‘महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन’

डिसी नेपाल
२९ जेठ २०७८ २१:१३

काठमाडौं । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिबेशनमा लाग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौं सम्पर्क समितिले आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा तरुण विद्यार्थीको भूमिका विषयक भर्जुअल कार्यक्रममा’ उनले मतदाता नामावली छिटोतय गरी महाधिवेशनमा लाग्नुपर्छ भने ।
“काँग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ,”– उनले भने ।

पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रेसभित्र अहिलेको समस्या नआउने बताए । “पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,”– उनले भने । काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि काँग्रेस जुट्नुपर्ने बेला आएको बताए । “लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले अरु दलसँग सहकार्य गर्न लागेको हो,”– उनले भने।

अर्का केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । उनले अहिले काँग्रेस अप्ठ्यारो अवस्थामा भएको जनाउँदै यसबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरे । काँग्रेसका पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल, नेपाल चिकित्सक सङ्घको पूर्व अध्यक्ष मुक्ति श्रेष्ठ, विद्यार्थी नेता शिवलाल पौडेललगायतले पार्टी बलियो बनाउन तरुण युवाको सक्रिय सहभागीताको आवश्यक रहेको बताएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *