पदमुक्त भएका ७ जना मन्त्रीहरुले मन्त्री क्वाटर छाडेनन्, फेरि मन्त्री हुने विश्वास

खेमराज थापा
१३ जेठ २०७८ १७:०९

काठमाडौं। सांसद नभए पनि मन्त्री नियुक्त हुन पाउने व्यवस्थाअनुसार दुई पटक मन्त्रीमा नियुक्त भएका वर्तमान सरकारका ७ जनामन्त्रीहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै काम गर्न रोकेको विहीबार ७ दिन भएको छ।

ललितपुरको हरिहर भवनस्थित मन्त्री क्वाटरमा बस्दै आएका सातै जनाले क्वाटर छाड्ने तयारी भने थालेका छैनन्। बरु उनीहरुलाई सर्वोच्चको पूर्ण फैसला आउँदा आफूहरुको पक्षमा आउने भएकाले फेरि मन्त्री हुने विश्वास छ। क्वाटरमामात्र होइन उनीहरुले अन्य सरकारी सेवासुविधा पनि फिर्ता गरेका छैनन्।

मन्त्रीबाट हटे पनि किन क्वाटार नछाडेको हो भन्ने प्रश्नमा निवर्तमान ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूहरु मन्त्री नै रहेको दावी गरे। उनले डिसी नेपालसँग भने, ‘सर्वोच्चले अन्तरिम आदेशबाट हामीहरुलाई काम गर्न मात्र नदिएको हो। पूर्ण फैसला त भएको छैन। हामी पदमुक्त कहाँ भएका छौं र?’

उनले आफूहरुलाई पदमुक्त भएको भन्न नमिल्ने जिकिर गर्दै क्वाटर छाड्ने कुनै संकेत नै गरेनन्। बरु आफूहरुमाथि माओवादी केन्द्रले गरेको कारबाही र एमालेका माधव नेपालहरुको गतिविधबारे असन्तुष्टि पोखे।

उनले भने, ‘हामीले के अनुशासन उल्लंघन गर्यौं र प्रचण्डले हामीलाई कारबाही गरे? हामीले कुने अनुशासन उल्लंघन गरेका थिएनौं। प्रचण्ड र ओलीले बनाएको पार्टीमै बसेका हौं नि।’ उनले माधव नेपालहरुले काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थन गरेर पार्टीको अनुशासन उल्लंघ गरेकोसमेत बताए। उनले माओवादीले आफूमाथि कारबाही गर्न हुने ओलीले माधव नेपालहरुलाई कारबाही किन गर्न नहुने भन्दै प्रश्नसमेत गरे।

रायमाझीले मन्त्री क्वाटर नछाड्ने बताए पनि अर्का निवर्तमान श्रममन्त्री गौरीशंकर चौधरीले भने कोरोना महामारीका कारण क्वाटर नछाडेको बताए। उनले डिसी नेपालसँग भने, ‘कोरोनाको यस्तो महामारी छ कसरी क्वाटर छाड्ने? यो सबै ठिक भएपछि क्वाटर त छाड्छौं।’ उनले आफूले अर्को कोठाको भाडासमेत तिरिरहेको बताए।

रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायामाझी, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई प्रधानमन्त्री ओलीले वैशाख ३१ गते मन्त्रीमा नियुक्त गरेका थिए। तर, सर्वोच्च अदालतले जेठ ६ गते अन्तरिम आदेश दिँदै उनीहरुलाई काम गर्न रोक लगाएको छ।

सर्वोच्चले काम गर्न रोक लगाएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषदको कार्यविभाजन गर्दै राष्ट्रपति भण्डारीले जेठ ७ मा रिक्त भएका मन्त्रालयहरु प्रधानमन्त्री ओलीसँगै रहेको जानकारी दिइसकेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *