सिंगापुरबाट आएको १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण
काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका सिंगापुरबाट नेपाल शनिबार आइपुगेको १३ टनभन्दा बढी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । सो सामाग्री नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर ल्याइएको थियो ।
करिब तीन मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ)को ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले हस्तान्तरण गरेका हुन् ।
तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको जनाइएको छ ।
स्वास्थ्य सामग्रीहरुमा एक लाख २३ हजार बढी फोर्टिट्युड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको पाँच हजार बाकस, सिटोटेष्ट स्वाब किट्स २ लाख ५० हजार, २ म्यागेसी ३२ आएनए निकासी मेसिन, २५०० निकासी किट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन–इन्भेसिभ भेन्टिलेटरहरु र चार हजार बढी पल्स अक्सिमिटर रहेको जनाइएको छ ।
यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । तामासेक फाउन्डेसन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वक्तव्य जारी गर्दै कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तरसँगै मिलेर काम गरिरहनु आवश्यक रहेको बताए ।
सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी, २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।
स्वास्थ्य सामग्री लिँदै मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा बु्रअरीबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरे ।
Facebook Comment