कनकमणि दीक्षित र हरि रोकाको विवादमा बाबुराम भट्टराई र रअको इन्ट्री !

डिसी नेपाल
२७ जेठ २०७८ १४:२६

काठमाडौं। पछिल्लो साता नेपाली राजनीति र मिडियाका दुई प्रभावशाली व्यक्तिहरुको बीचमा ‘मिडिया वार’ चलिरहेको छ । नेपाली मिडियाका हस्ती मानिने कनकमणि दीक्षित र माओवादी केन्द्रका नेता तथा लेखक हरि रोकाबीचको ‘शब्दयुद्ध’ले नेपाली मिडिया र राजनीति जगत तरंगित बनेको छ । मुख्य विषय यी दुईबीच आरोप प्रत्यारोपको हो । अझ भन्दा एउटाले आरोप लगाएको र अर्कोले सफइ दिएको हो । तर, यी दुईबीचको यो विवादमा अब पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रवेश भएपछि यो विवाद निकै रोचक मोडमा पुगेको छ ।

खासमा जेठ २० गतेको कान्तिपुर दैनिकमा हरि रोकाले एउटा लेख लेखेका थिए । उक्त लेखमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावादी हुन चाहेको र यसको लागि भारतीय आशीर्वाद चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीका लागि भारतीय आशीर्वाद दिलाइदिने सेतुको रुपमा कनकमणि दीक्षित भारत गएको दावी गरेका छन् । रोकाले दीक्षित र प्रधानमन्त्री ओलीबीच छलफलपछि २० पृष्ठको रणनैतिक प्रस्ताव तयार पारिएको त्यो दस्तावेज बोकेर दीक्षित अघिल्लो वर्षको फेब्रुअरीमा भारत गएको अनि त्यहाँ नीति आयोगका उपाध्यक्ष राजीव कुमारलाई उक्त दस्तावेज हस्तान्तरण गरेको दावी गरेका छन् ।

रोकाले गरेको दावीअनुसार उक्त दस्तावेज भारत पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा विस्तृतमा बुझ्न आफ्ना सुरक्षा सल्लाहकार अजित डोभाललाई भनेका थिए । सोही अनुसार एक वर्षअघि रअका प्रमुख सामन्त गोयल नेपाल आएको रोकाले दावी गरेका छन् । र, रोकाको योही दावीप्रति दीक्षितले असहमति जनाएका छन् । दीक्षितले पनि आफ्नो असहमति कान्तिपुरमै प्रकाशित गरेका छन् ।

रोकाको दावी गलत भएको भन्दै दीक्षितले गएको वर्षको फेब्रुअरी महिनाभरी आफूले नेपाल छाड्नुको कुरा त धेरै परको कुरा भन्दै आफूले काठमाडौं उपत्यका पनि नछाडेको दावी गरेका छन् । रोकाले लगाएको आरोपमा स्रोतलाई ‘जानकारहरु’ भनेर रोका पन्छिएपछि उनले यस विषयमा पनि प्रश्न उठाएका छन् । कसैमाथि आरोप लगाइसकेपछि त्यसलाई पुष्टि गर्न प्रमाण नदिइएको र लेखकको दावीलाई पुष्टि गर्ने प्रयास कान्तिपुरको सम्पादकीय टिमले पनि नगरेको भन्दै दीक्षितले असन्तुष्टि पोखेका छन् ।

दीक्षितले रोकाको कुराको प्रतिवाद गर्ने क्रममा दीक्षितले ‘द्वन्द्वकालमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अनुनय–विनय गर्दै भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’ को सन्दर्भ उल्लेख गरेपछि यसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पनि प्रवेश भएको छ । भट्टराईले ट्वीटरमा लेखेका छन् ‘हरि रोकाले पोल खोलेपछि आगो भएका कनकले प्रचण्ड र बाबुराममाथि विष ओकल्दै ‘भारतीय गुप्तचर प्रमुखलाई लेखेको पत्र’को हावा कुरा गरेछन् ।’ त्यस्तो कुनै काल्पनिक पत्र भए मदन पुस्तकालयमा राखे भैहाल्यो । भारतीय सत्तापक्षलाई उसको ‘दुइखम्बे नीति’ छोड्न बाध्य पार्ने माओवादी क्रान्तिप्रति किन यत्रो रिस ?’

भट्टराईले भारतीय गुप्तचर प्रमुखलाई आफूहरुले कुनै पनि पत्र नलेखेको दावी गरेका छन् । उनले दीक्षितले कुरा गरेको पत्र काल्पिनिक भएको र यसको अस्तित्व नभएको दावी गरेका छन् । तर, भट्टराईले यस्तो दावी गर्दै गर्दा भारतीय गुप्तचर संस्था रअका पूर्व विशेष निर्देशक अमर भूषणको पुस्तकले झनै तरंग ल्याइदिएको छ । भूषणले पुस्तकमा प्रचण्ड–बाबुरामले पत्र नै लेखेको स्पष्ट उल्लेख त गरेका छैनन् तर माओवादी नेतृत्वसँग रअले निकै लामो समयसम्म नेपालको व्यवस्था नै परिवर्तनका विषयमा छलफल गरेको दावी गरेपछि भट्टराईको यो दावीपनि शंकाको घेराभित्र परेको छ ।

रअले नेपालका राजनैतिक दलहरुसँग मिलेर राजतन्त्रविरोधी आन्दोलनमा सहभागी हुन प्रचण्डलाई लामो समय लगाएर फकाएको भूषणले खुलासा गरेका छन् । माओवादी नेतृत्वसँग महिनौंसम्म कैयौं चरणका छलफलपछि मात्रै रअ आफ्नो मिसनमा सफल भएको पुस्तकमा उल्लेख छ । माओवादीका एक नेताले लेखेको एक लेखमा लगाइएको आरोपबाट लहरो हुँदै पहरो थर्किने अवस्था आएको छ । अब यस विषयमा आगामी दिनमा के कस्ता खुलासा हुनेछन् र के कस्ता घटनाक्रम विकसित हुनेछन् भन्ने कुरा भने हेर्न बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *