राहत वितरण गर्न सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीको समूह र स्थानीयबीच झडप

काठमाडौं। निषेधाज्ञाको समयमा समस्या परेका व्यक्तिलाई राहत वितरण गर्न सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीको समूह र स्थानीय व्यक्तिहरुबीच झडप भएको छ।
झडपमा पनि शाहीसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सूर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा शुक्रबार राति ११ बजे उनीहरु र स्थानीय व्यक्तिहरुबीच झडप भएको थियो।
स्थानीय व्यक्तिहरुसँग उनीहरुको विवाद भएपछि शाहीको समूहमाथि आक्रमण भएको थियो। शाहीको समूह र स्थानीयबीच झडप भएको खबरपछि प्रहरीले उनीहरुलाई उद्धार गरेर अस्पतालमा लगेको थियो।
‘स्थानीय व्यक्तिहरु र शाहीको समूहबीच विवाद र झगडा भएको देखिन्छ, उनीहरुमाथि आक्रमण भएको छ, प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुलाई उद्धार गरेको हो। घाइते भएकाहरुको अवस्था सामान्य रहेको छ’, जिल्ला प्रहरी कार्यालय सूर्खेतका प्रमुख एसपी भट्टले भने।
शाहीले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको जनाएका छन्। प्रहरीले उनीहरुमाथि आक्रमण गरेको भन्दै अनुसन्धान गर्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comment