विभाजित कम्युनिस्टको काँधमा टेकेर कांग्रेसको सत्तारोहण

डिसी नेपाल
२७ जेठ २०७८ ११:०२

काठमाडौं। ‘भाइ फुटे गवार लुटे’ भन्ने नेपाली उखान अहिले नेपाली राजनीतिमा चरितार्थ भएको छ। एक समय संघीय संसदमा झण्डै दुई तिहाइ बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाइरहँदा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी थियो।

दलीय हैसियतले ‘प्रमुख’ प्रतिपक्षी भनिए पनि राज्य संचालनको हिसाबले भने उसको हैसियत ‘निरीह’ थियो भन्दा फरक पर्दैन। कम्युनिस्ट सरकारले गरेका कतिपय कामहरु चित्त नबुझे पनि कांग्रेस त्यसको सशक्त प्रतिवाद गर्न सक्ने अवस्थामा थिएन। केन्द्रमा कम्युनिस्टको सशक्त सरकार हुँदा सातमध्ये ६ प्रदेशमा नेकपाकै सरकार थियो।

एउटा २ नम्बर प्रदेशमा पनि मधेसवादी दलको सरकार थियो र त्यहाँ कांग्रेसको हैसियत प्रमुख प्रतिपक्षीको पनि थिएन। अर्थात केन्द्र र प्रदेश सबैतिर कांग्रेस अत्यन्तै कमजोर अवस्थामा थियो। स्थानीय तहको निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गएको कांग्रेसले साझेदारसँगको बाँडफाँडपछि ७ सय ५३ स्थायीय तहमध्ये करिब साढे २ सय स्थानीय तहमा प्रमुख पद जितेको थियो।

त्यतिबेला स्थानीय निर्वाचनमा एमाले ठूलो दलको रुपमा अगाडि आएको थियो। पछि प्रतिनिधिसभाको निर्वाचनमा जाने बेलासम्म त माओवादी उसको खेमाबाटै बाहिरियो। जसको परिणामस्वरुप कांग्रेस नराम्रोसँग खुम्चिन पुग्यो।

अहिले उनै कम्युनिस्टहरु कांग्रेसलाई सत्तामा लैजान काँध थाप्न तयार भएका छन्। संघीय सरकारमा कांग्रेसलाई सरकारमा लैजान कम्युनिस्टहरुले कतिसम्म मरिहत्ते गरिरहेका छन् भन्ने अहिले छर्लंग देखिएको छ। उनीहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइपाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन्।

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनपछिको ३ वर्ष कांग्रेसले खुम्चिएरै बितायो । कांग्रेसका नेताहरु ५ वर्षपछि हुने आवधिक निर्वाचनमा पुनः जितेर ‘कमब्याक’ गर्ने तयारी गरिरहेका थिए। तर, समयले अचानक कोल्टे फेरिदियो।

अहिले उनै कम्युनिस्टहरु कांग्रेसलाई सत्तामा लैजान काँध थाप्न तयार भएका छन्। संघीय सरकारमा कांग्रेसलाई सरकारमा लैजान कम्युनिस्टहरुले कतिसम्म मरिहत्ते गरिरहेका छन् भन्ने अहिले छर्लंग देखिएको छ। उनीहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइपाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन माओवादी त सिंगो पार्टी नै लागेको छ। ऊ फरक पार्टी हो त्यसैले उसले कांग्रेससँग गठबन्धन गर्न चाहनु स्वभाविक राजनैतिक प्रक्रिया हो। तर, एमाले पार्टीको पदमा बहाल रहेर एमाले नेताहरु आफ्नै संसदीय दलको नेतालाई पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गरिरहेका छन्।

माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका कट्टर एमाले नेताहरु जो यसअघि सरकार गठन गर्ने विषयमा देउवाका कट्टर प्रतिस्पर्धी थिए उनीहरुले नै यसरी आफूलाई बोकेर प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउन मरिहत्तै गर्लान् भन्ने देउवाले सोचेका थिए होलान् र? अहिले देउवाको दुवै हातमा लड्डु छन्, मुखमा दुधभात परेको छ।

अहिले प्रतिनिधि सभा विघटित छ। तर, यो प्रतिनिधि सभा विघटन नहुँदै पनि देउवालाई प्रधानमन्त्री बनाउन कम्युनिस्टहरुले मरिहत्ते नगरेका होइनन्। देउवाको पार्टी कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र–बाबुराम समूह मिलेर पनि बहुमत नुग्ने अवस्था आएपछि एमालेको माधव नेपाल पक्षका सांसदहरुले पदबाटै राजीनामा दिएर देउवाको बहुमत पुर्याइदिनेसम्मको प्रस्ताव गरेको खबर यसअघि नै आएको हो।

यद्यपि त्यसरी देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव भने औपचारिक रुपमा अगाडि बढाइएन। तर, पछि देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनाउन एमाले सांसदहरुले हस्ताक्षर गरेकै हुन् र त्यसैको आधारमा उनीहरु अहिले सर्वोच्च अदालतमा लडिरहेका छन्। प्रदेशमा पनि हालत त्यस्तै छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेका सांसदहरुले फ्लोर क्रस गरे। कर्णालमिा महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्टले विश्वासको मत पाए। अब उनीहरु एक वर्षका लागि ढुक्क छन् किनभने संविधानअनुसार अब १ वर्षसम्म उनीहरुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन।

र, अब यो गुनको बदला तिर्ने पालो भएको छ। यसका लागि एमालेका सांसदहरु फ्लोर क्रस गरेरै एमालेका मुख्यमन्त्रीलाई पराजित गराउन तत्पर छन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अहिले संकटमा छन्।

यी प्रदेशमा पनि एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गर्ने लगभग पक्काजस्तै छ किनभने लुम्निीका एमाले सांसद दृघनारायण पाण्डेले त यही गठबन्धनको रणनीतिअनुसार प्रदेशसभा सांसदबाट राजीनामा दिएर राष्ट्रिय सभा सांसद जितिसकेका छन्।

१ नम्बर प्रदेशमा एमालेको एक्लै बहुमत पुग्ने स्थिति छ तर मुख्यमन्त्री शेरधन राई खतरामा छन् किनकि यहाँका माधव नेपाल पक्षका सांसदहरु फ्लोर क्रस गर्न तयार छन्।

एमालेका पूर्व अध्यक्ष, पूर्व प्रधानमन्त्री रहिसकेका प्रभावशाली एमाले नेता झलनाथ खनाल यही प्रदेशका हुन् त्यसैले यो प्रदेशमा उनको प्रभाव कतिसम्म पर्छ भन्ने अनुमान गर्न सकिन्छ।बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि स्थिति यस्तै छ जहाँ माधव नेपाल समूहले एमाले मुख्यमन्त्रीको सत्ता उल्ट्याइदिन सक्छन्।

प्रदेशमा एमाले सरकार ढलेपछि कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा भागबण्डा भइसकेको छ र यो भागबण्डाअनुसार केही मुख्यमन्त्री कांग्रेसको भागमा परेको छ। यो गठबन्धन अझै केही दिनसम्म चल्ने हो भने केही प्रदेशमा कांग्रेसले मुख्यमन्त्री बन्दै सत्तारोहण गर्ने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *