क्षणभरमै जलेर ध्वस्त भयो बन्हुको सपना
सप्तरी । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो ।
स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त भयो ।
गाउँलेहरूले न आराम गर्न पाए, नत आगो निभाउन सके । डाक्नेश्वरी नगरपालिकामा बारुणयन्त्र नहुँदा घरहरु खरानी भएको टुलुटुलु हेर्नुपरेको उमाकान्तले बताए । नजिकै रहेको शम्भुनाथ र राजविराज नगरपालिकाको बारुणयन्त्र समेत बिग्रिएर मर्मतमा पठाइएकोले ३० किलोमिटर दूरीमा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउँदा ढिलो भएको उमेश साहले बताए ।
दुई घण्टामा बारुणयन्त्र आई पुग्दा आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद, जस्तापाता, काठ र फर्निचर जलेर खरानी भइसकेको थियो ।
परालको टालबाट नजिकै राखिएको दाउरा र गुइठामा सल्किएर ह्वारह्वारी बलेको आगो नियन्त्रण गर्न नसकिएको गाउँलेहरुको भनाइ छ । स्थानीयबासी रामु चौधरीका अनुसार नजिकै पानीको स्रोत पनि थिएन् । नजिकै रहेका पाँच घर आगोले डढेर खरानी भयो । छाक टार्न घरमा राखिएको अनाज र लुगाफाटासँगै नगद रुपैयाँ पनि जलेर खरानी भए ।
आगलागीमा परेर बन्हु चौधरीको घर मात्र सल्केन नयाँ घर बनाउने योजना पनि सल्केर खरानी भयो । जस्तापाताको साटो नयाँ पक्की घर निर्माणका लागि उनले बैंकबाट ऋण लिएर घरमा करिब ६ लाख रुपैयाँ जोहो गरेर राखेका थिए । बन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए ।
बन्हु भन्छन्–‘‘बस्दै आएको पुरानो घर सल्क्यो, जम्मा गरी राखेको नगद छ लाखमध्ये साढे पाँच लाख रकम समेत सल्किएर नयाँ घर बनाउने योजना पनि खरानी भयो ।’’ आगोसँगै घर बनाउने उनको सपना पनि त्यही धुवाँसँगै उडेर गयो । ‘‘अब के गर्ने होला ? कहाँ बस्ने होला ?’’ बन्हुले चिन्ता प्रकट गरे । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बन्हु परिवारको नगदसहित १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शोभाकान्त चौधरीले मोटरसाइकल समेत निकाल्न पाएनन् । मोटरसाइकलसहित आफ्नो घरको सम्पूर्ण सामाग्री जलेर खरानी भएको शोभाकान्तले जनाए । उमाकान्तले घरभित्र रहेको करिब तीन लाख रुपैयाँको सुनचाँदी जलेर नोक्सान भएको दुखेसो सुनाए ।
आगोले बन्हुको र उनका छोराहरुको समेत घर जलेकाले कहाँ ओत लाग्ने चिन्ता थपिएको छ । अहिले चौधरी परिवार विचल्लीमा परेका छन् । हनुमाननगरबाट आएको बारुणयन्त्रले आगोको राखलाई पूर्णरुपमा नियन्त्रणमा लियो तर बारुणयन्त्र आउनु अघि सबै सामान क्षणभरमा नै ध्वस्त भयो, केही बाँकी रहेन । रासस
Facebook Comment