धुलिखेललगायत चार अस्पताललाई शाङ्पा फाउण्डेशनद्वारा सहयोग

डिसी नेपाल
१ असार २०७८ १०:४३

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत अन्य ठूला चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला सङ्क्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि साङ्घाई जेड बुद्ध मन्दिर (चाइना), साङ्घाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेङ्कलङ फाउण्डेशन (सिङ्गापुर)को सहयोगमा साङ्घाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको हो।

कोरोना सङ्क्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पु¥याएको फाउण्डेशनले जनाएको छ। उपलब्ध सामग्रीमा ५०० थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क, २३ हजार ४७५ थान एन–९९ र एन–९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, आठ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ। बेइजिङस्थित नेपाली राजदूतावास, साङ्घाईस्थित नेपालको वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताए।

यस्तो परिस्थितिमा परोपकारी सहयोगका लागि सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगबाट मात्रै अपरिहार्य सहायता र चिकित्सा आपूर्तिको समयमा नै वितरण सम्भव हुने उनले बताए। यसअघि पनि सो संस्थाले विसं २०७२ को विनाशकारी भूकम्प र कोभिड–१९ को पहिलो लहरमा पनि मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष रिन्पोछेले बताए।

सहयोग हस्तान्तरणका लागि फाउण्डेशनका निर्देशक प्रकाश भट्ट र प्रतिनिधि खेन्पो टासीको उपस्थितिमा धुलिखेल अस्पताल पुगेर हस्तान्तरण गरिएको हो। सोही क्रममा प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ। यसरी ठूला चार अस्पतालमा गरी फाउण्डेशनले रु पाँच करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ। नेपालमा शाङ्पा फाउण्डेशन नेपालले सन् २००६ देखि निरन्तर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *