जापानमा सुतेकै अवस्थामा नेपालीको मृत्यु
टाेकियाे। जापानको गुन्मा केनमा एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। गुन्मा केनको माएबासीमा बस्दै गरेका झलकबहादुर गुरुङ सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु भएका गुरुङ ३५ वर्षका थिए भन्ने बुझिएको छ।
मृत्यु भएका गुरुङको परिवार नेपाल को लमजुङ जिल्ला स्थायी घर भएकाे उनी पोखरा बस्दै आएका थिए। परिवारमा बुवाआमासहित श्रीमती र एक छोरी रहेका छन्। चार वर्षअघि गुरुङ विशेष दक्षता शिप अन्तर्गत कुक भिषामा जापान आएका थिए।
मे २४ तारिख सोमबार दिनमा काम गरेर फर्केका गुरुङले साँझ नेपालस्थित परिवारसँग भिडियो कुराकानी समेत गरेका थिए। साँझ खाना खाएर सामान्य अवस्थामै सुतेका गुरुङलाई बिहान सुतिरहेको अवस्थामा मृत्यु भएको भेटेको सँगै बस्दै आएका साथीले बताएका छन्।
मृत्यु हुने गुरुङको शव हाल पोष्टमार्टमको लागि प्रहरी नियन्त्रण को अस्पतालमा रहेको गुन्मास्थित नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिए।
प्रहरीले प्रारम्भिक रुपमा हृदयघातका कारण मृत्यु भएको अनुमान गरेपनि पोष्टमार्टम रिपोर्टपछि मात्र विस्तृत जानकारी थाहा हुने बताएको छ। सुत्दा कोठामा सामान्य अवस्थामा झ्याल केही खुल्ला राखेर पर्दा लगाइएको अवस्थामा सुतेको भनि सँगै बस्दै आएका साथीले बताएका छ्न्।
Facebook Comment