भदौ महिनाभित्र महाधिवेशन हुन्छ, म पूर्णप्रतिबद्ध छु : देउवा

डिसी नेपाल
२६ जेठ २०७८ १७:२५

काठमाडौं। काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पनि तयारी सुस्त देखिएपछि महाधविशेन नभएर पार्टी कानुन संकटमा फस्ने हो कि भन्ने काँग्रेस नेता कार्यकर्ताहरुले चिन्ता गरिरहेका बेला सभापति शेरबहादुर देउवाले आफू महाधिवेशन गराउन प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार एक वक्तव्य जारी गर्दै सभापति देउवाले भदौ महिना भित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै आफू त्यसका लागि पूर्णप्रतिवद्ध रहेको बताएका छन्। उनले भनेका छन्, ‘ म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।’

सभापति देउवाको कार्यकालको ५ वर्ष पूरा भइसकेको छ। ६ महिना कार्यकाल थप्न पाउने व्यवस्था अनुसार उनको कार्यकाल आगामी भदौसम्म थपिएको छ। र भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति तोकिएको छ। तर, कोरोना संकट र कोरोनालाई बाहाना बनाएर महाधिवेशन अघि गर्नुपर्ने तयारीहरु सुस्त भएपछि काँग्रेस भित्रै महाधिवेशन नहुने चिन्ता प्रकट हुन थालेको छ। यस्तो चिन्ता प्रकट भएपछि देउवाले वक्तव्यमार्फत आफू महाधिवेशनका लागि प्रतिवद्ध रहेको बताएका हुन्।

उनले महाधिवेशन नहुने हो की भनेर चिन्ता प्रकट गर्नु स्वभाविक भए पनि कोही पक्ष महाधिवेशन गराउने र कोही पक्ष महाधिवेशन नगारउने दिशामा लागेको भ्रम छर्न खोजिएको बताएका छन्। उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्।’

मंगलबारमात्र पार्टीका प्रभावशाली युवा नेताहरुले सभापति देउवासँग भेटेर महाधिवेशनबारे चिन्ता प्रकट गरेका थिए। उनीहरुले जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै त्यसका लागि वैकल्पिक उपाय खोज्नुपर्ने सुझाव दिएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बारम्बार महाधिवेशनबारे सभापति देउवा इमान्दार नभएको बताउँदै आएका छन्। उनले तीन वर्ष अघि नै महाधिवेशनको माग गरेका थिए। काँग्रेसका सभापतिको कार्यकाल ४ वर्ष हुन्छ। तर, देउवाले सो कार्यकालमा महाधिवेशन गराउने कुनै तयारी गरेनन् बरु पार्टीको विधानअनुसार एक वर्ष कार्यकाल तोकेर गत वर्षको फागुनका लागि महाधिवेशन मिति तोके। तर, गत वर्ष कोरोना महामारीका कारण महाधिवेशन हुन नसकेपछि राजनीतिक दल सम्बन्धी ऐन अनुसार देउवाले ६ महिना कार्यकाल थपेर भदौका लागि महाधिवेशनको मिति तोकियो। तर, यो पटक पनि कोरोना महामारीका कारण महाधिवेशनको तयारीले गति लिन सकेको छैन।

हालसम्म पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणकै काम सकिएको छैन। केन्द्रीय महाधिवेशन अघि बुथ समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश समितिको अधिवेशन गर्नुपर्ने हुन्छ। तर, महाधिवेशनका लागि अब मात्र २ महिना बाँकी छ। यो समयमा काँग्रेसले कसरी महाधिवेशन सम्पन्न गर्छ त्यो भने हेर्न बाँकी नै छ।

देउवाको वक्तव्य

आदरणीय दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरू !

कोभिड–१९ को महामारीले लामो समयदेखि हामी अत्यन्त कठिन अवस्थामा छौं। संक्रमणका कारण पार्टीका धेरै साथीहरु, साथीहरुका परिवारका सदस्य र नागरिकहरुले ज्यान गुमाउनु भयो भने कतिपय निकै पीडामा रहनु प¥यो। म कोभिड–१९ का कारण दिवंगत हुनु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। संक्रमणका कारण घरमा आइसोलेसनमा बस्नु भएका वा अस्पतालमा भर्ना हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको राय अनुसार रहन÷बस्न अनुरोध गर्दछु। सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सृजना भएको छ। यसमा सरकार पूर्ण रुपले दोषी छ।

यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु। पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु। महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु। पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्। महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन। बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो। यसका लागि सबै जिम्मेवार हुनु पर्दछ। हामीसँग अब बढी समय छैन। आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ। पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ। यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्। पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन्।

म पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु। कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु।

जय नेपाल !
शेरबहादुर देउवा
सभापति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *