उन्नत र सुसंस्कृत राजनीतिका पर्याय उज्वल थापा
काठमाडाैं। उज्वल थापासँगै जन्मेहुर्केको पुस्ता अहिले बेचैनीमा छ। अहिले देशमा जे भइरहेको छ यसैगरी र यस्तोमात्र भइरह्यो भने देश असफल राष्ट्रको सूचिको पनि पिँधमा पुग्ने खतरा छ। कार्यपालिकाले जनविश्वास गुमाएको छ। व्यवस्थापिकालाई लथालिंग बनाइएको छ।
न्यायपालिकाभित्र पनि अनेक किचलो खडा गरिएको छ। राज्य सञ्चालनका मुख्य तीन अंग नै कमजोर भैरहेको बेला भएको उज्वल थापाको असामयिक निधनले जनमुखि र सुसंस्कृत राजनीतिक बहस अर्थात ‘बैकल्पिक राजनीति’ मा समेत बिश्राम लाग्ने खतरा सिर्जना भएको छ।
सर्वविदित छ, अहिले राजनीति जनमुखी छैन। सरकार जनताका आधारभुत आवश्कयता पुरा गर्नबाट बिमुख छ। सीमित नेता र तिनका पिछलग्गुले राजनीतिलाई विकृत बनाएका छन्। दलीय नेतृत्व बिचौलिया र दलालको घेराबन्दीमा परेको छ।
राज्यका श्रोतसाधन माथिको दोहनले राजनीतिज्ञ दिनदिनै मोटाउँदैछन्। कमाइ खाने बर्गको घरमा चुल्हो निभ्ने जोखिम थपिँदैछ। आम्दानीको श्रोतहरु छैनन् न त थपिने आशा नै छ। ऋणबाट मुलुक चल्दैछ। विकास बजेट बर्षमा २० प्रतिशतजति खर्च हुन मुस्किल छ। सरकारको प्रशासनिक खर्च बढेको बढ्यै छ।
राजनीति केही भ्रष्ट कर्मचारी, नेता, कार्यकर्ता र व्यापारिक स्वार्थको चंगुलमा फसेको छ। राजनीति र अपराध छुट्याउन मुस्किल छ। नेतृत्वको संरक्षणमा दण्डहिनता मौलाएको छ। जिम्मेवारीबोध, जवाफदेहिता, नैतिकता र संस्कारको खडेरी छ। राजनीति साँच्चिकै फोहोरी भएको छ।
बैकल्पिक राजनीतिको बहस शुरु गरेर थापाले अहिले लोकतन्त्र वा गणतन्त्र जे भनिएपनि त्यसको आडमा भइरहेको विकृत राजनीतिक र शासन प्रणालीमा सुधार खोजेका थिए। के अबका दिनमा नेपालका राजनेता तथा बिभिन्न दलको झण्डामा राजनीति गर्ने युवा पुस्ताले उज्वलले कोरेको मार्गचित्र पछ्याउलान्? पछ्याइहाल्लान् भनेर पत्याउन मुस्किल छ तर आशा भने गर्न सकिन्छ।
उज्वल थापा राजनीतिको फोहोर सफा गर्न चाहान्थे। उनका अभिव्यक्ति र व्यवहारले अहिलेका तमाम बिसंगति र बिकृतीको बिकल्प छ भनि स्थापीत गर्ने उनको चाहाना प्रष्ट्याउँथ्यो। राजनीति पेशा हैन सेवा हो भन्ने सोचलाई व्यवहारमा उतार्न प्रेरणा मिलोस् भन्ने थापा आफैं एक उद्यमी थिए।
महंगो र बिलासी जीवनशैलीका नेता र कार्यकर्ताबाट वाक्क भएको नेपाली समाजमा सामान्य नागरिक भएर पनि राजनीति, जनसेवा गर्न सकिन्छ भन्ने कुरा भाषणमा हैन व्यवहारमा उतारेका थिए। बिभेद बिरुद्धका आन्दोलनमा उनको उपस्थिति अलग र बेजोडको हुन्थ्यो।
राजनीतिलाई उन्नत, जनमुखि र सुसंस्कृत बनाउन चाहने उज्वलको अभियानले नै बैकल्पिक राजनीतिको चिनारी बनाएको हो। शहरिया मध्यमबर्गका युवाहरुमा राजनीतिप्रति चासो बढाएको थियो।
धोखाधढी, जालझेल, हुलदंगा र अराजकतामा विश्वास गर्ने नेता र कार्यकर्ता हुन्जेलसम्म राजनीतिमा जिम्मेवारीबोध, नैतिकता र जवाफदेहिता गौण हुन्छ। अहिलेको राजनीतिको मुल समस्या यही हो। जसलाई परिवर्तन गर्न उज्वल अघि सरेका थिए।
केही कुरामा चित्त बुझेन की नेपाल बन्द गर्ने बिसंगती बिरुध्दमा थापा त्यत्तिकै उभिएनन्। यसले नेपाली समाजलाई आजित बनाएको थियो। आफ्ना गुनासा, प्रश्न, माग र चासो व्यक्त गर्दा अरुलाई दु:ख दिने विकृत चलन बिरुध्द खडा भएर उनले जोखिम मोले, नागरिकले साथ दिए।
गुनासा सुनुवाइको शान्तिपुर्ण बिकल्प हुन्छ भन्ने कुरालाई स्थापीत गर्न लागि परे। विवेकशील नेपाली दलको नाममा उनले शुरु गरेको राजनीतिक संस्कार र समाज सुधार अभियान यसैकारण पनि छिट्टै नै युवापुस्ताको मनमा बस्यो। किनकी उज्वल, उनको र उनी पछीको पुस्ताले अहिलेका बिकृती बिसंगती बन्द गरी नयाँ शुरुवात गर्न चाहन्थ्यो।
नेपालको राजनीतिमा अहिले पनि युवाहरुको एउटा जमात छ जुन काठमाण्डौको प्रदर्शनीमार्ग र रत्नपार्क वरपर र काठमाण्डौ बाहिरका केही प्रतिनिधि क्याम्पसबाट राजनीतिमा दिक्षित हुन्छ। तितो यथार्थ के हो भने त्यहाँबाट दिक्षित समूहले राजनीतिमा सिँढी उक्लिन सधैभरी उनै बासी तरिकाहरु बन्द, तालाबन्दी, चक्काजाम, तोडफोड र निषेधलाई मार्ग बनाएको छ। अहिलेसम्मको इतिहासले भन्छ यिनिहरु नै ढिलोचाँडो सत्तामा पुग्छन्।
अर्को युवा जमात जुन काठमाडाैं लगायत अन्य शहरमा जन्मेको, अंग्रेजी माध्यममा पढेको र बिशेषगरी नेपालमा पनि काठमाडाैं बिश्वविद्यालय वा यस्तै खाले शैक्षिक संस्थाबाट उच्च शिक्षा हासिल गरेको वा सकेसम्म बिदेशमा उच्च शिक्षा अध्ययन गरि नेपाल फर्केको हुन्छ।
युवाहरुको यो जमात राजनीतिमा कम चासो दिन्छ। चासो दिनेहरुले पनि यहाँको राजनीति गर्ने तौरतरिका र नेतृत्वलाई मन पराउँदैनन्। यो जमात राजनीतिबाट तर्किएरै बस्न रुचाउँछ। रोजगार सिर्जना, व्यवसाय र जिविकोपार्जन यो जमातका लागि मुख्य चासो रहि आएको छ।
विवेकशील नेपाली दलमार्फत उज्वलले परम्परागत राजनीतिक शैली र संस्कारबाट दिक्षित युवाहरुका अगाडि विकल्प प्रस्तुत गरे भने शहरिया युवाहरुको दिमागमा उन्नत र सुसंस्कृत राजनीतिको बिजारोपण गरिदिए। बर्षौं राज गरेका दलका खुंखार भनिने नेताहरुसँगको चुनावी प्रतिस्पर्धामा हिजोसम्म कसैले नामै नसुनेका युवालाई अगाडि सारे।
आफ्नै दलको युवा पंक्तिलाई राजनीतिमा अगाडि आउन नदिन अनेक तिकडम गर्ने वर्तमानका महसुर राजनीतिज्ञहरुसामु उज्वलले यसो गरेर सामान्य चुनौती मोलेका थिएनन्। थापाले आफुमात्र चुनौती मोलेनन्आ, आफुजस्तै र आफुपछिको युवापुस्तालाई यस्ता चुनौती मोल्न उत्प्रेरणा भरिरहे। विकल्प छ भनेर देखाइदिए।
स्वास्थ्य, शिक्षा तथा नागरिकका अन्य आधारभुत आवश्यकता पुरा गर्नबाट सरकार पन्छिन मिल्दैन भनेर खबरदारी गरिरहे। बैकल्पिक राजनीतिको बहस शुरु गरेर थापाले अहिले लोकतन्त्र वा गणतन्त्र जे भनिएपनि त्यसको आडमा भइरहेको विकृत राजनीतिक र शासन प्रणालीमा सुधार खोजेका थिए। के अबका दिनमा नेपालका राजनेता तथा बिभिन्न दलको झण्डामा राजनीति गर्ने युवा पुस्ताले उज्वलले कोरेको मार्गचित्र पछ्याउलान्? पछ्याइहाल्लान् भनेर पत्याउन मुस्किल छ तर आशा भने गर्न सकिन्छ।
Facebook Comment