व्यासको बुदीमा फल्न थाल्यो स्याउ
दार्चुला । व्यास गाउँपालिका–१ को बुदीमा स्याउ फल्न थालेको छ। गत वर्ष लगाइएको इटालेली गाला र फुजी जातको स्याउ फल्न थालेको हो। कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा गत वर्षदेखि स्याउ खेती शुरु गरेको थियो। स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताए। पहिलो वर्ष एक हजार ५०० बोट स्याउ खेती परीक्षणका रूपमा लगाइएको हो।
अहिले फल दिएको स्याउको स्वाद र उत्पादन हेरेर थप स्याउ खेती विस्तार हुनेछ। फर्मले चालु वर्षमा पाँच हजार २०० बोट थप स्याउ खेती विस्तार गरेको छ। सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्ने बुदीमा स्याउ लगाइएको हो।
बुदीमा रहेको कुल २०० रोपनी जमीनमा स्याउ खेती विस्तार गर्ने योजना रहेको अध्यक्ष बुढाथोकी बताउछन्। कुल छ हजार ७०० बोट स्याउ लगाइएको छ । यो क्षेत्रमा कम्तीमा १२ हजार बोट स्याउ खेती लगाउने योजना छ।
बाटो घाटो नहुँदा अहिले ढुवानी भाडा महँगो हुँदा लागत बढेको छ। “अहिलेसम्म रु एक करोडभन्दा बढी लागत पुगिसक्यो”, अध्यक्ष बुढाथोकी भन्छन्, “सडक चाँडो बन्न सके हामीलाई स्याउ खेतीमा सहज हुने थियो।”
अहिलेसम्म फर्मले कृषि ज्ञान केन्द्र दार्चुलामार्फत रु २१ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यो वर्ष एक हजार ७०० बोट स्याउ अनुदानबाहेक सरकारी लगानी पाइएको छैन। अहिलेसम्म आफ्नै लगानीमा स्याउ खेती विस्तार भइरहेको अध्यक्ष बुढाथोकीले बताए।
“दार्चुला तिङ्कर सडक निर्माण समयमै हुन सक्यो भने बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरि पु¥याउन सहज हुन्छ तर सडक नपुगेसम्म उत्पादन भएको स्याउ बजारसम्म ल्याउन समस्या हुनेछ”, उनले भने।
व्यास–१ छांगरुमा पनि हजारौँ बोट स्याउ लगाइएको छ । यहाँ उत्पादन हुने स्याउ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई विक्री हुँदै आएको छांगरुका स्याउ उत्पादक जीतसिह बोहराले बताए। नेपालतिर बजार पु¥याउन बाटो घाटो छैन, अहिलेसम्म भारतीय सुरक्षाकर्मीलाई स्याउँ विक्री गर्ने गरिएको छ । दार्चुलाको व्यास, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउ खेती हुने गर्छ।रासस
Facebook Comment