गीत संगीतको माहौल, हाम्रो घर र चेतन अंकल

डिसी नेपाल
१४ जेठ २०७८ ६:५२

“आज चेतन अंकल आउँदै हुनुहुन्छ, घरमा कोकाकोला छ कि छैन?” चेतन अंकल आउने दिनमा हाम्रो घरमा उठ्ने एक अति महत्वपूर्ण प्रश्न हुन्थ्यो यो। हुनपनि, जाडो होस् वा गर्मी उहाँ आईस हालेर चीसो बनाइएको कोकाकोलाबाहेक अरू केही नपिउने।

त्यसबेला पाइने शिशाको बोतलको कोकाकोला अटाउने, ठूलो शिशाकै गिलासमा हाली उहाँको अगाडि राखिदिएपछि उहाँ मुसुक्क हाँसेर बडो आनन्दका साथ, लगभग बुवा गोपाल योञ्जनसँग बिताउने सम्पूर्ण सांगीतिक सेसनभर त्यो गिलासको कोकाकोला बिस्तारै पिउनुहुन्थ्यो। कोकाकोलाको दोस्रो बोतल स्ट्यान्डबाइमा हुन्थ्यो तर बिरलै त्यसलाई खोल्नुपथ्र्यो।

चेतन कार्कीलाई एक दमदार सम्वाद लेखक र गीतकार तथा एक अविष्मरणीय चलचित्र निर्देशकका रूपमा चिन्ने धेरै छन् । नेपाली चलचित्र जगतमा उहाँको देनको चर्चा एक सानो संस्समरणमा अटाउँदैन र मसित त्यसो गर्ने ज्ञान र आँट पनि छैन।

मैले त केवल उहाँलाई, मेरो वाल्यवस्थादेखि चिनिआएको मेरो बुवाको एक घनिस्ट सहकर्मी र सहकर्मीभन्दा पनि ठूलो, एक असाध्यै माया गर्ने दाइको नाताले चिन्दै आएकी हुँ। उहाँहरूको भेट भइसकेपछि उहाँहरू बीच एक गहिरो अटुट सम्बन्ध गाँसिन पुग्यो जुन बुवाको निधनले पनि टुटेन। शायद यी दुई दाइ–भाइ अर्कै एक अलौकिक दुनिँयामा होलान्, जहाँ एक अर्कासँग लामो अन्तरालपछि भेट भई, फेरि सांगीतिक सेसनमा मस्त होलान्।

घरमा आउने विभिन्न व्यक्तित्वहरूसँग मेरो आफ्नो बेग्ला बेग्लै डाइन्यामिक्स् हुन्थ्यो। कोहीसँगको चिनजान साधारण नमस्ते वा हाई हेल्लोमा सकिन्थ्यो भने कसैसँग अलि बढी घनिष्टता थियो। जहिले आए पनि रमाइलो लाग्ने व्यक्तिहरूमा चेतन अंकल मेरो निम्ति विशेष व्यक्तित्व हुनुहुन्थ्यो।

बरिष्ठ संगीतकार गाेपाल याेञ्जनकाे परिवारसँग गीतकार चेतन कार्की।

हँसिलो, रसिलो, रमाइलो रोचक कुराको प्रवाह कहिल्यै नसिद्धिने र सबैलाई माया गर्ने उहाँको स्वभावले गर्दा होला, चेतन अंकल र बुवाबीचको कुराकानी सुन्न मलाई खुब लोभ लाग्थ्यो र म कोठाको कुनामै बसेरै भए पनि कान थाप्थे। फेरि उहाँका बारे म चकितै हुने गरी प्रभावित भएको अर्को कुरा – उहाँको हस्तलेखन गजबकै राम्रो थियो मानौं त्यो हातले कोरिएको पाना नभई कुनै किताबबाट फुक्लिएको प्रिन्टेड पाना होस्।

अनि चेतन अंकलसँग मेरो अर्को नाता उहाँका श्रीमति गंगा कार्कीका कारण पनि गाँसिएको छ। गंगा मिस मलाई असाध्यै मनपर्ने र मलाई कक्षा ९ र १० मा नेपाली पढाउनु हुने गुरूआमा हुनुहुन्थ्यो। चेतन अंकलका गीतहरूमा वर्णन गरिएका ठूला ठूला बदामी आँखा, कालो लामो कपाल, र धर्तीमा ओर्लिएकी जून जस्ता पंक्तिहरू कतै गंगा मीसबाटै प्रेरित भएका त होइनन् भन्ने मेरो अल्लारे मनमा लाग्थ्यो।

८० र ९० को प्रारम्भिक दशकमा थोरै नेपाली चलचित्रहरू बन्थे र ती चलचित्रका गीत संगीत पक्ष चलचित्रका कथा वस्तुसँग गाँसिएका हुन्थे। त्यसबेला एउटै गीतको अवधारणादेखि रेकर्डिङ र फाइनल परिणाममा सुक्ष्म ध्यान पुर्याइन्थ्यो।

गायक गायिकाले महिनौं दिनसम्म एउटै गीतलाई सिकी रिहर्सल गर्दथे। अनि त्यसबेला यी रिहर्सलका सेसनहरू सबै संगीतकारकै घरमा हुने हुनाले गीतकार, निर्देशक र कहिलेकाहीं निर्माता पनि सबै हाम्रै घरमा भेला हुन्थे।

मैले पनि त्यही कोठामा मन्त्रमुग्ध भई कान्छी फिल्मको कथा सुनेकी थिएँ। त्यसपश्चात सो चलचित्रका सिक्वेन्सअनुसार गीत र संगीत कस्तो हुनुपर्छ भनी धेरै सेसनहरू चेतन अंकल र बुवा बीच हुनेगथ्र्यो।

बुवाले सबैभन्दा बढी चलचित्रका संगीत चेतन अंकलकै गीतहरूमा भर्नुभएको छ र उहाँहरूले धेरै लोकप्रिय र अविष्स्मरणीय सिर्जनाहरू जन्माउनु भएको छ। यसका पछाडि दुइजनाको गजबको प्रोफेशलन पार्टनरशीपमात्र नभई एक अर्काप्रतिको आदरभाव, सिर्जनात्मक गहिराइको बुझाइ, एक अर्काको खुबीको परख र एक अर्कालाई निस्वार्थ माया गर्न सक्ने क्षमता हुनुपर्छ।

नामै लिनुपर्दा, कान्छी चलचित्रका सबै गीतहरू सुपरहिट हुनाको साथै ती सदाबहार गीतहरू बन्न पुगे। हिजोजस्तो लाग्छ, चेतन अंकलसँग निर्देशक बी.एस.थापा. आउनु भई, हाम्रो घरमा कान्छीको स्टोरी सेसन भएको। मैले पनि त्यही कोठामा मन्त्रमुग्ध भई कान्छी फिल्मको कथा सुनेकी थिएँ।

त्यसपश्चात सो चलचित्रका सिक्वेन्सअनुसार गीत र संगीत कस्तो हुनुपर्छ भनी धेरै सेसनहरू चेतन अंकल र बुवा बीच हुनेगथ्र्यो। बुवा धुनसहित गाना गाएर सुनाउने, चेतन अंकल ती धुनहरू सुनेर नतमस्तक हुने, अनि बीच बीचमा एक्सनसहित सँग सँगै गाइहाल्ने पनि।

उहाँको यो बानी मलाई अति नै रमाइलो लाग्थ्यो। आफ्ना गीत संगीतका सेसन सकिएपछि कतिपल्ट उहाँहरू पुराना हिन्दी गीतहरू गाई, शायरीहरू पनि आदनप्रदान गर्नु हुन्थ्यो। त्यस बखत एक अर्कै जादुजस्तो माहोल बन्थ्यो। शायद यी क्षणहरू उहाँहरूका लागि अनवाइन्ड गर्ने र रिल्याक्स गर्ने बहाना थिए।

जब बुवाको पार्थिक शरीर नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो। उहाँको कफिनमाथि ओडाइएको राष्ट्रिय ध्वजा पनि राष्ट्र र सम्बन्धित निकायका पदाधिकारीहरूले स्वतस्फुर्त रूपले नभई चेतन अंकलकै अडानले ओडाइएको रहेछ

चेतन अंकलको ‘विश्वास’ चलचित्रका लागि नायिकाको खोजी शुरु हुँदाको उहाँहरुका बीचको छलफल मलाई अझै ताजा नै छ। नायिका भेटिनु अगावै उहाँसँग नायिका कस्तो हुनुपर्छ भन्ने एक सोँच थियो र सो उहाँले बुवासँग छलफल पनि गर्नुभएको थियो।

उहाँको नायिका चलचित्रमा एक कुशल शास्त्रीय नृत्याङगना भएको झल्किनुपर्ने थियो र यही कन्सेप्टलाई लिएर ‘अंग अंगमा तरङ’को जन्म भयो जुन सेमी क्लासिकल गीत थियो र श्रोता तथा दर्शकले अति नै रूचाइदिनुपनि भयो।

सोही चलचित्रको अर्को अति चर्चित गीत, ‘बाछी भन्छ बाँ बाँ’ भन्ने एक वालगीत थियो जुन मिथिला शर्मा दिदीको डेब्यू रोल थियो। त्यसैगरी ‘माया प्रीति’ चलचित्रको ‘लाखौं तारा आकाशका’ भन्ने गीत जुन गीत मार्फत ट्रयाजेडी परेका हिरो मदिरामा धुत भई आफ्नो पीडा व्यक्त गर्छन्, त्यसमा गीतमात्र नभई गीतमा अभिनय गर्ने हिरोसमेत हिट भएका थिए।

त्यसमा हिरोको अभिनय रविन्द्र खड्काले गरेको र उहांलाई दर्शकले सर्वाधिक मनपराइदिएको हो भन्दा अत्युक्ति नहोला। यसैगरी यस्ता अरू धेरै गीतहरू छन् जसले कन्सेप्टचुवल र सांगीतिक रूपमा नेपाली चलचित्रको गीत संगीतलाई मार्गदर्शन दिएका छन्।

चेतन अंकल नै ती व्यक्ति हुनुहुन्थ्यो जसले त्यस्को प्रतिकार गरी, “म जेल जान परे पनि जाउँला, बजारबाट किनेर मै गोपाललाई नेपाली झण्डा ओढाउँछु” भनी ठाडै चुनौती दिएपछि कसैको केही लागेनछ।

यसबारे अलग एक रिसर्च र डकुमेन्टेसन हुनुपर्ने हो । दुखको कुरा त्यसो हुन सकेन। उल्टो नेपाली चलचित्र संगीत केही समयअघि देखि नै देखासिकी र क्षणिक लोकप्रियता कमाउनपट्टि नै बढी झुक्दै गएको देखिन्छ ।

हाम्रो जीवनमा चेतन अंकलको सबैभन्दा ठूलो भूमिका तब हुन गयो, जब बुवाको पार्थिक शरीरलाई प्रज्ञा प्रतिष्ठानको प्राङगणमा राख्न नमिल्ने एकथरिले कुरा उठाए। बाँचुञ्जेल कहिल्यै कुनै पदको लोभ नभएका कारण बुवाले कहिल्यै त्यस्ता पदको भोग पनि गर्नुभएन र कहिल्यै कुनै संघ संस्थाको सदस्य पनि बन्नुभएन।

यसैलाई कारण देखाई प्रज्ञा प्रतिष्ठानको प्राङगणमा राख्न दिने कि नदिने भन्नेबारे बहस चलेको थियो। तर अन्तमा बुवाले नेपाली संगीत जगतलाई छोडेर जानु भएको योगदानको तौलमुनि ती कुण्ठितहरू हार मान्न बाध्य बने र चेतन अंकल तथा विश्वम्भर प्याकुरेल अंकलको मूल संयोजकत्वमा बुवाको पार्थिव शरीरलाई उहाँलाई माया गर्ने हजारौं श्रोता तथा दर्शकहरूले अन्तिम भेट गर्न पाए।

मलाई पछिमात्र थाहा भयो यसभन्दा अघि पनि चेतन अंकलले कत्रो चुनौति लिनु र दिनु भएको रहेछ भनेर–जब बुवाको पार्थिक शरीर नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो। उहाँको कफिनमाथि ओडाइएको राष्ट्रिय ध्वजा पनि राष्ट्र र सम्बन्धित निकायका पदाधिकारीहरूले स्वतस्फुर्त रूपले नभई चेतन अंकलकै अडानले ओडाइएको रहेछ।

कत्रो बिडम्बना, जुन व्यक्तिको राष्ट्रिय गीतहरू नेपाल र नेपालीको पहिचान र गर्व भनी घन्काइन्छ, सो व्यक्ति बाँचुन्जेल त राज्यबाट कहिल्यै सम्मानित भएनन्, मृत्यु पश्चात पनि राष्ट्रिय ध्वजा ओढाउन अनेकन बाहना देखाई नहुन दिन भरसक प्रयत्न भयो ।

यस्तो महामहामारीको बीचमा चेतन अंकलले पाउनु पर्ने राष्ट्रिय सम्मान सम्भव भएन। तर यस भयावह स्थितिबाट निस्किएपछि, उहाँका लागि राज्यको र सम्बन्धित निकायको तर्फबाट एक भव्य स्टेट मेमोरियलको आयोजना भएको हेर्न चाहन्छु । यसका लागि सम्पूर्ण चलचित्र सँग सम्बन्धित व्यक्तित्वहरूबाट पनि पहल हुनेछ भन्ने पनि आशा राख्दछु ।

चेतन अंकल नै ती व्यक्ति हुनुहुन्थ्यो जसले त्यस्को प्रतिकार गरी, “म जेल जान परे पनि जाउँला, बजारबाट किनेर मै गोपाललाई नेपाली झण्डा ओढाउँछु” भनी ठाडै चुनौति दिएपछि कसैको केही लागेनछ।

यसरी एक दाइले आफ्नो अति प्रिय भाइलाई उनको लायकको अन्तिम सल्युट मिलाउनुभएको रहेछ। पछि गएर यस कार्यको जस लिन खोज्ने धेरै निस्किए, तर जसले होड गरे पनि चेतन अंकल नै हो जसका कारण गोपाल योञ्जनलाई राष्ट्रिय ध्वजा ओडाइयो र अन्तिम सम्मान दिइयो।

डेढ दुई महिनाअघि मात्र ममी र चेतन अंकलको उहाँकै घरमा भएको भेटघाटमा अंकलले देहरादुनबाट फर्केपछि गोपालका बारे लेख्छु भनी भन्नुभएको थियो । तर दुर्भाग्यवश, ती वाक्यहरू लेखिनुभन्दा पहिले नै उहाँको आफ्नै जीवनमा पूर्णबिराम लाग्यो ।

चेतन अंकलको निधनको खबर सुनेर असाध्यै दुख लाग्यो र विगतका कति दबिएर बसिरहेका साना रमाइला घटनाहरू पनि एकाएक ताजा भएर आए । यसै क्रममा चेतन अंकलका बारे केही लेखिदिनका लागि मलाई घचघचाइदिनु भएकोमा डी सी नेपालका सी.एम.भट्टराईज्यूलाई म आभार व्यक्त गर्न चाहन्छु।

चेतन कार्कीसँग लेखिका श्रीजना सिंह याेञ्जन।

यस्तो महामहामारीको बीचमा चेतन अंकलले पाउनु पर्ने राष्ट्रिय सम्मान सम्भव भएन। तर यस भयावह स्थितिबाट निस्किएपछि, उहाँका लागि राज्यको र सम्बन्धित निकायको तर्फबाट एक भव्य स्टेट मेमोरियलको आयोजना भएको हेर्न चाहन्छु ।

यसका लागि सम्पूर्ण चलचित्र सँग सम्बन्धित व्यक्तित्वहरूबाट पनि पहल हुनेछ भन्ने पनि आशा राख्दछु । यति विश्वासका साथ चेतन अंकलले राँको चलचित्रका लागि कोरेका गीतका पंक्तिबाट मेरो यो छोटो संस्मरण टुङग्याउन चाहन्छु।

सलल पानी यो जिन्दगानी
बगेरै जाने भो चट्ट मायालु ।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *