पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल विजयी

डिसी नेपाल
३१ जेठ २०७८ १०:५४

काठमाडौं । नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन् । आइतबार(१३ जुन)मा भएको पाँचौं अधिवेशनबाट अध्यक्षमा अर्याल विजयी भएका हुन् । उनले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए ।

अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् ।

वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कँडेलले १० मत पाएका थिए । महासचिवमा नरेन्द्रकुमार बस्नेत २७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे । शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको थियो ।

महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा यसअघि नै शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी खरेल र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिने छन् ।

शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहने छ । अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगीरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए । शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो ।

समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए । शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपाङ्गी मगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।

अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले अधिवेशन सफलताको शुभकामना र निर्विरोध निर्वाचित र भोटिङबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । उद्घाटन सत्रमा महासंघ बेलायत शाखाले बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आइतबार सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगीरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्वप्रधान सम्पादक चिरन्जीवी पौडयाल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *