किन पटक पटक स्थगित भैरहेको छ एमालेको स्थायी कमिटी बैठक?

डिसी नेपाल
१९ जेठ २०७८ १६:१२

काठमाण्डौ। आज बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजमात्र हैन यो साता यसअघि पनि एमाले स्थायी कमिटी बैठक बोलाउने र स्थगित हुने गरेको थियो। बैठक बोलाउने तर स्थगित गर्ने काम किन भइरहेको छ? के भइरहेको हो अहिले एमालेभित्र? के एमालेमा नेपाल र ओली समूह फेरी एकठाउँ बस्न खोजेका हुन्? समूहमा छुट्टाछुट्टै पार्टी सञ्चालन गरिरहेका नेताहरु एकै ठाउँ बस्न तयार हुने माहौल बनिरहेको हो? कार्यकर्तादेखि आम नागरिककाबीच यस्ता जिज्ञासाहरु उठिरहेका छन्।

एमालेभित्र पोहोरदेखि आन्तरिक संघर्ष चुलिएको छ। गुट उपगुट धेरै छन्। तथापी सतहमा पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच चुलिएको विवादले कार्यकर्ता पंक्तिमा बढी निराशा छाएको छ। विवाद टुंग्याएर अघि बढ्नु भनेको अब कि त एमाले फुट्नु पर्छ कि त समूहगत भेला र गतिबिधि बन्द गरेर एमालेको झण्डामा दुबै समूह गोलबन्द हुनुपर्छ। यसलाई पार्टी एकता भन्दा पनि समूहगत एकता भन्दा सहि सुनिन्छ।

भन्नलाई पार्टी एकताका लागि मार्ग प्रशस्त गर्ने, अन्तिमसम्म प्रयास गर्ने वा हदैसम्म लचिलो हुने जे भनिएपनि आजसम्म नेकपा एमाले फुटेर दुइटा पार्टी भएकै छैन। एमालेमा अध्यक्ष केपी ओली एकातिर र माधव नेपाल तथा अन्य नेता अर्कोतिर भएर गुट अनुसार गतिबिधि गरिनुलाई पार्टी फुटेको मान्न सकिन्न। त्यसैले अहिले भनिने गरेको एकता वार्ता भन्दा पनि दुइटा समूहलाई मिलाएर एक ढिक्का एमाले बनाउने प्रयास मात्र हो। कै यसैका लागि स्थायी कमिटीको बैठक स्थगित भैरहेको हो त?

एमालेका दुई खेमामा अहिले के पाकिरहेको छ भन्न कठिन छ। मिल्न नखोज्ने वा वातावरण बन्न नदिने केपी ओली हुन् वा माधव नेपाल? सञ्चार माध्यममा आएका अभिव्यक्ति र पक्षधर बिचारकै आधारमा अनुमान लगाउन सकिन्न। भन्नलाई दुई नेताहरुको इगोले गर्दा  एमाले फुट्ने भयो भन्ने गरिएपनि दुबै नेताहरुका भेटघाट र कुराकानीका श्रृंखला हेर्दा इगो वा प्रतिष्ठामात्र बेमेलको कारण नहुन सक्छ।

एमालेकै शिर्ष नेतृत्वपछीका केही नेताहरु ओली र नेपाललाई एकठाउँमा देख्न चाहाँदैनन् भन्ने तर्क पुष्टि हुने आधारहरु छैनन्। एमालेभित्र सर्वस्वीकार्य नेतृत्वका लागि नेपाल र ओली पछी को त भन्ने टड्कारो प्रश्न छ। यस्तो अबस्थामा ओली र नेपालको बिकल्प आफुमा देख्ने नेता तयार भैसकेको होला त?

दुई गुट मिलाउन र जेठ २, २०७५ अगाडिकै अवस्थामा एमालेलाई पुर्याउन अन्तिम प्रयास भैरहेकाे र त्यसैका लागि स्थायी कमिटी बैठक स्थगित भएको हो भने गुट मिल्ने संभावना अझै बाँकी रहेछ भन्ने बुझ्न सकिन्छ। तर एक अर्काका कमजोरीमा खेल्ने, समय लिने र जो कमजोर हुन्छ त्यसमाथि निर्मम प्रहार गर्दै जाने र सदाका लागि बाहिर पार्ने रणनीतिका लागि वार्ता वा बैठकको उपयोग गरिएको हाे भने भावि एमाले पुस्ताका लागि त्यसले सुखद सन्देश छोडेर जाँदैन।

बागमति र लुम्बीनीमा राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसलाई सहयोग गरेर नेपाल समूहमा ओली समूहलाई देखाइदिएको भन्ने सोच बलियो भएको भन्ने पनि सुनिन्छ। यदी त्यसो हो भने त्यसले क्षणिक फाइदा त देला तर दिर्घकालिन रुपमा एमाले पार्टी नै नरहने संभावना बढ्छ। घात अन्तर्घातको राजनीतिले मान्यता पाउँछ। संसदिय व्यवस्थामा पार्टीको ह्वीप नमान्ने अनुशासनहिन जत्थाको मनाेबल बढ्छ। संगठन क्षतबिक्षत हुन्छ।

माधव नेपाल समूहलाई जसरी हुन्छ पेलेरै जाने ओली रणनीति हो भने उनीहरुले बुझ्नुपर्छ एमालेलाई आजको स्थानमा पुर्याउने, बलियो लोकतान्त्रीक पार्टी बनाउन महत्वपुर्ण भुमिका खेल्ने अधिकांश नेताहरु ओलीले गुमाउनेछन्। यसले पनि अन्तत एमालेको संगठन कमजाेर हुदैजान्छ। जनताको बहुदलिय जनबाद हामीसँग, मनमोहनको लिगेशी हामीसँग, सुर्य हामीसँग, एमाले नाम हामीसँग भन्ने ओली पक्षिय अहमताले कार्यकर्ता र बिचारबाट बनेको पार्टीलाई कमजोर बनाउँछ।  किनभने नेतासँग कार्यकर्ता पनि समूहमा बाँडिएका छन्। उनीहरु बाँडिदाको बेफाइदा एमालेलाई नै हुन्छ।

दुबै समूहका तमाम कमजोरीमाथि निर्मम समिक्षा गरी एक हुने आधार पहिल्याउन वार्ता भैरहेको र त्यसैका लागि स्थायी कमिटी बैठक स्थगित भैरहेका हो भने बरु बैठकलाई जति पछी धकेल्न सकिन्छ। तर ढिलोचाँडो एमालेभित्र नतिजा आउनेगरी छलफल हुनुपर्यो। नतिजा जस्तोसुकै होस् तर अब कि त फुट कि त एक भएको सन्देश जानेगरी नतिजा आउदाँ एमाले राजनीतिले एउटा धार समाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *