कोरोनाभाइरस संक्रमित आरोहीले सगरमाथाको सफल आरोहण गरे

डिसी नेपाल
१२ जेठ २०७८ ११:०३

काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित भएका एक पर्वतारोहीले सफलतापूर्वक सगरमाथाको आरोहण गरेका छन् । न्यूजिल्याण्डमा आधारित रहेर काम गर्ने अमेरिकी डकुमेन्ट्री निर्माता ५२ वर्षका स्कट सिम्पर यही मे ११ का दिन सगरमाथाको शिखरमा पुगेका थिए । तर, जतिबेला उनी सगरमाथाको शिखरमा पुगेका थिए त्यतिबेला उनलाई काफूलाई कोरोनाभाइरस संक्रमण भएको थाहा थिएन । उनलाई थकान र सास फेर्न समस्या भएको थियो तर उनले यो समस्या आफू समुद्र सतहबाट झण्डै ९ हजार मिटर उचाइमा भएकोले देखिएको ठानेका थिए ।

सिम्पर नेपाली शेर्पाहरुको विषयमा एक डकुमेन्ट्री फिल्म बनाइरहेको क्यानडाली फिल्म क्रुको साथमा सगरमाथा आरोहण गर्न गएका थिए । न्यूजिल्याण्डको मिडिया स्टफका अनुसार आरोहणपछि उनी संक्रमित भएको पुष्टि भयो र अहिले उनी काठमाडौंको एक होटलमा आइसोलेसनमा छन् । उनीसँगै फिल्म क्रुका सदस्य र केही शेर्पाहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुले आफूहरु आरोहण सुरु गर्नुअघि बेस क्याम्पमै भाइरससँग एक्सपोज भएर संक्रमित भएको विश्वास गरेका छन् ।

सिम्पर फेब्रुअरीमा अर्को एक फिल्म परियोजनाको लागि काम गर्न न्यूजिल्याण्डबाट सगरमाथा आएका थिए । त्यो फिल्मपछि उनले यो डकुमेन्ट्रीमा काम सुरु गरेका थिए । क्यानडाली फिल्म क्रुसँगको सम्झौताका कारण सिम्पर आफू मिडियासँग बोल्न पाउँदैनन् । उनले न्यूजिल्याण्डमा रहेकी आफ्नी पत्नी एन्ना किलिङलाई आफू संक्रमित भएकोबारे बताएपछि उनले यो जानकारी स्टफलाई दिएकी थिइन् ।

किलिङका अनुसार सिम्परले सगरमाथाको शिखरमा पुगेका दिन शिखरबाट फर्कने क्रममा किलिङलाई सम्पर्क गरेका थिए । त्यतिबेला उनी निकै थकित भएको र उनी मुस्किलले बोल्न सकेको किलिङले बताइन् । अल्टिच्युड सिकनेस र कोभिडको उस्तै लक्षण हुने भएकोले आरोहण टिमका सदस्यहरुले आफू संक्रमित भएको थाहा पाएनन् । सिम्परले यसअघि पनि सगरमाथा आरोहण गरेका थिए र यो उनको तेस्रो सफल आरोहण हो । काठमाडौं फर्किइसकेपछि उनी न्यूजिल्याण्ड फर्किनको लागि परीक्षण गराउँदा मात्रै उनी संक्रमित भएको पुष्टि भएको हो ।

दिन बित्दै जाँदा उनको स्वास्थ्य बिग्रिँदै गयो र एक दिन उनी ओच्छ्यानमै परे । स्थानीय डाक्टरको हेरचाहमा उनको स्वास्थ्य सुधार हुँदै गइरहेको छ । उनलाई अस्पताल भर्ना हुनु भने परेन । नेगेटिभ रिपोर्ट आइसकेपछि पनि उनी नेपालबाट सिधै न्यूजिल्याण्ड जान पाउने छैनन् किनकि न्यूजिल्याण्डले नेपालबाट सिधा उडान बन्द गरेको छ । अमेरिकी नागरिक र न्यूजिल्याण्डका स्थायी बासिन्दाको हिसाबले उनका लागि सबैभन्दा उपयुक्त विकल्प भनेको पहिले अमेरिका गएर त्यहाँबाट न्यूजिल्याण्ड जानु हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *