गृह मन्त्रालयमा सुरक्षा अधिकारीको बैठक, सुरक्षा व्यवस्था कडा पार्न निर्देशन
काठमाडौं। गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई गर्न सुरक्षा निकायलाई निर्दैशन दिएको छ। मन्त्रालयले शनिवार सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर निषेधाज्ञालाई कडाई गर्न निर्दैशन दिएको हो।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखसँग शान्ति सुरक्षालाई कडाई गर्ने र निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए।
‘बैठक नियमति हो यसमा अर्को कुनै कारण छैन अहिले भैरहेको शान्ति सुरक्षाको बारेमा जानकारी लिइएको हो साथै कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो’, प्रवक्ता दाहालले भने।
गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला मानिसहरुको भीडभाड रोक्न निर्दैशन दिएका हुन्। रामबहादुर थापा बादल पदमुक्त भएपछि अहिले मन्त्रालय प्रधानमन्त्री मातहतमा रहेको छ।
प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई ध्यान दिएर गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको हो। बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई फोन मार्फत भीडभाड रोक्न र निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
शुक्रबार राति विकसित घट्नाक्रमलाई ध्यान दिँदै मन्त्रालयले शनिवार सुरक्षा अधिकारीलाई बोलाएर छलफल गरेको हो। सरकारले संसद विघटन गरेर चुनाव घोषणा गरेको विरोधमा विपक्षी दलहरुले आन्दोलन गर्ने जनाएका छन्। गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री,सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।
Facebook Comment