बहुमत सांसदसहित विपक्षीले सरकार बनाउने दावी गर्दा पनि प्रदेश प्रमुखले पर्खिन् अन्तिम समय सीमा

डिसी नेपाल
२८ जेठ २०७८ २१:२५

काठमाडौं। गण्डकीमा एमालेको सरकार विश्वासको मत नपाएर ढलेपछि काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले विहीबार नै आवश्यक तयारी गरिसकेका थिए। शुक्रबार प्रदेशसभाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको प्रदेश प्रमुख सीता पौडेललाई जानकारी गराएपछि पौडेलले २४ घण्टाको समय दिएर सरकार बनाउनका लागि दावी पेश गर्न आव्हान गरिन्।

शुक्रबार अपराह्न तीन बजे प्रदेश प्रमुख पौडेलले शनिबार अपराह्न तीन बजेसम्मको समय दिएर सरकार बनाउनका लागि दावी पेश गर्न आव्हान गरेकी थिइन्। प्रदेश प्रमुखले आव्हान गरेपछि शुक्रबार साढे पाँच बजे नै विपक्षी गठबन्धन काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै राष्ट्रपति कार्यालय पुग्यो। जनमोर्चा संसदीय दलकी नेता पियारी थापाले आफूहरु ३१ जना सांसद सशरिर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएको जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामी बहुमत ५९ मध्ये ३१ जना सशरिर उपस्थित भएर काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि दावी पेश गर्यौं।’

प्रदेश प्रमुखको कार्यालयमा उपस्थित विपक्षी गठबन्धनका ३१ जना सांसदको सामूहिक तस्वीर।

प्रदेश प्रमुख कायौलयमै ३१ जना सांसदको हस्ताक्षर संकलन गरेर विपक्षी गठबन्धनले पौने ६ बजे सरकार बनाउने दावी पेश गर्यो। र भन्यो ‘जतिसक्यो छिटो गर्नुहोस।’ जनमोर्चा संसदीय दलकी नेता थापाले भनिन्, ‘नयाँ बन्ने सरकारले नीति तथा कार्यक्रम ल्याउनु छ। बजेट ल्याउनु छ। समय छोटो छ। त्यसैले हामीले बहुमत पुर्याका छौं जतिसक्यो छिटो मुख्यमन्त्री नियुक्त गर्न भन्यौं।’

तर, प्रदेश प्रमुख पौडेलले भने शनिबार ३ बजेसम्म दावी पेश गर्ने समय रहेको भन्दै त्यो समय पर्खिने जवाफ दिइन्। उनले विपक्षी गठबन्धनले पेश गरेको दावीको अध्ययन गर्नेसमेत बताइन्। तर, विपक्षी गठबन्धनले भने अब अर्को पक्षले बहुमत पुर्याउने अवस्था नभएको भन्दै समय पर्खिनुपर्ने आवश्यकता नरहेको बताएको छ।

काँग्रेस उपसभापति विमलेन्द्र निधीले शुक्रबार अबेर ट्वीट गर्दै प्रदेश प्रमुखले विपक्षीको बहुमत पुगे पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै असन्तुष्टि पोखेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्यसहित उपस्थित भए पनि मा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो। चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन।अति भय‍ो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *