लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनः काँग्रेसका पाण्डेय ५ सय मतभारले अगाडि
काठमाडौं। राष्ट्रिय सभाको रिक्त एक सिटका लागि लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ। ३ सय मतदानता रहेकोमा २९७ जनाले मतदान गरेका छन् भने ३ जना अनुपस्थित भएका छन्। लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणना सकिएको छ।
खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेयले ११८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का ९३ मत पाएका छन्। स्थानीय तहका मतदाताको मतभार १८ हुन्छ। जसअनुसार पाण्डेयको मतभार २१२४ र खड्काको १६७४ हुन्छ।
अब प्रदेश सभा सदस्यको मतगणना हुँदैछ।
चुनावमा एमालेका चन्द्रबहादुर खड्का र काँग्रेसका दृगनारायण पाण्डेयबीच प्रतिस्पर्धा हुँदैछ। काँग्रेसका पाण्डेयलाई माओवादी, जसपा र जनमोर्चाको सहयोग छ। एमालेका खड्कालाई पनि जसपाको महन्थ ठाकुर समूहको समर्थन रहेको छ।
खड्काकै कारण सो पद रिक्त भएका हो। यसअघि माओवादीबाट निर्वाचित उनी एमालेमा गएपछि पार्टीले कारबाही गरेको थियो। पार्टीको कारबाहीपछि उनी पदमुक्त भएका थिए। त्यसपछि एमालेले खड्कालाई नै उम्मेदवार बनायो।
उता काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेय पनि लुम्बिनी प्रदेशसभामा एमालेबाट निर्वाचित हुन्। तर, उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।
Facebook Comment