फुटको संघारमा जसपा, ठाकुरले स्पष्टीकरणको जवाफ नदिने

डिसी नेपाल
१७ जेठ २०७८ ७:५८

काठमाडौं। एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोधेर फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन्।

पार्टी एकताका लागि लचकता अपनाउने बताएका ठाकुरले बाबुरा भट्टराई र उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका हुन्। ‘ प्रथम अध्यक्षलाइ द्वितीय अध्यक्षले स्पष्टीकरण साेध्ने चलन कहाँ छ’, ठाकुर निकट एक नेताले भने, ‘उहाँहरूले साेधेकाे स्पष्टीकरणकाे कुनै औचित्य छैन ‘

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण पत्रमा चित्त बुझ्दो जवाफ नदिए पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिइएको थियो।

यादव पक्षले आफूसँग कार्यकारिणीमा बहुमत रहेको दाबी गर्दै आएको छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा आफ्नो पक्षमा ३० जना रहेको दाबी गर्दै आएको छ। तर सांसद भने ठाकुर पक्षमा बहुमत छन्। विघटित प्रतिनिधिसभामा ३२ जना सांसद मध्ये ठाकुर पक्षसँग २० जना रहेका छन्।

ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए। दुवै पक्षले स्पष्टीकरण सोध्न थालेपनि जसपा फुटको संघारमा पुगेको छ। अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष वर्तमान सरकारले मधेसको माग सम्वोधन गरिरहेको भन्दै वर्तमान सरकारमा सहभागी हुने तयारीमा छ भने भट्टराई र यादव भने ओली सरकार बर्हिगमनको पक्षमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *