नेपाल समूहका नेताहरुको प्रारम्भिक प्रतिकृया: ओलीको प्रस्ताव अल्मल्याउने दाउमात्र !

डिसी नेपाल
२४ जेठ २०७८ ९:४५

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: मुख खोले- एमालेलाई जेठ ३, २०७५ को अवस्थामा फर्काइनेछ।’  ओलीले जेठ ३ किन राेजे? नेपाल समूहको माग त जेठ २, २०७५ को अबस्था जानु पर्ने र एमालेको नवौं अधिवेशनको निर्णय अनुसार नै एमाले चल्नुपर्ने थियो। जेठ २ को सट्टा ३ को अवस्थामा पार्टीलाई पुर्याउनु पर्छ भन्ने अध्यक्षको आह्वानमा षडयन्त्रको गन्ध देखिएको आंशिक प्रतिकृया आउन थालेको छ।

ओलीले जेठ ३ राेज्नुको कारण अबको एकता अभियानमा माओवादी छोडेर एमालेमा प्रवेश गरेका नेताहरुको व्यवस्थापन पनि हुनुपर्छ भन्ने हो। जेठ २ को अबस्थामा पुर्याउँदा त्यहाँ एमालेमात्र अट्छन्। जसले गर्दा बादल लगायत माओवादी छोडेर आउने नेताहरु या त पार्टी विहीन अथवा पार्टीभित्र भुमिका शून्यको अबस्थामा पुग्छन्।

ओलीद्वारा आइतबार राति जारी गरिएको यस किसिमको एकता आह्वानले नेकपा एमालेलाई एक ढिक्का बनाउन सहयोग पुग्ला त? अध्यक्षको प्रस्तावपछी सामूहिक धारणा बनाउन बिद्रोही नेपाल-खनालपक्षले छलफल गर्दैछ। छलफलपछि केही निर्क्यौल पक्कै निस्केला।

तर नेपाल-खनाल समूहका केही युवा नेताहरुले ओलीको आह्वानलाई अल्मल्याउने अस्त्रको रुपमामात्र बुझ्नु पर्ने प्रतिकृया दिन थालेका छन्। सामाजिक सञ्जालमार्फत नेताहरु जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री लगायतले अध्यक्षको प्रस्ताव अल्मल्याउने दाउमात्र भएको प्रतिकृया दिएका छन्।

उनीहरुले अध्यक्षको प्रस्ताव एकतर्फी रुपमा आएको, नेपाल समूहसँग यसबारेमा छलफल नगरिएको, अदालतमा बिचाराधीन मुद्दा फिर्ता लिनका लागि चलाखीमात्र गरेको जस्ता प्रतिकृयासहित उनीहरुले भनेका छन् यसले पार्टीलाई एकढिक्का बनाउन सक्दैन।

तथापि, एमालेकै अर्का प्रभावशाली युवा नेता योगेश भट्टराईले भने पार्टी एक ढिक्का बनाउनका लागि अध्यक्षद्वारा गरिएको आह्वानलाई स्वागत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *