प्रधानमन्त्री र राष्ट्रपतिको नियत राम्रो देखिएनः काँग्रेस
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार आव्हान गरेकोमा नियत राम्रो नभएको प्रतिक्रिया दिएको छ। पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु गर्नुपर्नेमा त्यसो नगरिएको बताए।
उनले राष्ट्रपतिबाट भएको आव्हान संवैधानिक व्यवस्थाविपरित भएकोसमेत बताए। उनले यो आव्हानमा प्रधानमन्त्री र राष्ट्रपतिको नियत राम्रो नदेखिएको बताए। उनले शुक्रबार बिहान पार्टीको बैठक बसेर यो विषयमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिइने जानकारी दिए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै राष्ट्रपतिको यो कदम आपत्तिजनक भएको बताएका छन्।
रास्ट्रपति भवनमा मेरो देशको रास्ट्रपति बस्नुहुन्छ कि केवल `विधा भण्डारी´ बस्नुहुन्छ ?
प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 20, 2021
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफासिर बमोजिम संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार अपराह्न ५ बजेको समय दिएकी छन्।
राष्ट्रपतिको यो कदमप्रति नेकपा माओवादी केन्द्रले पनि प्रश्न उठाएको छ। पार्टी प्रवक्ता रानायणकाजी श्रेष्ठले संविधानविद्हरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्।
उता संविधानविद् भिमार्जुन आचार्यले पनि यसरी राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आव्हान गर्ने व्यवस्था संविधानमा नभएको टिप्पणी गरेका छन्।
Facebook Comment