नेपालीको हृदय जित्न सफल दश लाख खोपको चिनियाँ राजनीति

डिसी नेपाल
१३ जेठ २०७८ ६:५९

काठमाडौं। छिमेकी मुलुक चीनले संकटमा परेको नेपाललाई आपतकालीन उद्धारका लागि १० लाख कोभिडको खोप अनुदानमा दिएर फेरि एकपटक मित्रताको गतिलो हात बढाएको छ। उसले निकै लामो समयसम्मको मौनता तोड्दै सहयोगको घोषणा गरेको हो।

दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई खोप दिन नसक्ने घोषणा गरेको केही दिनपछि चीनको खोप सहायता घोषणा भएको छ। सहायता दिंदा पनि चीनले सन्दर्भ मिलाएर र कुटनैतिकरुपमा पनि उच्चस्तरको इज्जत पाउने गरी दिएको बुझ्न गाह्रो छैन। सामाजिक र आर्थिकरुपमा भारतसँगको सम्बन्ध र निर्भरताको कुरा छिमेकीको नाताले अस्वभाविक होइन।

तर, नेपालको राजनीति, शासन प्रशासनमा भारतसँगको परनिर्भरता अब खुल्ला किताबजस्तो भइसकेको छ। भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको आकस्मिक नेपाल भ्रमण र त्यसयताको राजनीतिक उतार चढावमा पाइला पाइलामा भारत देखिएको छ चाहे त्यो सत्तापक्षका गतिविधिमा होस् वा विपक्षीका।हरेक कदममा भारतको इशारा भएको कुराले राष्टभक्त नेपालीहरु हैरान भएका छन् ।

यतिमात्रै होइन, कोभिड महामारीको पहिलो वेभ समाप्त भएपछि नेपालले विश्वका धेरै खोप उत्पादक मुलुकहरुसँग कोभिडविरुद्धको खोप खरिद गर्ने प्रयास शुरु गर्यो। तर, यो थाहा पाएको भारतले चाहिनेजति खोप आफैं दिने भन्दै अन्यत्रबाट खरिद गर्नबाट रोक्यो।

नेपालका दलहरुलाई एउटै ठाउँमा भेला पारेर पहिला दलका नेताका कुरा सुनेको चीनले उनीहरुकै मागबमोजिम खोप अनुदान दिएकोझैं गरी सन्देश प्रवाह गर्न सफल भयो। नेपाली नेताहरु सबैले मागेकाले चीनले दिएको हो भन्ने सन्देश देशवाहिर त छँदैछ उसले आफ्नो देशभित्र पनि नेपालप्रति चासो राख्नेहरुलाई समेत दिन सफल भयो।

यसका लागि आर्थिकरुपले सस्तो प्रस्तावमात्र दिएन, समयमै खाप दिन बचनबद्धता पनि दियो। यही कारण छिमेकी मुलुक चीनसँग खरिद गर्न लागिएको खोपको प्रक्रिया सरकारले रोकेको थियो।

सस्तोमा र उचित समयमै भारतले खोप दिन्छ भने अन्यत्र किन किन्नु भन्ने नेपाल सरकारका उच्च अधिकृतहरुको मनोविज्ञान प्रष्टै देखिएको थियो। जव सेकेण्ड वेभले दैनिक सयौंको ज्यान जान थाल्यो, नेपालीहरुले आफ्नो सरकारको निकाम्मापनप्रति उग्र विरोध जनाउन थाले त्यहीबेला भारतले खोप खरिदमा दुई व्यापारी दलालहरु विजय दुगड र सुरज बैद्यको नाम अगाडि सारेर खोप खरिदलाई प्रतिबद्धताविपरीत महंगो बनाउन खोज्यो।

यो विवादमा प्रधानमन्त्री केपी ओली स्वयं मुछिन पुगे। दलाललाई पैसै तिरेर भए पनि खोप भित्र्याउने ओलीको प्रयास सफल हुन सकेन। उनलाई खोप उत्पादक कम्पनीले भारत सरकारले मुलुकवाहिर खोप निर्यात गर्न प्रतिबन्ध लगाएको जानकारी दिँदै नेपाललाई खोप बेच्न अस्वीकार गरिदियो।

सबै कुरामा निर्भर हुँदा हुँदै पनि भारतको यो रबैयाले भारतनिर्भर नेपालीहरुको ज्यान जोखिममा मात्रै परेन कोभिड संक्रमणको मृत्यु दर पनि उच्च भयो। पहिलो डोजको भारतीय खोप लगाइसकेकाहरुले दोस्रो डोज लगाउन पाएका छैनन् र धेरै ग्याप हुँदा खोपको प्रभावकारिता कस्तो हुने हो भन्ने आशंकाले जन जनलाई पिरोलेको छ।

उता, अन्तिम समयमा आएर धोका दिएपछि नेपालले कुटनीतिक सम्बन्ध भएका खोप दिनसक्ने सम्भाव्य सबै मुलुकसँग खोप किन्न देऊ भन्दै हात फैलाउँदै हिड्नुपर्ने अवस्था आइपर्यो। अमेरिका, बेलायत, जर्मनीलगायतका खोप उत्पादक मुलुकहरुसँग नेपालले आग्रह गरिरहेको तर कुनै ठोस उत्तर आइनसकेको अवस्थामा नेपाली शासक, नेताहरु, राजनीतिक दलहरु र जन जनको मन आत्तिनु स्वाभाविक हो।

यसरी चौतर्फी पहल गर्दा पनि सफल नभइरहेका बेला चिनियाँ राष्टपति सी जिनपिंगले नेपालकी राष्टपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी दश लाखको संख्यामा खोप अनुदानको घोषणा गर्नुले प्रचण्ड गर्मीले अत्तालिएका बेला शीतल हावा चल्ने पंखा अकास्मात भेट्दा कस्तो आनन्दको अनुभूति हुन्छ त्यस्तै अनुभूति नेपालीहरुलाई भएको छ।

पहिला पनि ८ लाख खोप अनुदानमा दिएको र पहिलोचरणमा सो खोप लगाइसकेकाहरुलाई दोख्रो खोप लगाउन अव सहज भएको छ। पहिलोचरणको चिनियाँ खोप लगाउनेहरु अव ढुक्कसमेत भएका छन् भने बाँकी खोप अत्यावश्यक समूहमा पर्नेहरुलाई लगाउन पनि बाटो खुलेको छ । यसअर्थमा चीनले फेरि एकपटक नेपाली जनताको हृदय जितेको छ।

भारत र शक्ति राष्ट्रलाई अर्को पनि सन्देश

अझ खोप दिएको घोषणासंगै नेपालका सबै राजनीतिक दलका नेताहरुलाई भर्चुअल फोरममा एकैठाउँ भेला पारेर हिजैमात्र चीनले नेपालको आवश्यकताबारे छलफल गरेर आफू आवश्यकता पर्दाको मित्र भएको गतिलो सन्देश पनि दिएको छ।

नेपालका दलहरुलाई एउटै ठाउँमा भेला पारेर पहिला दलका नेताका कुरा सुनेको चीनले उनीहरुकै मागबमोजिम खोप अनुदान दिएकोझैं गरी सन्देश प्रवाह गर्न सफल भयो। नेपाली नेताहरु सबैले मागेकाले चीनले दिएको हो भन्ने सन्देश देशवाहिर त छँदैछ उसले आफ्नो देशभित्र पनि नेपालप्रति चासो राख्नेहरुलाई समेत दिन सफल भयो।

यसबाहेक नेपालप्रति चासो राख्ने भारत र अन्य मुलुकहरुलाई चीन नेपालको आन्तरिक राजनीतिबारे चासो राख्दैन र हालसम्म बेवास्ता गरेको हो यदि चीनले चाहने नै हो भने सबै दलहरुलाई साझा उदेश्यका लागि एकै ठाउंमा ल्याउन सक्छ भन्ने सन्देश पनि एकैपटक दिन सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *