कोरोनाले विद्यालय बन्द भएपछि अभिभावकलाई दुध बेच्न सघाउँदै विद्यार्थीहरु
सप्तरी। राजविराजमा कोरोनाको दोस्रो लहरले बिद्यालय बन्द भएसँगै ग्रामीण भेगका बिद्यार्थीहरू घरघरमा गएर दुध बेच्ने काममा लागेका छन्। उनीहरूले निषेधाज्ञा लागेको समयको सदुपयोग गरेर अभिभावकलाई सघाउन ग्राहकको घरघरमा दुध पुर्याउन थालेका हुन्।
विद्यालय खुलेको बेला आमा, बुबा, हजुरबुबा, हजुरआमा पैदल नै बजारमा लगेर वा घरघरमा गएर बेच्ने गर्दथे। जुन किसानको घरमा गाई भैसी पालिएको छ वा अरुकोबाट दुध किनेर बजारमा बेच्ने व्यवसाय गरिरहेका छन् तिनीहरुको परिवारका विद्यार्थीहरुले साइकलमा चढेर दुध बेच्न घरघर गएर अभिभावकहरुलाई सघाई रहेका छन्।
अभिभावकले पैदल हिडेर घरघर पुर्याएर आउनुपर्ने समस्यालाई देखेर फुर्सदमा रहेका विद्यार्थीहरुले आफूले विद्यालय जान प्रयोग गर्ने साइकल चढेर दुध ग्राहकहरुको घरघरमा छिटो पुर्याउन थालेका हुन्।
राजविराज नगरपालिका – १ की कक्षा सातमा अध्ययनरत १३ वर्षीया कञ्चन रजकले बैशाखको पहिलो सातामा विद्यालय बन्द भएदेखि नै घरघरमा पुगेर दुध पुर्याउन थालेकी छिन्।
कञ्चन भन्छिन्, ‘सधैं दुध पुर्याउन हजुरआमा आउनुहुन्थ्यो, अहिले विदा छ, त्यसैले म साइकलमा पुर्याई दिन्छु।’ कञ्चनको कथन छ, ‘बुढी हजुरआमाले पैदल हिडेर दुध पु¥याउनु भएको म कसरी टुलुटुलु हेरेर बसौं?’
उनले थपिन्, ‘साइकल छ, त्यसमा जाँदा छिटो र सजिलो पनि हुन्छ।’ कञ्चनले भनिन्, ‘यो त घरको काम सघाएको जस्तै न हो।’
दुध पुर्याउन जाँदा कहिलेकाँही प्रहरी प्रशासनले रोकेर सोधपुछ गर्ने, हकार्ने गरेको उनको गुनासो छ। बुढापाकालाई कोरोनाबाट सुरक्षित राख्नु हाम्रो कर्तव्य हो भन्ने लागेर नै आफू हजुरआमालाई सघाउन अघि सरेको उनले बताइन्।
कञ्चनले थपिन्, ‘हामीलाई मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा कसरी कोरोनाबाट सुरक्षित हुने कुरा विद्यालयमा सिकाइएको छ। बरु हजुरआमा अल्मलिन सक्नु हुन्छ भनेर पनि म दुध पुर्याउन गएको हुँ।’
कञ्चन साइकलमा ११ लिटर दूध लिएर प्रहरी नबस्ने बाटो ( चोरबाटो ) हुँदै राजविराज बजार पस्छिन्। उनले भनिन्, ‘नियमित रुपमा दुध लिने ९ जनाको लागि नौं डब्बा दुध ग्राहकले पहिलेदेखि दिएको डब्बामा प्याक गरेर घरघर पुर्याउँछु।’ ‘बाँकी रहेको २ लिटर कसलाई आवश्यक छ? मागेकोलाई दिने र पैंसा लिने गरेको छु’, कञ्चनले बताइन्।
उनले थपिन्, ‘कसैले दुध मागेनन् भने के गर्नु आफैं घर घरको गेटमा गएर दुध चाहिन्छ भनेर सोध्छु र केही घर घुमेपछि बिक्री हुन्छ र पैसा लिएर घर फर्किन्छु।’
उनले भनिन्,‘ विद्यार्थी उमेर मै मैले हजुरआमाको व्यवसायबाट केही सिक्ने अवसर पाँए।’ ‘विद्यालयमा व्यवहारिक ज्ञान वा प्रयोगात्मक अभ्यास नहुने र घोकन्ते विद्यामात्र हुने हुँदा यो कामबाट मैले थोरै समयमा धेरै ज्ञान पाएको छु’ कञ्चनले भनिन्। हामीले समस्यालाई अवसरमा बदलिन सक्नु पर्दछ भन्ने सिकाई भएको उनको कथन छ।
कञ्चनले दुध प्रति लिटर ८० रूपैयाँमा बेच्दै आइकी छिन्। बैशाख महिनाभरीको दैनिक उठौना गर्नेहरुसंग पैसा उठाएर कञ्चनले नै आमालाई बुझाएकी छिन्।
कसरी दूध पुर्याउने, कसरी बेच्ने? कसरी हिसाब गरेर पैसा लिने सबै सिकिसकेको कञ्चनले बताइन्। उनले भनिन्, ‘ग्राहकले कस्ता कस्ता कुरा गर्दछन् र हजुआमाले उनीहरुसँग कसरी उत्तर दिनु हुन्थ्यो होला? भन्ने कुरामा भने नौलो अनुभुति भएको छ।’
उनले थपिन्, ‘कुनै ग्राहक सहयोगी भावनाका हुँदा रहेछन् भने कोही हाम्रो शिक्षकहरु भन्दा कडा मिजासका।’ ‘प्रत्येक दिन कुनै न कुनै ग्राहकसँग केही खबरहरु हुन्छन् जुन म घरमा आएर हजुरआमा र आमालाई भन्ने गर्दथे’ कञ्चनले भनिन्, ‘उहाँहरुले जे किसाउनु हुन्छ त्यसबाट मैले समाजको बाँच्न कसरी चल्नु पर्ने रहेछ भन्ने सिकिरहेकी छु। ’
उनले थपिन्, ‘दुध बेचेर लगेको पैसाले ‘मम्मी’ले भैंसी किन्नु भएको बेला लिनुभएको ऋणको किस्ता तिर्नु हुन्छ र अन्य घरको दैनिक खर्चको लागि चाहिने सामन किनमेल गर्नु हुन्छ।’
दोस्रो चरणको कोरोना माहामारीको लहरले सप्तरी जिल्लामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि यसलाई बढ्न नदिन अर्को सूचना जारी नगरून्जेलसम्म जिल्लामा निशेधाज्ञा जारी रहेको छ। कोरोना बढ्न थालेपछि बैशाखको पहिलो सातामै जिल्लाको सबै बिद्यालयहरूको पठन पाठन बन्द भएको छ। बालबालिकालाई कोरोनाको जोखिम हुन नदिन सबैभन्दा पहिले बिद्यालय नै बन्द गरिएको हो।
राजविराज नगरपालिका १ की कक्षा ६ मा अध्ययनरत १३ वर्षिया काजल यादवको दिनचर्या पनि कञ्चनको जस्ते गरेर वितिरहेको छ। बावुले बिहानै भैंसी दुहेपछि उनी पनि एका बिहानैे ८ लिटर दूध बोतलमा नापेर झोलामा राखेर साईकलमा झुण्याउँछिन्।
त्यसपछि दूध दिन बजार तर्फ हुईकिन्छिन्। दुध घरघरमा दिएर एक घण्टामै घर फर्किन्छिन्। उनी भन्छिन्, ‘आमाले दूध ल्याउँदा हिडेर आउनु पर्छ। पुलिसले एकएक छिनमा रोकेर कराउँछ। कतिदिन त हटिया बेच्न लग्दैछ भन्ने ठानेर पोखिदिने हुनाले आफु साईकलमा आउँने गरेको छु।’
‘पुलिसले हामीलाई कराउँदै गर्छ, हामी साईकल फास्ट गरेर भाग्ने गरेका छौं’, काजलले भनिन्। उनले थपिन, ‘आमा दुध दिन आउँदा तीन घण्टा समय खर्चिनु पर्छ।’ उनले आफ्नो बाध्यता यसरी सुनाइन्, ‘आमा दूध बेच्न आउँदा मैले घरको सबै काम गरेर खाना पकाउनु पर्दथ्यो। मलाई भात पकाएर बस्नु भन्दा दूध पुर्याउन सजिलो लाग्यो।’
उनलाई घरको काम गर्न अल्छी लाग्ने गरेकोले पुस्तौनी दूध बेच्ने पेशा सिकौन भन्ने रहर लागेकोले रिक्स मोलेर बजारमा दुध बेच्ने आएको बताइन्। काजल हास्दै भन्छिन, ‘मलाई दोहोरो फाइदा भएको छ, घर धन्दा गर्न नपर्ने र पुस्तेनी दुध बेच्ने पेशा सिकेर व्यापारी बन्ने।’
राजविराज नगरपालिका झल्ही की ८ कक्षामा अध्ययनरत १४ वर्षीया आरती साहले समेत आजभोली बिहान उठ्ने बित्तिकै दूध बेच्न जान हतार हुन्छ ।
उनी पनि तीन लिटर दुधलाई ६ बटा बोतलमा हालेर घरबाट निस्किन्छिन् । महिनावारी लिनेलाई चारबटा घरमा एक एक बोतल पुर्याएर बाँकी रहेको दुई बोतल अन्यत्र घरघरमा गएर बेचेर फर्किन्छन्।
आरती भन्छिन्, ‘पहिले ६ बोतल नै महिनाबारी थियो तर कोरोनाले विद्यालय बन्द भएपछि अन्यत्रबाट डेरा लिएर बस्ने परिवार घर गएकाले दुई बोतल कतै बेच्नु पर्ने बाध्यता छ।’
विहान ६ बजेदेखि घरघरमा दूध पुर्याउने, बेच्ने काममा साईकलमा जाने फर्किने बिद्यार्थीको संख्या शैक्षिक संस्था बन्द भएपछि हवात्तै बढेको स्थानीय सुनिता यादव बताउँछिन्।
कञ्चनकी हजुरआमा ६४ वर्षीया कुशमीदेवी रजकले भनिन्, ‘पहिले पहिले कमण्डलुमा दूध लिएर आउँथे, लिटरले नापेर बेच्थे, त्यतिबेला दूध पुर्याई देभन्दा पनि कोही नातिनातिना मान्दैन्थे।’ ‘उनीहरूलाई कमण्डलु र लिटर बोक्न लाज लाग्थ्यो।’ रजकले थपिन, ‘अहिले एक लिटरको बोतलमा दुध नापी नापी झोलामा हालेर दिने गरेकी छु।’ ‘जाने साधन साईकल भएपछि जाऊ न भन्नै पर्दैन, आफै म जान्छु भनेर अघि सर्छन्’ रजकले बताइन्।
उनका अनुसार नातिनीहरुले पनि दुधको ब्यापार कसरी गर्ने भन्ने सिकिरहेका छन्। उनलाई त्यो भन्दा बढी खुशी बुढेसकालमा काममा सहारा बनिदिएकोमा लागेको छ। उनी भन्छिन्, ‘सधैं दुध पु¥याउन जाँदा प्रहरीसंग कसरी छलेर साइकल छिटोछिटो हाँक्छन् र घर घरमा के के भन्छन् भन्ने कुरा फुर्तिसाथ सुनाउँदा उनीहरुको चलाखी देखेर आजकालका केटाकेटी कति बाठा भएछन् भन्ने लाग्दछ।’
सप्तरी जिल्लामा गाईभन्दा बढी भैंसी पालन गरेर किसानहरूले दूध बिक्री गर्दै आएका छन् । कति परिवार त दुई छाक टार्न भैंसीमा नै निर्भर रहेका छन्।राजविराज नगरपालिका –२ की लिला मण्डलले भनिन्, ‘गाईको दूधभन्दा भैंसीको दूध स्वादिलो र मीठो हुने भएकोले सप्तरीमा भैंसीको दुधको माग बढि छ ।’
लामो समयदेखि भैंसी खरिदविक्रिमा लागेका रामप्रसाद यादवका अनुसार भैंसीले कति लिटर दूध दिन्छ, त्यही अनुसार मुल्य तोकिने गरेको छ । सालाखाला यहाँ ५०÷६० हजार रुपैयाँदेखि १ लाख ५० हजारसम्ममा भैंसी खरिदबिक्री हुँदै आएको यादवले बताए ।
सप्तरी जिल्लामा खपत हुने दूधमध्ये ८० प्रतिशत गाई, भैंसीको नै रहने गरेको छ । प्याकेटको दूध २० प्रतिशत मात्र बिक्रीवितरण हुदै आएको राजविराज नगरपालिका –२ की ६५ वर्षिया मीना देवले बताइन् ।
दैनिक दूध उठौना गरेर खाने गरेकी उपभोक्ता रूबी कर्ण ले भनिन् ,‘पहिले–पहिले उपभोक्तालाई बोतल दिने र उनीहरूले आफै आफ्नो भाँडोमा दुध खनाएर बोतल फिर्ता गर्थें ।’ ‘कोरोनाका कारण अहिले दुध लिने उपभोक्ताहरूले दिएको भाँडो भूईमा राख्न लगाएर वा हातमा राखेपनि दूध व्यापारीहरूले आफ्नै हातले बोतलबाट ग्राहका भाँडोमा खन्याएर भौतिकदुरी कायम गरिरहेका हुन्छन् ।’
राजविराजको शहरीकरणसंगै नगरपालिको वडा नं.७ मा लाग्ने हटियाको पूर्वउत्तर कुनामा सधैं विहान र बेलुका दुध बेच्ने मानिसहरु लाम लागेर बसेका हुन्थे ।
हटियामा दूध बेच्न गाउँ–गाउँबाट स–सना व्यापारीहरू खपरी ( दूधराख्न बनाईएको माटोको भाँडो, स्टिलको कमण्डलुमा दूध लिएर नाप्नका लागि लिटर संगै बोकी आउँथे । दूध किन्ने ग्राहकहरू दूध किन्न भाँडो बोकेर आउँथे दूध हेरेर आफुलाई मन लागेको दूध चाहिने जति किनेर लाने गर्थे ।
दिनहू हटियामा दूध किन्न जाने गरेकी मिरा गुप्ता भन्छिन्, ‘यहाँ बेच्न आएको दुधको मूल्य दुधको शुद्धताको आधारमा ब्यापारी र ग्राहक बीचको सम्झौतामा तोकिने र खरिदबिक्री हुने गरेको छ ।’
गुप्ताका अनुसार घरमा दिन आउने दुधको मूल्यमा एकरूपता हुन्छ । बजारमा बेच्न आउने दुधको मुल्य शुद्धताको आधारमा २५ रुपैयाँदेखि ५० रूपैयाँसम्ममा आधा लिटर दूध पाउँदा क्षमता अनुसार सबैले खान सक्क्छन् ।
साकाहारीको बाहुल्यता रहेको समाजमा दुधको खपत बढी हुने गरेको छ । विहान बेलुका भीड लाग्ने राजविराजको दूध बजार कोरोनाको कारण बन्द भएको छ । दूध बजार बन्दले गर्दा ग्राहकलाई दूध खोज्न र दुध व्यापारीलाई उत्पादित दूध बेच्न सकस भएको छ ।
(सञ्चारिका समूह, नेपाल )
Facebook Comment