राउटे वस्तीमा प्रहरीको सुरक्षा, दूर्व्यवहारमा परेका युवतीलाई काउन्सिलिङ गर्ने प्रयास

काठमाडौं। फिरन्ते समूदाय राउटे समूदायका युवतीमाथि यौन दूर्व्यवहार भएपछि राउटे वस्तीमा उनीहरुको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा रहेको उनीहरुको अस्थायी वस्तीको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
उनले डिसी नेपालसँग फोनमा भने, ‘अन्य मानिसहरुको राउटे वस्तीमा आवतजावत बढेपछि उनीहरुमाथि सुरक्षा जोखिम बढेको छ। त्यसमाथि युवतीहरुमाथि दूर्व्यवहार भएपछि झन समस्या भएको छ।’ उनले अब राउटे वस्तीमा बाहिरी मानिस जान नपाउने गरी व्यवस्था मिलाइएको बताए।
उनले दूर्व्यवहार गर्ने तीनजनालाई पक्राउ गरिएको र उनीहरुमाथिको अनुसन्धान जारी रहेको बताए।
दूर्व्यवहारमा परेका युवतीको सुरक्षा पनि मुख्य चासो रहेको उनले बताए। त्यसका लागि एक काउन्सिलिङ कार्यदल बनाइएको र त्यस कार्यदलले राउटेहरुसँग सम्पर्कको प्रयास गरिरहेको बताए। उनले राउटेको आन्तरिक नीति नियमबारे धेरै जानकारी नहुँदा पनि दूर्व्यवहारमा परेका युवतीहरुमाथि के हुने हो भन्ने आशंका रहेको बताए।
अहिलेसम्म सो घटनाबारे राउटे समूदायलाई जानकारी भएको छैन। बाहिरबाट अनय मानिस उनीहरुको सम्पर्कमा गए सो घटना उनीहरुले थाहा पाउने र त्यसपछि ती युवतिमाथि उनीहरुले कुनै सजाय दिन सक्ने भएकाले पनि अहिले अन्य मानिसहरुलाई राउटे वस्तीमा जान प्रतिबन्ध लगाइएको हो।
राउटेबारे जानकार दैलेखका पत्रकार भक्त शाहीले बाहिरी मानिसबाट राउटे युवती दूर्व्यवहारमा परेको यो पहिलो घटना भएको बताए। त्यसैले यस्तो घटनामा कस्तो सजायको व्यवस्था छ भन्ने यकिन नभएको बताए। तर, उनीहरुबीचमै यस्तो घटना भए पञ्च्यात बसेर जुन पक्षको गल्ती ठहर हुन्छ उसले खसि तिनुपर्ने नियम रहेको उनले जानकारी दिए। शारीरिक याताना पनि दिने गरिएको उनले बताए। तर, ज्यान नै जाने गरी सजाय भने दिएको हालसम्म कुनै घटना नभएको उनले दावी गरे।
पश्चिम नेपालका पहाडी जिल्लामा घुमन्ते जीवन विताइरहेका राउटेहरु अन्य मानिसको सम्पर्कमा आउन नमान्ने जाती हो। यो समूदायमा सहयोग गर्ने भन्दै पछिल्लो समय एनजीओहरुले सम्पर्क बढाएपछि उनीहरुमाथि सुरक्षा जोखिम बढेको छ। काठका सामान बनाएर त्यसलाई अनाजसँग साटेर जीवन गुजारा गर्दै आएको सो समूदाय अहिले मदिराको कुलतमा फसेको छ।
यही कुलतको फाइदा उठाउँदै गुर्वाकोटका स्थानीय युवाहरुले राउटे युवतीमाथि दूर्व्यवहार गरेका हुन्। पछिल्लो समय सामाजिक सञ्जालमा राउटेहरुसँगका कुराकानीका भिडियोहरु भाइरल हुने गरेका छन्।
Facebook Comment