जनमोर्चाका प्रदेश सांसद थापाको पद खारेज

डिसी नेपाल
३१ जेठ २०७८ १६:४२

काठमाडौं। राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतले यसअघि उनको पद थमौतिका लागि दिएको अन्तरिम आदेश खारेज गर्र्दै उनलाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चाको निर्णयलाई सदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ।

सर्वोच्चले पद थमौति गरेपछि पनि सांसद थापाले पार्टीको ह्वीप उल्लंघन गरेपछि फेरि उनी पदमुक्त भएका थिए। जनमोर्चाले मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङलाई हटाउने र विपक्षी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरे पनि थापा भने गुरुङकै पक्षमा उभिएका थिए। त्यसपछि उनलाई पदमुक्त गरिएको थियो। पदमुक्त भएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यसपछि उनी फेरि गुरुङलाई नै सहयोग पुग्ने गरी प्रदेशसभामा विश्वासको मतमाथि मतदान हुँदा तथस्ट बसेका थिए। त्यसपछि फेरि उनलाई पदमुक्त गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *