एमाले विवाद : पार्टी एकतामा सकारात्मक संकेत, केही दिनभित्रै परिणाम आउने दाबी

डिसी नेपाल
२० जेठ २०७८ ८:४८

काठमाडौं। पार्टीबाट निष्काशित भएपनि नयाँ पार्टी गठनको तयारीमा रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल पक्षसँगको वार्ता सकारात्मक रहेको भन्दै केही दिनभित्रै सकारात्मक परिणाम आउने एमाले नेताहरुले बताएका छन्।

विगत केही दिनदेखि निरन्तरत संवादमा रहेका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेता र नेपाल समूहका नेताहरु पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा सहमति नजिक पुगेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

‘अहिलेसम्म भएका छलफल सकारात्मक छन्, सकारात्मक परिणाम आउनेमा आशावादी छौं,’ निरन्तर छलफलमा रहेका एक नेताले डिसी नेपालसँग भने, ‘हामी सबैलाई सहभागी गराएर वृहत एकताको पक्षमा छौं, तर केही साथीभाइहरु भने अझै पनि त्यसका लागि तयार भएका छैनन्।’

स्रोतका अनुसार माधव नेपाल समूहका दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर सहमति खोज्न तयार भएका छन्।

तर स्वयं माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु भने अब परिस्थिति निकै अगाडि बढिसकेको भन्दै पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्रै नहुने अडानमा छन्।

माधव नेपाल र झलनाथ खनालसहितका केही नेता ओलीलाई नेता मानेर एमालेका आउन तयार नभएपछि सो समूहका युवा नेताहरु भने एमालेभित्रै रहेका संघर्ष गर्दै अगाडि बढ्न सकारात्मक भएका हुन्। त्यसका लागि उनीहरुले फेस सेभिङका लागि पार्टीलाई पुरानै अवस्थामा फर्काउनु पर्ने अडान राखेका हुन्। जुन मागमा ओली सकारात्मक छन्।

‘ओलीले पुरानै अवस्थामा फर्किन तयार हुनु भनेको गल्ती स्वीकार गर्नुपनि हो,’ माधव नेपाल समूहका एक  नेताले भने, ‘तर अब समय धेरै अगाडि बढिसकेको छ। ओलीसँग वैचारिक र सैद्धान्तिक लडाइँ नभएपनि उहाँलाई नेता मानेर एउटै पार्टीमा बस्ने अवस्था छैन। त्यसैले अब चाँडै पार्टी गठन गरेर अगाडि बढ्ने तय भएको छ।’

नेता नेपालले आफूलाई साथ दिँदै आएका नेता झलनाथ खनाललाई वरिष्ठ नेताको उपाधि दिने र अहिले तटस्थ रहेका बामदेव गौतमलाई आफूसँग ल्याउन दुई अध्यक्षका व्यवस्था गर्ने गरी पार्टीको सांगठनिक स्वरुप तयार पारेका छन्। महाधिवेशन नभएसम्म दुई जना अध्यक्ष बनाएर बामदेवलाई पनि व्यावस्थापन गर्ने गरी तयारी भइरहेको स्रोतले जनाएको छ।

माधव नेपाल र झलनाथ खनालसहितका केही नेता ओलीलाई नेता मानेर एमालेमा आउन तयार नभएपछि सो समूहका युवा नेताहरु भने एमालेभित्रै रहेका संघर्ष गर्दै अगाडि बढ्न सकारात्मक भएका हुन्। त्यसका लागि उनीहरुले फेस सेभिङका लागि पार्टीलाई पुरानै अवस्थामा फर्काउनु पर्ने अडान राखेका हुन्।

‘उहाँहरुको अडानमा अध्यक्ष सकारात्मक नै हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले हामी सहमति नजिक पुगिसकेका छौं। तर सहमति नै भइसकेको छैन। केही दिनभित्रै सकारात्मक परिणाम आउनेमा विश्वस्त छौं।’

माधव नेपालसहित पूरै टिम पार्टी एकताको पक्षमा नरहेपछि विगत केही दिनदेखि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच घनिभूत छलफल भइरहेको छ। ती छलफल सकारात्मक दिशामा अगाडि बढेपछि आज बस्ने स्थायी कमिटी बैठकमा १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नआएको विषयमा कुनै छलफल नै नहुने भएको छ।

अहिले वातावरण सकारात्मक भइरहेका बेला कारवाहीको प्रसंगले वातावरण धुमिल हुने भन्दै थप कारवाही नगर्ने निष्कर्षमा अध्यक्ष ओली पुगेका हुन्।

‘पार्टीलाई एकतावद्ध हामी लागिरहेका छौं र सकारात्म परिणामा आउनेमा विश्स्त छौं,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने।

तर नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले भने अहिले सार्वजनिक रुपमा टिप्पणी गर्न मिल्ने गरी कुनै प्रगति नभएको बताए। ‘अहिले तपाइँहरुलाई भन्न मिल्ने गरी कुनै निष्कर्ष निस्किएको छैन,’ पाण्डेले भने, ‘निष्कर्षमा पुगिएपछि सबै कुरा भन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *