मलेसियामा लकडाउन, नेपालीलाई सुरक्षित रहन आग्रह
काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । मलेसियामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि मंगलबारदेखि १४ दिनसम्मको लागि त्यहाँको सरकारले देशव्यापी रुपमा पूर्ण लकडाउन, तालाबन्दी लगाइएपछि नेपाली दूतावासले यस्तो आग्रह गरेको हो ।
केही दिनअघि मलेसियाका प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले यही जुन १ देखि १४ तारिखसम्मको लागि अतिआवश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमित क्रमशःबढ्दै गइरहेकाले थप स्वास्थ्य संकट आउन नदिन अर्थात् संक्रमणलाई नियन्त्रण गर्न त्यहाँको सरकारले देशैभरि पूर्ण रुपमा लकडाउन गरेको हो ।
त्यसैगरी, त्यहाँ रहेको नेपाली दूतावासका अनुसार नेपालीहरुको लागि अत्यावश्यक र कन्सुलर सेवाको निम्ति दूतावास बिहान १० देखि दिउँसो ३ बजेसम्म खुल्ने छ । साथै, अप्ठ्यारोमा परेका नेपालीहरुका लागि मलेसियाबाट नेपालका निम्ति हवाइ उडान खुलाउनसमेत दूतावासले पहल गरिरहेको जानकारी गराएको छ ।
Facebook Comment