मेयर पराजुली ढुक्क छन्।
सुचारु गरिएको आइसोलेशनमा चिकित्सकसहित अक्सिजन र बिरामीका लागि आवश्यक स्वास्थ्य सामाग्रीसमेत व्यवस्था गरिएको छ। साथै आइसोलेशनमा स्वास्थ्यकर्मीद्वारा मनोपरामर्श समेत दिइने छ।
योसँगै संक्रमितलाई खानपिनको व्यवस्था समेत महानगरले मिलाएको छ। यो कार्यमा आरएनएनले सभाहल उपलब्ध गराएको छ भने एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) र मारवाडी युवामञ्च विराटनगरले विशेष सहयोग गरेका छन्।
विराटनगर महानगरले विराटनगर १९ मा समेत २५ बेडको आइसोलेशन सेवा प्रवाह गर्दै आएको छ। यस्तै सुत्केरी, वृद्धवृद्धा तथा अपाङता भएकाहरुको घरमै गएर पीसीआर परीक्षणको सेवा प्रवाह गर्दै आएको छ।
त्यसैगरी, मेयर पराजुलीले श्वासप्रश्वासमा समस्या आएका बिरामीहरुका लागि घरघरमै अक्सिजन समेत पुर्याउदै आएका छन्। उनले आफू चढ्दै आएको गाडी कोरोना संक्रमितको सेवाको लागि प्रयोग गर्न दिएका छन्।
मेयर पराजुली भन्छन्, ‘धनजनको रक्षाको लागि अधितम प्रयास गरिरहेको छु। यसमा सबै नगरवासीको सहयोग आवश्यक छ।’ उनका अनुसार संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा महानगरले काम गरिरहेको छ।
Facebook Comment