अर्थतन्त्रलाई उकास्ने हो भने ठूलै बजेट ल्याउनु पर्छ : पूर्व गभर्नर डा.रावल

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जुन गत वर्षको भन्दा यो बजेटको आकार बढेको छ। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो।
गत शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को बजेट आगामी साउन १ गतेदेखि लागू हुनेछ। अहिले सोही बढेको बजेटको आकारलाई लिएर पक्ष विपक्षमा धेरै चर्चा परिचर्चा हुने गरेको छ।
कोरोना संक्रमणको यो नाजुक अवस्थामा पनि बजेटको आकार बढेको भन्दै कसैले आपत्ति जनाएका छन् भने कसैले यो समयमा बजेटको आकार बढाएर सरकारले राम्रो गर्यो भनिराखेका छन्।
कुनै पनि विषयको पक्ष विपक्ष अर्थात् राम्रो नराम्रो त हुन्छ नै। त्यसैले बजेटसम्बन्धमा विशेषत आर्थिक क्षेत्रका व्यक्तिहरुको धारणा बुझ्न डिसी नेपालले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.तिलक रावलको भनाइलाई समेटेको छ।
चुनाव घोषणा भएको र राजनीतिक मुद्दा मामिला चलिराखेको समयमा बजेट आउने कि नआउने भन्ने भइराखेको स्थितिमा आएको बजेटलाई डा.रावलले सकारात्मक भएको बताएका छन्। संसद जिवित रहेको बेलामा संवैधानिक व्यवस्थामा जेठ १५ गते बजेट सार्वजनिक गर्नैपर्ने भएपनि अहिलेको स्थितिमा के हुन्छ भन्ने कैतुहलताबीच बजेट आएर ठिक गरेको उनले बताए।
‘पूर्ण बजेट आउने कि नआउने, ल्याउनु हुँदैन, ल्यायो भने पनि काम चलाउने किसिमको मात्रै ल्याउनु पर्छ। चालु आर्थिक वर्ष सकिएको केही महिना बाँकी पछि ल्याउदा पनि हुन्छ भन्ने जस्ता कुराहरु थिए,’ उनले भने, ‘तर मलाई बजेट त ल्याउनै पर्छ भन्ने थियो। किनभने म पहिला संविधानसभामा हुँदाखेरी बढो दुरदशा देखेको छु। कात्तिक मंसिरसम्म पनि बजेट नटुंगिने। खासगरी डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरी यस्ता समस्या धेरै आएका थिए। हामीले त्यहि भोगेको हुनाले जेठ १५ को व्यवस्था भएको हो। मलाई त यो बजेट ल्याउनै पर्छ जस्तो लाग्थ्यो, आयो पनि।’
डा.रावलले बजेट ठूलो आएको र बजेटले धेरै कुराहरु समेटेको बताएका छन्। आफूले बढीमा १५ खर्बको नभए पनि त्यो भन्दा कमको बजेट आउने सोचाई राखेको बताउँदै उनले भने, ‘तर बजेट ठूलो आयो र यसले धेरै कुरा गर्न खोजेको छ। सामाजिक सुरक्षामा ३३ प्रतिशतको वृद्धि भएको छ। तल्लो वर्गलाई पनि राहत दिने खालको ठूलो बजेट आएको छ।’
यो अप्ठ्यारो स्थितिमा धेरै कुरामा ध्यान दिनुपरेको हुनाले अर्थमन्त्री पौडेलजी र सम्मानीय प्रधानमन्त्रीज्यूले भने जसरी साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो होला कि। तर बजेटमै साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर आशा गरिएको छ। अब त्यति पनि गर्न सके धेरै राम्रो हुन्थ्यो भन्ने मेरो भनाइ हो।
आफू पनि ठूलै आकारको बजेट ल्याउनु पर्छ भन्ने पक्षको मान्छे भएकोले सरकारले पनि ठूलै बजेट ल्याएकोमा राम्रो लागेको बताउँदै उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई ठूलै चोट लागिसकेको छ। धेरै उद्योग व्यवसायहरु संकटमा छन्। पहिलो कोरोनाको लहरले धेरै असर पारिसकेको थियो। अहिले दोस्रोमा झन विपत्तको समस्या भयो। अझ यो बेला सरकारले राहतका राम्रा कुराहरुलाई ल्याएर अर्थतन्त्रलाई उकास्ने, राम्रो गति लिनेतर्फ लाग्नु पथ्र्यो।’
चुनाव घोषणा भएको र राजनीतिक अस्थिरता भएको बेलाको यस कर्णप्रिय बजेट केहीमात्रामा कनिका छराई भयो कि जस्तो लागेको बताउने डा.रावल साधारणतया कोरोना संकटको बेला नभएको भए बजेट त ठूलै ल्याउनु पर्ने पक्षमा आफू रहेको बताए।
उनका अनुसार प्रस्तुत बजेटमा धेरै कुराहरु गर्न खोजिएका छन्। तर, अर्थतन्त्रलाई खास उकास्नको लागि ठोस प्रयत्न भएको हुनुपथ्र्यो र धेरै कुराहरुलाई छोडेर दुई चारवटा कुराहरुमा केन्द्रित भएर काम गर्नु पथ्र्यो जस्तो आफूलाई लागेको उनले बताए।
उनका अनुसार प्रस्तुत बजेटले चाइना, अमेरिका, भारतलगायत देशले गरे जस्तै खास (प्रभावकारी) प्याकेज ल्याउनु पथ्र्यो। उनले भने, ‘चाइनाबाट कोरोना सुरु भएको हो। तर अहिले चाइनामा अर्थतन्त्र पनि उक्सिन थालेको छ। चाइनाले कोरोनालाई पनि नियन्त्रणमा राख्यो। र, यो वर्षको पहिलो चौमासिकमा नै त्यहाँको अर्थतन्त्र १८.३ प्रतिशतले अगाडि बढेको छ, अर्थतन्त्र माथि गइराखेको छ।’
डा.रावलका अनुसार अन्य देशले गरे जस्तै नेपालमा पनि धेरै नै नराम्रो स्थिति भोगिराखेका साना र मझौला उद्योगी, व्यवसायीहरुको लागि विशेष प्रबन्ध हुनुपथ्र्यो।
उनले भने, ‘साना व्यवसायीका लागि प्रभावकारी प्याकेज ल्याउनु पथ्र्यो। चाइनाले ल्यायो, अमेरिका र भारतले उद्धार गर्नलाई प्याकेज ल्याइराखेका छन्। हाम्रोमा त्यस्तो ठोस प्याकेज चालु आर्थिक वर्षमा पनि देखिएन। बरु अहिले केही गर्न खोजेको जस्तो देखिन्छ तर पुगेन कि जस्तो लाग्छ। त्यसैले यत्रतत्र बजेट छर्नुभन्दा अर्थतन्त्रतर्फ बढी ध्यान दिएर देशको आर्थिक वृद्धिदरलाई अगाडि बढाउने या उकास्ने प्रयत्न गर्नु पथ्र्यो।’
अर्थतन्त्रलाई चलायमान गर्न ठूलो बजेट ल्याउनु पर्नेमा जोड दिने डा.रावलले बजेटसम्बन्धमा अर्थमन्त्री पौडेलले धेरै झुक्याउने, गफ गर्ने कुरा गर्नु भए जस्तो आफूलाई नलागेको बताए।
उनले भने, ‘पहिला पहिला अर्थमन्त्री, मन्त्री र प्रधानमन्त्रीहरुलाई समेत पनि भन्न लगाएर यो आर्थिक वर्षमा सात प्रतिशत वृद्धिदर हुन्छ भन्ने गरेका थिए। तर, पौडेले त्यो कुरा भन्नु भएन र साढे छ प्रतिशतको पनि आर्थिक वृद्धिदर होला नहोला भनेर विचारा दुविधामा हुनु भयो। उता कोरोनाको मारले हाम्रो अर्थतन्त्रलाई धेरै नै कठिन अवस्थामा लगेको छ।’
विपक्षीहरु प्रस्तुत बजेटप्रति असन्तुष्ट छन् नि?, भन्ने प्रश्नमा डा.रावलले भने, ‘प्रजातन्त्रमा पक्ष र विपक्ष भन्ने भइहाल्छ। विपक्षहरुले त्यस्तो भन्नु स्वभाविकै हो। धेरै वितरणमुखी, कनिका छराई भयो भन्नु हुन्छ उहाँहरुले। हामी जस्ता स्वतन्त्र अलिकति राजनीतिक नजान्ने, कम लेखपढ गरेका मान्छेलाई पनि त्यस्तो हो जस्तो लाग्छ। यो बजेटलाई कसरी धान्ने भन्ने होला । तर कर, राजश्वबाट १० खर्ब उठ्नेवाला छ। आन्तरिक ऋणबाट २५० अर्ब, बाह्य ऋणबाट तीन सय अर्ब, अनुदानबाट ६२–६३ अर्ब उठ्छ। अर्कोतिर हेर्ने हो भने बाहिरको स्थिति पनि त राम्रो छैन। र, चालु आर्थिक वर्षलाई हेर्ने हो भने पनि जति बाह्य ऋणको आश गरेका थियौं त्यो अनुरुप आइराखेको पनि छैन।’
देशको अर्थतन्त्र समृद्ध हुन नसकेको अहिलेको स्थितिमा अर्थतन्त्रलाई उकास्ने हो भने ठूलो बजेट ल्याएर दुई चार ठाउँमा केन्द्रीत भएर अर्थतन्त्रलाई अगाडि बढाउन जोड दिनुपर्छ भन्दै उनी थप्छन्, ‘यो अप्ठ्यारो स्थितिमा धेरै कुरामा ध्यान दिनुपरेको हुनाले अर्थमन्त्री पौडेलजी र सम्मानीय प्रधानमन्त्रीज्यूले भने जसरी साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो होला कि। तर बजेटमै साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर आशा गरिएको छ। अब त्यति पनि गर्न सके धेरै राम्रो हुन्थ्यो भन्ने मेरो भनाइ हो।’
यस वर्ष देशको आर्थिक मामलाका कुरा गर्दा कुनैपनि प्रधानमन्त्री, अर्थमन्त्रीलाई दोष दिने अवस्था नरहेको भन्दै उनले भने, ‘हामी सबैले बुझेकै कुरा हो, यो बर्षदेखि अर्थतन्त्रको स्थिति राम्रो छैन। अहिले हाम्रो व्यापार घाटा भएर धान मकै, कोदो, गहुँ, सागसब्जी आदि सब चिज किनेर खाइराखेका छौं।’
उनले अहिलेको बजेटमा अर्थमन्त्री पौडेलले अब पाँच वर्षभित्रमा धानमा आत्मनिर्भर हुने, गहुँमा तीन वर्ष, दुध र अन्य सागसब्जीमा दुई वर्ष आत्मनिर्भर हुने भनेको कुरा राम्रो रहेको बताए। उनका अनुसार उत्पादनमा वृद्धि भयो भने राग, सब्जीलगायतका खाद्यान्न अन्य देशबाट किनेर खानु पर्दैन थियो र व्यापार घाटा घट्थ्यो।
यो बजेटमा विद्युतीय गाडीमा भन्सार घटाएर सरकारले धेरै राम्रो गरेको उनले बताए। डा.रावलले भने, ‘राम्रो कुरा विष्णु पौडेलले के गर्नु भयो भने उहाँका अग्रज डा.युवराज खतिवडाले विद्युतीय कारमा भन्सार बढाइदिनु भएको थियो । त्यतिबेला धेरै विवाद भयो। गगन थापालगायत सांसदहरुले हाउसमै त्यो विषय उठाए । राजीनामा दिनुपर्छ भन्ने सम्मको माग गरे। भ्रष्टाचार भयो भन्ने कुराहरु लेखियो। र, त्यही बेला बजेट आउनु भन्दा अगाडि दजनौं त्यस्ता गाडीहरु एउटा व्यापार गिरोहले भित्र्याइसकेको रहेछ। त्यसरी खतिवडाले भन्सार बढाउन खोज्दाखेरी सबै अचम्मित थिए। विश्व एकातिर जान खोजिराखेको छ हामी अर्कोतिर जान खोजिराखेको जस्तो भएको थियो। अहिले पौडेलजीले चाहीँ त्यसमा घटाइदिएर राम्रो गर्नु भयो।’
त्यस्तै, डा.रावलले अगाडी र अहिलेको बजेटको तुलना गर्दै भने, ‘त्यो बेला महङ्गा चकलेट आयातमा भन्सार घटेको थियो, अहिले त्यस्ता चकलेटमा पौडेलजीले बढाइदिनु भएको छ। त्यो पनि राम्रो गर्नु भएको छ। अनि विद्युतीय कारहरुका लागि सुविधाहरुको व्यवस्था गर्नेतर्फ पनि उहाँले ध्यान दिएको देखे।’
डा.रावलले समग्रमा बजेट राम्रो आएको भन्दै आफूले यो बजेटका बारेमा सुझाव दिन पाएको भए अर्थतन्त्रलाई गतिदिने कामलाई विशेष प्राथमिकतामा राख्न लगाउने र अन्य कुरातर्फ भने त्यति ध्यान नदिने लगाउने बताए।
Facebook Comment