बामदेव गौतम र विष्णु पौडेलबीचको भेटमा के छलफल भयो?

डिसी नेपाल
३१ जेठ २०७८ १५:४६

काठमाडौ। पार्टीभित्रको विवाद समाधान गर्न दुवै पक्षका नेता सक्रिय भइरहेका बेला सोमबार एमाले नेता बामदेव गौतम र उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच लामो छलफल भएको छ।

पार्टीभित्र असन्तुष्ट माधव नेपाल समूह र संस्थापन पक्षबीच निरन्तर छलफल भइरहेका बेला गौतम र पौडेलबीचको छलफललाई गम्भिरताका साथ हेरिएको छ।

यद्यपी गौतमले भने आजको भेटलाई व्यक्तिगत भेट भनेका छन्। गौतम र पौडेल छिमेकी पनि हुन्। उनीहरु दुवै जनाको भैंसेपाटीमा छ। तर पौडेल पछिल्लो समय मन्त्रीनिवास पुल्चोकमा बस्दै आएका छन्। सोमबार पौडेल आफ्नो निजी निवास भैंसेपाटी जाँदा नजिकै रहेका गौतमको घरमा गएका थिए। त्यहाँ उनीहरुबीच झण्डै चार घण्टा छलफल भएको थियो।

‘उहाँ (पौडेल) धेरैपछि आफ्नो निजी निवास भैंसेपाटी जानु भएको थियो। त्यहाँ जाँदा नजिकै गौतमको निवासमा छिर्नु भएको हो,’ गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले डिसी नेपालसँग भने, ‘उहाँहरुबीच व्यक्तिगत विषयमा छलफल भएको हो। भन्नै पर्ने गरी अन्य विषयमा छलफल भएको होइन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि आफू जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको विज्ञप्ति निकालेपछि गौतमले त्यसलाई सकारात्मक भनेका थिए। गौतम र पौडेलबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको पौडेल निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *