‘महामारीले सबैलाई समान बनाउँदैन बरु हुने र नहुनेबीचको फरक देखाइदिन्छ’ – प्रबल गुरुङ

डिसी नेपाल
२२ जेठ २०७८ १३:१८

काठमाडौं। प्रसिद्ध फेशन डिजाइनर प्रबल गुरुङले महामारीले धनी र गरिबहरुलाई समान बनाउने नभइ यसले धनी र गरिबबीचको फरकलाई झनै प्रस्ट रुपमा अगाडि ल्याइदिने बताएका छन् । अमेरिकाको प्रतिष्ठित टेलिभिजन च्यानल सीएनएनसँग कुरा गर्दै गुरुङले महामारीले गरिबहरुलाई झनै मारमा पार्ने बताए ।

सीएनएनकी पत्रकार जुलिया चाटर्लेसँग कुरा गर्दै गुरुङले अमेरिकामा मानिसहरु भ्याक्सिन लगाउने अवसर पाउँदा पनि अगाडि नआएको अवस्थाले आफूलाई दुःख लागेको बताए । ‘अमेरिकामा मानिसहरु भ्याक्सिन लगाउन पाउँदा पनि अगाडि आइरहेका छेनन् जबकि नेपालमा मानिसहरु भ्याक्सिन लगाउन तयार छन् तर उनीहरुले भ्याक्सिन लगाउने अवसर पाउन सकिरहेका छैनन्’ उनले भने । हुनेहरुले नचाहने र नहुनेहरुले नपाउने यो अवस्था महामारीको भयानक रुप भएको उनले बताए ।

गुरुङले अमेरिकालाई यो महामारीको समयमा विश्वको लागि नैतिक नेतृत्वकर्ता बन्न आग्रह गरे । अमेरिकाले पछिल्लो समय नेपाललाई दिएको सहयोगका साथै राष्ट्रपति बाइडेनले नेपाललाई दिने भनेर गरेका सहयोगका घोषणाप्रति धन्यवाद दिए । अमेरिका लगायतका देशबाट यसरी भएका सहयोगले नेपाललाई महामारीबाट उठ्न सघाउने उनको विश्वास छ ।

गुरुङ स्वयंले पनि अमेरिकाको न्यूयोर्कमा रहेर नेपाललाई महामारीको समयमा सहयोग गरिरहेका छन् । नेपालमा काम गर्नको लागि उनको संस्था शिक्षा फाउण्डेसन छ । आफूले आफ्नो संस्थामार्फत नेपालका लागि अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर, औषधिहरु र अन्य स्वास्थ्य सामग्रीहरु निरन्तर सहयोग गरिरहेको उनले बताए ।

महामारीको समयमा नेपालले गरेका आग्रहलाई विश्व समुदायले सुनेको बताउँदै गुरुङले आफूजस्ता विदेशमा पहिचान बनाएर बसेका नेपालीहरुको उद्देश्य विश्व समुदायले नेपाललाई नबिर्सियोस् भन्नेमा केन्द्रित रहेको बताए । अमेरिकामा पछिल्लो समय एसियाली अमेरिकी साुदायप्रति गरिने व्यवहार परिवर्तन हुनु जरुरी भएको बताउँदै उनले एसियाली अमेरिकीका कुराहरु अरुसम्म पुग्नु महत्वपूर्ण भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *