विपन्नलाई लक्षित गरी सुपथ मूल्य पसल

जाजरकाेट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गरेको छ। गत वर्षदेखि थालिएको पसल यो वर्ष पनि सञ्चालनमा छ। कोरोना महामारीका कारण असजिलोमा रहेकाहरूका लागि भन्दै नगरपालिकाले दुई ठाउँबाट सुपथ मूल्यका सामग्री बिक्रीवितरण गरिरहेको हो। हेरक मङ्गलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण गरेका छन्।
नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट किनेर ल्याएका सामग्री सर्वसाधारणलाई बिक्री गरिरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुग्न सर्वसाधारणलाई टाढा रहेको भन्दै नगरपालिकाले नगरमै यस्तो व्यवस्था गरेको हो। वडा नं १ देखि ९ सम्मका लागि वडा नं २ को सेवानजिकै खाद्य सामग्री बिक्रीवितरण केन्द्र तोकिएको छ ।
वडा नं १० देखि १४ का सर्वसाधारणलाई लक्षित गरी ११ नम्बर वडाको टाटा बजारमा यसको बिक्री केन्द्र राखिएको नगरपालिकाले जनाएको छ । यी पसलमा दुई खाले मूल्य निर्धारण गरिएको छ। उपभोक्ता कार्ड लिएका र नलिएकाहरूका हकमा केही फरक मूल्य निर्धारण गरिएको छ।
नगरपालिकाबाट उपभोक्ता कार्ड लिएकाहरूले चामल प्रतिकिलो रु ५०, चिनी प्रतिकलो रु ७० र खाने तेल प्रतिलिटर रु २२० मा किन्न पाइरहेका छन। उपभोक्ता कार्ड नपाएकाका लागि भने चामल प्रतिकिलो रु ५५, चिनी रु ८० र तेल प्रतिलिटर रु २३० मूल्य निर्धारण गरिएको छ। केही समय नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन स्थगित गरेको थियो। कोरोनाका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नगरले फेरि निरन्तरता दिएको हो।
गत वर्षको कोरोना महामारीका कारण नगरपालिकाले नगरवासीलाई उपभोक्ता कार्ड वितरण गरेको थियो । राहत वितरणमा सजिलो हुने भन्दै मापदण्डका आधारमा अति विपन्न परिवारलाई उपभोक्ता कार्ड प्रदान गरेको थियो । त्यही कार्डका आधारमा सुपथ मूल्य पसलका साथै अरूअरू काममा पनि नगरपालिकाले छुट दिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। नगरपालिकाले उपभोक्ता कार्ड वितरण गरेपछि हरेक कामकाज, योजना निर्माण र कार्यान्वयनमा सजिलो भएको छ। रासस
Facebook Comment