एमाले विवादको प्रभावः ४ चुनावमा पराजित, दुई प्रदेशमा सरकार बनाउने प्रयास असफल

डिसी नेपाल
१७ जेठ २०७८ १७:००

कामामाडौं। गत फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेकपा विवाद एमालेमा सर्‍यो। अहिले एमाले फुटेको घोषणा हुनमात्र बाँकी छ। पार्टीका महत्वपूर्ण ४ जना नेताहरुलाई एमालेले पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिसकेको छ। वरिष्ठ नेता  माधव नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खानलाई पार्टीबाट निष्कासन गरिएको छ।

यसरी पार्टीमा विवाद भइरहेका बेला पार्टीको चुनाव चिन्हसहितका दुई वटा निर्वाचन भएका छन् भने अन्य पेशागत पनि दुईवटा निर्वाचन भएका छन्। र यी चारवटै निर्वाचनमा एमालेका उम्मेदवार र एमाले निकट उम्मेदवारहरु पराजित हुन पुगेका छन्।

एमाले ब्युँतिएपछि सबैभन्दा पहिला सामूदायिक रेडियो प्रसारक संघ (अकोराब)को महाधिवेशन भयो। अकोराब स्थापनाकालदेखि नै एमाले निकटको नेतृत्वमा थियो। तर, यो पटक एमालेको विवादको फाइदा काँग्रेस निकटका उम्मेदवारलाई भयो।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट समूहले फागुन २७ मा अकोराबको अध्यक्ष, महासचिबसहित बहुमत सदस्य काँग्रेस निकटका उम्मेदवारलाई बनाउन सहमति जनाएपछि माधव समूहको केही लागेन। अकोराबमा पहिलो पटक काँग्रेस निकट अर्जुन गिरी अध्यक्ष बने। देशभरका सामूदायिक रेडियोको छाता संगठनमा एमालेले पहिलो पटक आफ्नो वर्चस्व गुमायो।

यसपछि वैशाख २५ मा नेपाल पत्रकार महासंघको चुनाव भयो। यो चुनाव हरेक साधारण सदस्यले मतदान गर्न पाएको पहिलो चुनाव थियो।

विगत तीन कार्यकालदेखि पत्रकार महासंघमा काँग्रेस निकट पत्रकारले नेतृत्व पाउन सकेका थिएनन्। ३ मध्ये दुई कार्यकाल एमाले निकट पत्रकारले नेतृत्व गरे भने एक कार्यकाल माओवादी निकट पत्रकाले नेतृत्व गरे।

एमालेमा विवाद भएको फाइदा यो पटक काँग्रेस निकट पत्रकाले उठाए। र एमालेकै एक समूह माधव नेपाल समूहको सहयोगमा केन्द्रदेखि प्रदेश र जिल्लाहरुमा पनि काँग्रेस निकट पत्रकारहरुको वर्चस्व कायम भयो।

एमालेको ओली समूहले निर्मला शर्मालाई उम्मेदवार बनाएको थियो भने माधव समूहले कााग्रेस निकट विपुल शर्मालाई समर्थन जनायो। जसले गर्दा यो गठबन्धनले देशभर जित हात पार्यो। यहाँ पनि एमालेको आन्तरिक विवादले नतिजामा प्रभाव पार्यो।

त्यसपछि राष्ट्रियसभामा दुईवट सिट रिक्त भए। तत्कालिन माओवादीबाट निर्वाचित रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का दल त्याग गरेर एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त भएको थियो। रिक्त पदमा भएका दुबै उपनिर्वाचनमा एमाले उम्मेदवारहरु पराजित हुन पुगेका छन्।

बागमती प्रदेशमा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादल स्वतन्त्र उम्मेवार डा. खिमलाल देवकोटासँग पराजित भए भने लुम्बिनीमा सोमबार भएको निर्वाचनमा एमाले उम्मेदवार चन्द्रबहादुर खड्का काँग्रेस उम्मेदवार दृगनारायण पाण्डेयसँग पराजित भए।

बागमतीमा एमाले एक ढिक्का हुँदा उसको सबैभन्दा धेरै मत थियो। तर, पार्टीको विवादका कारण मत एकढिक्का हुन सकेन। पार्टीका उम्मेदवार पराजित हुन पुगे। लुम्बिनीमा पनि एमाले एक ढिक्का भए एमाले उम्मेदवारले जित्ने परिस्थिति बन्न सक्थ्यो। तर, पार्टीका उम्मेदवार पराजित भए।

यतिमात्र होइन, एमालेको एकल बहुमत रहेको कर्णाली प्रदेशमा पनि एमालेले सरकार बनाउन सकेन। पार्टीको आन्तरिक विवादकै कारण एमालेका ४ जना सांसदहरुले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाइदिए। उता सुदुरपश्चिम प्रदेशमा पनि सबैभन्दा ठूलो दल भए पनि एमालेले सरकार बनाउन सकेको छैन। पार्टीमै विवाद भएकाले त्यहाँ पनि माओवादी नेतृत्वको सरकार जोगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *