९१ वर्षिया उपप्रमुख कार्कीले कोरोना जितिन्

डिसी नेपाल
७ जेठ २०७८ ६:२५

वीरगन्ज । वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले कोरोनालाई जितेर डिष्चार्ज भएकी छन् । उनले ९१ बर्षको उमेरमा कोरोना जितेकी हुन् ।

नियमित योग, ध्यान र शारिरिक व्यायाम गर्दै आएकी उपप्रमुख कार्कीले दरिलो आत्मविश्वास र आँट भए कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश दिएकी छन् । ‘बढि उमेरकालाई कोरोना लागेपछि बाचिन्न भन्ने कुरालाई समेत मित्थ्या सावित गर्दै शान्ति दिदी एक उदाहरण बन्नु भयो ।’ वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले राजधानीसँग भने ।

उपप्रमुख कार्कीको २२ गते पोजेटिभ रिपोर्ट आएको थियो । सोही दिनबाट उनी दुई दिन संक्रमित बस्न बनाइएको स्थानीय विजय ज्योति होटल र त्यसपछि वीरगन्ज महानगरपालिकाको आफै संचालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा बसेकी थिइन् । कोरोना जित्दै बिहिबार डिष्चार्ज भएको उनका स्वकीय सचिव विजय पौडेलले बताए ।

उपप्रमुख कार्कीलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौलाले अस्थायी कोभिड अस्पतालमा नै पुगी स्वागत गरे । ‘सास फेर्न अलि अप्ठ्यारो भएपछि गएको बैशाख १७ गते अक्सिजनको सपोर्टमा दुई दिन घरमा नै बस्नु भयो । अवस्था अलि ठिक भएपछि स्वाव परिक्षण गर्न दिंदा २२ गते संक्रमण पुष्टि हुनुभयो ।’ उनका स्वकीय सचिव पौडेलले भने । त्यसको ठिक १३ औं दिनका दिन दोस्रो पटक दिएको स्वावको बिहिबार साँझ रिपोर्ट नेगेटिभ आएपछि बिहिबार डिष्चार्ज भएको पौडेलले बताए ।

पञ्चायत विरुद्धको योद्धासँग कोरोना पछि हट्यो

‘पञ्चायती शासकका विरुद्ध लड्दा प्रहरीले बन्दुकको कुँजाले हिर्काएर ढाड बँग्याउँदा, जेलमा कोच्दा, त मरिएन भने जाबो कोरोनाले मार्न सक्दैन भन्ने उहाँमा असाध्यै आत्म बल थियो ।’ स्वकीय सचिव पौडेलले भने । उनका अनुसार उमेरको ख्याल नगरी जनताको सेवामा निरन्तर लागिरहँदा अन्ततः आफै संक्रमित भएकी थिइन् । पौडेल भन्छन् ‘उपप्रमुख कार्कीमा आत्मबल नै धेरै छ । अहिले पनि गाडीमा भन्दा पैदल नै धेरै ठाउँमा हिड्नुहुन्छ ।’

सबैले कोरोनालाई जितिन्छ भन्ने हुँदैन : उपप्रमुख कार्की

कोरोना जितेर डिष्चार्ज भएकी उपप्रमुख कार्कीले संक्षिप्त कुरा गर्दै सरकारबाट जारी स्वास्थ्य सुरक्षा मापदण्ड सबैले पालन गर्नु पर्ने सुझाव दिइन् । निषेधाज्ञाको पूर्ण रुपले पालन गर्दै सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्न पनि उनले आग्रह गरिन् । ‘सबैले कोरोनालाई जितिन्छ भन्ने हुँदैन । त्यो भन्दा पहिले नै सबै सचेत भई सबै मापदण्ड पालना गर्नु पर्छ ।’ उनले भनिन् ।

महानगरको अस्थायी अस्पतालको पहिलो बिरामी डिष्चार्ज

‘वीरगन्ज महानगरपालिकाले संचालन गरेको २ सय ३० बेडको अस्थायी कोभिड अस्पतालको पहिलो संक्रमित बिरामी आफ्नै उपप्रमुख शान्ति दिदी डिष्चार्ज हुनु भयो ।’ महानगरका नगरप्रमुख सरावगीले भने । ‘उहाँले १४ दिनपछि कोरोनालाई जित्न सक्नु भयो ।’

स्थानीय अस्पतालहरुले कोरोनाका संक्रमितहरुको चाप थेग्न नसकेपछि महानगरले गएको बैशाख २४ गते स्थानीय गोपाल मण्डली धर्मशालामा आफै अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको थियो । त्यसको पहिलो बिरामी नै महानगरकी उपप्रमुख कार्की भर्ना भएकी थिइन् । जेठ ३ गते दोस्रो पटक स्वाब संकलन गर्दा बुधबार ५ गते रिपोर्ट नेगेटिभ आई बिहिबार डिष्चार्ज हुनु भएको वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

उच्च राजनीति कद, होचो पद

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला लगायतले पनि नजिकबाट चिन्ने काँग्रेस पार्टीकी नेतृ उपप्रमुख कार्कीलाई पार्टीले पहिलो पटक सार्वजनिक पदका लागि अवसर दिएको थियो । निष्ठाको राजनीति गर्ने भएको कारण मधेश आन्दोलनको प्रभाव क्षेत्र रहेको वीरगन्जमा उपप्रमुखको पदका लागि महिला नेतृहरु तर्फ उनलाई पार्टीले निर्विकल्प उमेद्वार ठान्यो । आफ्नै घर समेत नभएकी उपप्रमुख कार्कीले त्यो अवसरलाई सदुपयोग गर्दै विजयी बनिन् । अन्ततः जीवनको उत्तराद्र्धमा वीरगन्ज महानगरको उपप्रमुख भएर जनताको काम गरिरहेकी छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *