जसपा विवादः निर्वाचन आयोगको निणर्यविरुद्ध सर्वोच्च जाने तयारीमा उपेन्द्र समूह

डिसी नेपाल
३१ जेठ २०७८ १६:३१

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवादबारे निर्णय गर्दै दुबै समूहको कारबाहीलाई खारेज गरिदिएपछि अध्यक्ष उपेन्द्र यादव समूह आयोगको निर्णयप्रति असन्तुष्ट देखिएको छ। ५१ सदस्यीय कार्यकारिणी मध्यष्े ३२ जनाको उपस्थितिमा अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गर्दै उपेन्द्र समूहले दल दर्ता कितावमा अभिलेख नवीकरण गर्न निवेदन दिएको थियो।

र अर्का अध्यक्ष उपेन्द्र यादवले पनि अध्यक्ष यादवलाई कारबाही गर्दै दल दर्ता किताबमा अभिलेख नवीकरणका लागि निवेदन दिएको थियो। तर, निर्वाचन आयोगले आइतबार दुबै समूहको निवेदनलाई खारेज गरिदिएको छ।

उपेन्द्र समूहले आयोगमा निवेदन दिँदा आयोगले मागे अनुसार राजनीतिक दल सम्बन्धी नियामवलीको अनुसूची १८ बमोजिम निवेदन र बैठकको निर्णय तथा उपस्थित सदस्यको हस्ताक्षरसमेत बुझाएको थियो। तर, महन्थ समूहले भने ठाडो निवेदनमात्र दिएको थियो।

यस्तो अवस्थामा दुबै निवेदन खारेज गरिदिएपछि उपेन्द्र यादव समूहले कानुनी उपचार खोज्ने जनाएको छ। उपेन्द्र निकट नेता मोहम्मद इस्तियाक राइले डिसी नेपालसँग भने, ‘निर्वाचन आयोगले दलीय व्यवस्थामै अंकुश लगाउने निर्णय गरेको छ। यो सेटिंगमा भएको निर्णय हो। यसविरुद्ध हामी कानुनी र राजनीतिक लडाइँमा जान्छौं।’ उनले निर्वाचन आयोगले स्वीकृत गरेको पार्टीको विधानअनुसार भएको निर्णयलाई मान्यता नदिनु भनेको सेटिंग भएको दावी गरे। उनले भने, ‘यो केपी ओलीमार्फत भएको सेटिंग जस्तो छ।’

उता महन्थ ठाकुर समूहले भने ५१ सदस्यीय कार्यकारिणी समिति नै हेरफेरको तयारी गरेको बुझिएको छ। सो समूहले उपेन्द्र समूहका सदस्यहरुलाई हटाएर नयाँ थप्ने तयारी गरेको ठाकुर निकट नेताले जानकारी दिएका छन्।

वर्तमान ओली सरकारलाई हेर्ने दृष्टिकोणबाट जसपामा विवाद शुरु भएको थियो। महन्थ समूह ११ मन्त्रीसहित सरकारमा सहभागी भएको छ भने उपेन्द्र समूह विपक्षी गठबन्धनमा छ। प्रदेश नम्बर २ सरकारमा उपेन्द्र समूहले महन्थ निकट मन्त्रीहरुलाई हटाएर काँग्रेसलाई सरकारमा सहभागी गराएको छ। र उपेन्द्र समूहले संघीय सरकारमा सहभागी रहेका ९ जनामन्त्रीहरुलाई स्पष्टीकरण सोधेको छ। राईले डिसी नेपालसँग भने, ‘सरकारमा गएकाहरुसँग स्पष्टीकरण सोधेका छौं। ७ दिनको समय छ। स्पष्टीकरण कस्तो आउँछ। त्यसपछि थप निर्णय हुन्छ।’

सरकारमा सहभागी मध्ये उपप्रधानमन्त्री राजेन्द्र महतो र अर्कामन्त्री लक्ष्मण लालकर्णलाई उपेन्द्र समूहले यसअघि नै पार्टीबाट हटाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *