के कारणले अड्कियो ओली–महन्थको संयुक्त सरकार घोषणा

डिसी नेपाल
९ जेठ २०७८ १२:०५

काठमाडौं। जनता समाजवादी पार्टीको दह्रो साथ पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई पनि सरकारमा सहाभागी गराउने प्रयास थालेका छन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा सहाभागी गराउने तयारी गरेका हुन्।

शनिबार प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोलाई बालुवाटार बोलाएर सरकारमा सहाभागी हुने विषयमा छलफल गरेका थिए। सो छलफलमा जसपा संसदीय दलका नेता महताले सरकारले आफ्नोतर्फबाट गर्नुपर्ने माग गरिरहेको भन्दै सरकारमा सहाभागी हुने प्रस्ताव राखेका थिए।

स्रोतका अनुसार त्यसपछि मन्त्रीमण्डल बाँडफाँडमा सैद्धान्तिक छलफल भएको थियो। जसपाले गृहमन्त्रालयसहित दश मन्त्रालय आफूले पाउनु पर्ने दाबी गरेको छ। तर प्रधानमन्त्री ओली आठ मन्त्रालय दिन तयार भएका छन्।

तर जसपाले दाबी गरेको गृहमन्त्रालय दिने विषयमा भने कुनै सहमति नभएको स्रोतले जनाएको छ। जसपा नेताहरुले प्रधानमन्त्रीसँग बादल फेरि मन्त्री बन्ने नबन्ने विषयमा जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले बादललाई आफूले संगठनको काममा खटाउन चाहेको बताएका थिए।

जसपा सरकारका सहाभागी हुन तयार रहेको अवस्थामा प्रधानमन्त्री अ‍ोली जसपाभित्रको समीकरणमा बढी आस्वस्त हुन खोजेका थिए।
प्रतिनिधिसभा कायम रहेको अवस्थामा ठाकुर र महतो पक्षसँग बहुमत सांसद रहेपनि प्रतिनिधिसभा भंग भएको अवस्थामा कार्यकारिणी समितिमा बहुमत पुग्ने नपुग्ने विषयमा प्रधानमन्त्री ओली आश्वस्त हुन खोजेका थिए।

पछिल्लो समय ठाकुर महतो समूहका रहेका सात जना नेता उपेन्द्र यादव समूहमा फर्किएपछि केन्द्रीय कार्यकारिणीमा ठाकुर–महतो पक्ष अल्पमतमा परेको चर्चा हुन थालेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *