सिन्धुपाल्चोकमा एक महिलाले छोरी जन्माएकै कारण गुमाउनु पर्यो ज्यान, छानबिन गर्दै आयोग
काठमाडौं । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले छोरी जन्माएकै कारणले ज्यान गुमाउनु परेको छ । विवाह गरेको केही दिनदेखि नै श्रीमानको दुर्व्यवहार सहँदै आएकी २९ वर्षीया स्वस्थानी कुँवर गत जेठ ६ गते बेलुका करिब ७ बजे घर नजिकैको मकैबारीमा झुण्डिएको अबस्थामा फेला परेकी हुन् ।
विवाहको सुरुका दिनदेखिनै श्रीमान र घरपरिवारको दुर्व्यवहार सहँदै आएकी उनले माइतीलाई सो दुर्व्यवहारबारे जानकारी गराए पनि माइती पक्षका परिवारले सम्झाइ बुझाई घरै पठाउँदै आएका थिए । पहिलो सन्तान छोरी भएको र दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि श्रीमानबाट झन अपहेलित हुँदै आएकी स्वस्थानीले अन्ततःज्यानै गुमाइन् ।
स्वस्थानीको मृत्युपछि भने उनका बुबा तेजबहादुर थापाले सिन्धुपाल्चोकस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, चैतारा साँगाचोकगढी नगरपालिकामा निष्पक्ष छानबिनका लागि निवेदन दर्ता गरेका थिए । तर, ती सम्बन्धित निकायले गत जेठ ११ गते गरेको फैसलामा कुनैपनि प्रकृतिको यातना तथा हिंसा नभएको उल्लेख गरिदिएपछि मृतकका बुबा थापालगायतले राष्ट्रिय महिला आयोगमा निष्पक्ष छानबिन गर्न माग गर्दैै निवेदन हालेका छन् । र, दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।
महिला आयोगमा परेको सोही उजुरीका आधारमा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, उपसचिव पुष्पराज कट्वाल, शाखा अधिकृत वर्षा ढकाललगायतको टोलीले यही जेठ ११ गते सिन्धुपाल्चोक गएर घटनाको निष्पक्ष छानबिन गर्न लागिपरेको छ ।
साथै, आयोगको टोलीले माईती पक्षका बुबा, आमा, दाई, भाउजु गरी १५ जनासँग घटनासम्बन्धमा सोधपुछ गरी विवरण लिने कार्य गरेको छ । त्यस्तै, मृतकको घरपक्षका सासु, ससुरा, छोरीलगायत छरछिमेक गरी करिब १० जनासँग सोधपुछ तथा छलफल गरेको छ । र, स्वस्थानिको लाश भेटिएको स्थलको समेत अवलोकन गरेको छ ।
यसबारेमा आयोगका सदस्य खतिवडाले दिएको जानकारी अनुसार घटनाको सुक्षम अध्ययन गर्न आयोगले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।
Facebook Comment