कोरोनाविरुद्धको लडाईंमा ३२ अर्ब ऋण परिचालन

डिसी नेपाल
१० जेठ २०७८ १६:२५

काठमाडौं। सरकारले कोरोना महामारीविरुद्धको लडाईंमा ३२ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले सोमबार पक्रकार सम्मेलन गरी कोरोना महामारीविरुद्धको क्रियाकलापमा सो ऋण परिचालन गरिएको जानकारी दिए। उनका अनुसार एशियाली विकास बैंकसँग १९ अर्ब ८० करोड ऋण लिने प्रक्रिया शुरु भएको छ। यस्तै विश्व बैंकबाट १२ अर्ब ऋण लिइएको छ।

यस्तै सरकारले कोरोनाविरुद्धको लडाइँमा विभिन्न राष्ट्र तथा दातृ निकायबाट २ अर्ब रुपैयाँ बराबरको सहायता प्राप्त गरेको छ। मन्त्री त्रिपाठीका अनुसार अझै ५ अर्ब रुपैयाँ बराबरको सहायता प्राप्त हुने चरणमा छ।

सरकारले गएको वैशाख महिनामामात्र कोरोनाविरुद्धको उपचारका लागि विभिन्न अस्पतालहरुलाई ४५ करोड रुपैयाँ शोधभर्ना गरेको मन्त्री त्रिपाठीले जानकारी दिए। उनले हालसम्म नेपाल सरकारले कोरोना महामारीविरुद्धको क्रियाकलापमा ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च गरेको जानकारी दिए। अझै २ अर्ब ५४ लाख भुक्तानी हुँन बाँकी रहेको छ। सरकारले कोरोनाविरुद्धको क्रियाकलापका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको जानकारी दिए।

मन्त्री त्रिपाठीले अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोप पाउन मुस्किल भएकोसमेत बताए। उनले खोप खरिदका लागि भारत, चीन, बेलायत र रुससँग खोप खरिदका लागि उच्चस्तरबाट पहल भइरहेको जानकारी दिए। यस्तै यूरोपेली यूनियनमा स्टोरमा रहेको खोप ल्याउनका लागि पनि पहल भइरहेको बताए। उनले सोमबार काठमाडौंस्थित नर्वेका राजदूतसँग यो विषयमा छलफल भएको बताए। उनले सो छलफल सकरात्मक रहेको जानकारी दिए।

मन्त्री त्रिपाठीका अनुसार हाल देशमा कोरोना संक्रमितको उपचारका लागि १५७ अस्पताललाई सूचीकृत गरिएको छ। यस्तै निजी क्षेत्रका ४५ अस्पतालसँग सम्झौता गरी निःशुल्क उपचारको व्यवस्था गरिएको छ। उनले हाल देशभरका ५५ सरकारी प्रयोगशाला तथा अन्य ३६ वटा निजी प्रयोगशालाबाट दैनिक २० हजार जनाको पीसीआर परीक्षण हुँदै आएको बताए। यस्तै कोरोना संक्रमण समूदायमा फैलिसकेको मन्त्रालयको निष्कर्षअनुसार समूदायमा एन्टिजेन परीक्षण गरिएको जानकारी दिए। प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एन्टिजेन परीक्षण भइरहेको उनले बताए।

मन्त्री त्रिपाठीले हाल देशभर भेन्टिलेटर ३२७ बाट ९०४ पुर्याइएको र १८० थपिनेक्रममा रहेको जानकारी दिए। यस्तै आईसीयू २६०० बाट ४०० बढाएर ३००० पुर्याइएको तथा ६३० बेड थपिनेक्रम रहेको जानकारी दिए। उनका अनुसार एचडीयू बेड सरकारी २०७५ रहेकोमा ७७८ थपिएको र १४०० थपिनेक्रममा रहेको बताए। यस्तै देशभर ३२ वटा अक्सिजन प्लान्ट रहेकोमा १९ वटा प्लान्ट थपिनेक्रममा रहेको जानकारी दिए। यस्तै लिक्वीड अक्सिजन ट्यांक ३ वटामात्र रहेकोमा २७ पुर्याउन लागिएको बताए। कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि ५ हजार अक्सिजन सिन्डिर थपिएको बताए।

मन्त्री त्रिपाठीले पछिल्लो एक हप्तको तथ्यांक विश्लेषण गर्दा महामारी नियन्त्रणमा आउन अझै ४ हप्ता लाग्ने अनुमान गरे। उनले संक्रमण दर नघेको भन्दै संक्रमण दर घट्न ४ हप्ता लाग्न सक्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *