गणतन्त्र विरुद्ध मतदान गर्ने सभासदको अनुभव : कतिबेला कुटिन्छौं भन्ने लागिरह्यो

डिसी नेपाल
१५ जेठ २०७८ ११:३२

काठमाडौं। २०६५ जेठ १५ गते राति देशबाट राजतन्त्र समाप्त हुँदै गर्दा ६०१ जना सभासद मध्ये ४ जना सभासदको मन अमिलो बनेको थियो। उनीहरु कुनै ‘अभियुक्त’ जस्ता देखिएका थिए। तर पनि अन्तिम समयसम्म उनीहरुले राजतन्त्र जोगाउनका लागि लडिरहे। र गणतन्त्रको विपक्षमा मतदान गरे।

यी थिए तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ४ जना सभासदहरु। सो पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट पराजित भएका थिए। संविधानसभामा रहेका चारैजना सभासद समानुपातिक प्रणालीबाट निर्वाचित थिए।

चन्द्रबहादुर गुरुङ, कुन्ति शाही, रामनारायण सिंह र बबिता मोक्तान राप्रपा नेपालका समानुपातिक सभासद थिए। उनीहरु चारैजनाले राजतन्त्रको पक्षमा संविधानसभाको पहिलो बैठकमा मतदान गरेका थिए।

यसरी सो दिन गणतन्त्रका विपक्षमा मतदान गर्ने मध्येकी एक कुन्ती शाहीले त्यसदिनको स्मरण डिसी नेपालसँग गरेकी छन्। उनकै भनाइः

नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको पनि आज १३ वर्ष भएछ। राजतन्त्रको अन्त्य नेपाली राजनीतिक दलको कुनै पनि आन्दोलनको नारामा समावेस गरिएको थिएन। हामीले सनातन धर्म गुमाउनु पर्यो। त्यो पनि कुनै पनि राजनीतिक दलको नारा थिएन।

राति १२ बजे जनता सुतेको अवसर पारेर संसद भवनलाई आफ्ना कार्यकर्ता भनिने भारेभुरेबाट घेर्न लगाएर गणतन्त्रको घोषणा भयो। जनताका बीच कुनै पनि सल्लाह नगरेर गणतन्त्रको घोषणा गरिएको थियो।

२०६५ जेठ १५ गते हामी विहान ११ बजे संसद भवन छिरेका थियौँ। संसदीय दलका नेता चन्द्र बहादुर गुरुङसहित हामी ४ जना संसद भवनमा रही नेपालमा गणतन्त्र हुनु हँुदैन भन्नेमा भोट गर्यौँ। राजतन्त्रको पक्षमा मतदान गरेका थियौं। हामीलाई बोल्न दिइएको थिएन। बिहानदेखि रातिसम्म पटकपटक संसद स्थगित र पुनः संचालन भइरह्यो।

हामीलाई आफ्नो विचार राख्ने ठाउँ दिएनन्। बल्ल बल्ल सयम पाएर बोल्न थालेपछि संसद भवन भित्र नै तत्कालीन नेकपा माओवादीका सांसदहरुबाट अपाच्य गाली गलौच भयो। अहिले त्यो गालीलाई मैले न तपाईँलाई सुनाउन सक्छु न त संसद रेकर्डमै रह्यो होला।

मलाई त के लाग्छ भने हामीले राजतन्त्रका लागि गरेको मतदान, राजतन्त्र पक्षमा राखेका आफ्ना बिचारहरुलाई पनि जनताको माझा जान दिइएन। हामीले बोल्दै गर्दा टिभीमा पनि देखाइएन। संसद भवन भित्र हाम्रो आवाज सुन्ने कोही पनि थिएन। तर, पनि हामीले बोलिरह्यौं, आफ्नो बिचारलाई राखिरह्यौँ।

मतदानपछि संसदीय दलका नेता गुरुङले गाडी चलाउनु भयो। हामी बाहिर निस्कन थाल्यौं। संसद भवन घेर्न गएका ती पार्टीका कार्यकर्ताले हामीलाई कुटपिट गर्नु पर्छ भन्ने आवाज उठाइरहेका थिए। संसद भवनभित्र आफ्नो बिचार राख्दा पनि त्यो छनक नआएको भने हैन। तैपनि हामीले आफ्नो ज्यानको प्रवाह नगरी नगरी राजतन्त्रको पक्षमा बिचार राख्यौं र भोट हाल्यौं।

राति घर फर्कने बेला पनि हामी एकदमै त्रासका साथ फर्केका थियौं। हामीलाई कतिबेला कुन समूहले कसरी कुट्छ, हामी कतिबेला कुटिन्छौं भन्ने डर लागिरहेको थियो।

संविधानभन्दा माथि नजाने राजाको परिकल्पना हामीले गरेका थियौं। जनताको छोरोले राज्य गर्न पाउने, राजालाई संविधानभित्र राख्ने गरी संवैधानिक राजातन्त्र बचाउने कुरा गरेका हौं।

सडकमा लाइएका नारा, राजतन्त्र फाल्ने बेला जनतालाई बाँडिएको आश्वासन केही पनि पुरा भएको देखिँदैन। आज १३ वर्ष पुग्दै गर्दा जनताको दुःख जहाँको त्यहीँ छ। जनतामा निराशा बाहेक केही पनि देख्न पाइएको छैन। जनतामा भएको गरिब र धनिको खाडल अझै गहिरिँदै गएको छ।

आफ्नै आँखा अगाडि जुत्ता लगाउन नसक्नेहरुले महल ठड्याएका छन्। देशमा राजनीति गर्ने भन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरु छन्। नेताहरुले राजनीति भन्दा भ्रष्टाचार गरेर आफूलाई र आफ्नालाईमात्र बनाइरहेको जगजाहेर छ।

डरलाग्दो र अति संकटपूर्ण परिस्थितिमा राजतन्त्रको पक्षमा मतदान गरेका थियौं। आज हरेक नेपालीले राजतन्त्रको औचित्यको अनुभूति गरिरहेको छ। जनताले आफ्नो स्थितिमा परिवर्तन नपाएपछि राजतन्त्रको अपेक्षा गर्नु स्वभाविक भएको छ।

अझै पनि राजनीतिक दलहरुले जनतामाथि गरेको गद्दारीलाई स्वीकार गरेर जनतासँग माफी माग्दै राजतन्त्र पुनस्र्थापनाको पहल गर्नु आवश्यक छ।

(कुराकानीमा आधारित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *